भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा र लुम्बिनी केबलकार लि. बीच पर्यटन प्रवद्र्धनका लागि छुट सुविधा दिने सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्य र लुम्बिनी केबलकारका वित्त प्रमुख राजन लम्सालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार लुम्बिनी केबलकारले संघका पदाधिकारी, कार्यसमिति सदस्य र सबै सदस्य उद्योगी व्यवसायीलाई टिकट दरमा विशेष छुट सुविधा दिने भएको छ ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष नेत्र आचार्यले लुम्बिनी केबलकार प्रदेशकै प्रदेशकै पहिलो केबलकार भएकाले यसको प्रवद्र्धन गर्नु रुपन्देहीका व्यवसायिक संस्थाहरुको दायित्व भएको बताए । उनले भारतीय पर्यटकलाई केबलकारमार्फत बसन्तपुरको हिल स्टेशन र कामाख्या मन्दिर दर्शनका लागि आकर्षित गर्न सकिने बताए ।
व्यवसायिक संघसंस्थाहरुसंग लुम्बिनी केबलकारको सम्झौताले पर्यटन प्रवद्र्धनसंगै स्थानीय बजार र व्यवसाय थप चलायमान हुने समेत अध्यक्ष आचार्यले बताए । सम्झौताले सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध दुई हजार तीन सय बढी व्यवसायी र संघमा कार्यरत १२ जना कर्मचारीले केबलकारको टिकट दरमा छुट पाउनेछन् । सम्झौता आदान प्रदान कार्यक्रममा संघका बाणिज्य उपााध्यक्ष हरि थापा,महासचिव कृष्णप्रसाद घिमिरे,सचिव मंगल भण्डारी,कार्यकारी सचिव कमला बस्नेत, कार्यकारी उपसचिव खगेन्द्र शर्माको उपस्थिति थियो ।
केबलकारका वित्त प्रमुख राजन लम्सालले केबलकारको बजार प्रवद्र्धनका लागि विभिन्न व्यवसायिक, शैक्षिक, लगायत संस्थाहरुसंग सम्झौता गरी टिकट दरमा छुट सुविधा दिने गरिएको बताए ।
नेपालकै दोस्रो लामो लुम्बिनी केबलकारको टप स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर, स्तरीय रेष्टुरेन्ट, सेमिनार हल, जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ लगायत दिनभर घुम्न सकिने पर्यटकीय पुर्वाधार रहेका लम्सालले जानकारी गराए । आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको डेढ अर्ब लागतमा बनेको लुम्बिनी केबलकार विश्वकै अत्याधुनिक र सुरक्षित अष्ट्रियाको डुपलमायर कम्पनीबाट बनेको लम्सालले बताए । केबलकारले एक दिनमा ६ हजार पर्यटकलाई आवतजावत गराउन सक्ने भन्दै उनले हरेक वर्ष पर्यटक आगमन बढ्दै भएको बताए ।
केबलकारले प्रत्येक टिकटको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई वितरण गर्ने गरेको छ । कम्पनीले छिटै बसन्तपुरमा पांच तारे होटेल बनाउने तयारी छ ।




