अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरेपछि चुनाव हुन्छ कि हुँदैन भन्ने संशय छ । यद्यपी फागुन २१ गते चुनाव हुन्छ र जसरी पनि गराउनुपर्छ भन्ने धारणा प्रधानमन्त्री सुशीला कार्कीले राख्दै आएकी छिन् । एकातिर फागुन २१ मा चुनाव गराउने तयारी र अर्कोतिर चुनावका लागि आवश्यक प्रमुख राजनैतिक दलसँगको संवादहिनताले चुनाव हुँदैन भन्ने संशयलाई बल पु¥याइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख राजनैतिक दलसँग संवाद गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लागि दलहरुलाई तयारी थाल्न आग्रह मात्रै गरेनन्, सरकार र दलहरुबिचको संवादहिनता पनि तोडाएर संवादको ढोका खोलेका छन् । चुनाव नगर्दाको जोखिम झनै बढ्ने र मुलुकमा राजनैतिक संकट चुलिदै जाँदा समस्या बढ्ने भएकाले राष्ट्रपति रामचन्द्र पौडेलले लिएको पहलकदमी स्वागतयोग्य छ । चुनाव गरेर लोकतान्त्रिक प्रणालीलाई लयमा ल्याउने राष्ट्रपतिको चाहना खुलस्त छ । जेनजी आन्दोलन र त्यसपछिको विध्वंशपछि अन्तरिम सरकारको गठन भयो । अन्तरिम सरकारले चुनावको मिति घोषणा ग¥यो । घोषित मितिमा चुनाव गर्नका लागि दलहरुसँग संवाद अनिवार्य शर्त हो । चुनावको लागि अग्रसर सरकारले प्रमुख दलहरुसँग संवादलाई बेवास्ता गर्नुको अर्थ के हो ? दलहरुलाई बेवास्ता गरेर चुनावलाई सफल बनाउन सकिन्छ ? बहुदलीय व्यवस्थामा दलहरुलाई बेवास्ता गरेर कस्तो खालको चुनाव गर्न खोजिएको हो ? यी प्रश्नबाट भागेर हिंड्न प्रधानमन्त्री सुशीला कार्की मिल्दैन । प्रधानमन्त्रीले दलहरुलाई बेवास्ता गरिरहेको र चुनावप्रति संशय उत्पन्न भएपछि राष्ट्रपतिले संशयलाई तोड्ने जमर्कोले चुलिएको अविश्वासको खाडल पुरिने सम्भावना बढेको छ ।
बहुदलीय लोकतान्त्रिक व्यवस्थामा दलहरु बिना चुनाव सफल हुन सक्तैन् । यो व्यवस्थाका दलहरु महत्वपूर्ण खम्बा हुन् । उनीहरुको सार्थक सहभागिताबाट नै चुनाव सफल हुन्छ । दलहरुको सार्थक सहभागिता बिना हुने चुनाव केबल औपचारिकताका लागि हो, यस्तो चुनावलाई आन्तरिक रूपमा अपनत्व त हुँदैन, अन्तर्राष्ट्रिय मान्यता पाउन पनि कठिन हुनेछ । अविश्वास र आंशका चुलिदै जाने तथा दलहरु चुनावमा भाग नलिने अवस्था आए त्यो चुनाव अर्थहिन हुनेछ, चुनावलाई सार्थक बनाउन सक्दा सरकारको पनि सफलता ठहरिन्छ । अन्तरिम सरकारको प्रमुख कार्यभार चुनाव भएकाले प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सफलताका लागि पनि चुनावमा दलहरुको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्छ । राष्ट्रपतिले थालेको संवाद अब प्रधानमन्त्रीले निरन्तरता दिँदा अझै राम्रो हुनेछ ।




