बासुदेव ढकाल
रामपुर पाल्पा
‘फुटबल खेल मैदान निर्माण अभियान, रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने नारासहित तेस्रो वाई वाई ज्योतिपुञ्ज कप २०८२ आजदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
कार्यक्रममा ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर रानाले रामपुरलाई फुटबल खेलको हवका रूपमा विकास गरी खेलका माध्यमबाट पर्यटन विकासमा टेवा पु¥याउन तेस्रो संकरणका रूपमा तेस्रो वाईवाई कप फुटबल प्रतियोगिता २०८२ आयोजना गर्न लागिएको जानकारी गराए । उनले विगत पहिलो र दोस्रो संस्करण भब्य रूपमा सम्पन्न भएको र त्यसबाट प्राप्त अनुभवले तेस्रो वाईवाई ज्योतिपुञ्ज फुटबल कप प्रतियोगिता २०८२ थप व्यवस्थित हुने आशा लिइएको पनि बताए ।
क्लबका निवर्तमान अध्यक्ष एवं आर्थिक समिति संयोजक सुदिप गौतमले व्यवस्थित रंगाशाला निर्माणका लागि रामपुर नगरपालिका र प्रदेश सरकारले सहयोग गर्ने हौसालाले लागत जनसहभागिता सहयोग जुटाउन यस प्रतियोगिताले सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको र ३० लाख खर्चको अनुमान गरेको जानकारी दिए ।
खेल दर्शकको लागि सेमिफाइनलसम्म सामान्य टिकट रु ५०। र फाइनल टिकट रु १००। हुने, १० वर्ष मुनीका बालबालिका, जेष्ठ नागरिक, अशक्त अपांगलाई प्रवेश निःशुल्क रहनेछ ।
खेल संयोजक अनिल शाहीले भने–‘खेलमा प्रथम पुरस्कार नगद ३ लाख ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार २ लाख ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
सप्ताह व्यापी हुने प्रतियोगितामा युनाइटेड युथ क्लब गिरूवारी रूपन्देही, सम्पूर्ण युथ क्लब तिलोत्तमा रूपन्देही, अभिशेख चर्च रजहर नवलपुर, न्यू युथ युनियन क्लब तानसेन पाल्पा, हिमालय सेर्पा क्लब काठमाडौं, ज्योतिपुञ्ज युवा क्लब रामपुर पाल्पा, भैरव स्पोर्टस् क्लब नवलपरासी, सूर्यपूरा एफसी चितवन, होराइजन क्लब वालिङ स्याङ्जा र देवदह ब्वाइज रूपन्देहीको प्रतिस्पर्धा हुनेछ ।’
कार्यक्रममा क्लबका टिम कोच केशव श्रेष्ठ र क्याप्टेन विजय मल्लले रामपुर क्षेत्रबाट आयोजक ज्योतिपुञ्ज क्लब खेलमा सहभागिताको तयारीको बारेमा जानकारी गराएका थिए । खेलको आज आइतबार दिउँसो २ बजे लुम्बिनी प्रदेश अर्थ उद्योग पर्यटन विकास समिति सभापति एवं प्रदेश सांसद राजुप्रसाद श्रेष्ठले उद्घाटन गर्ने छन् ।




