जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी सुरक्षा निकाय र तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्दै आएको तथा समाजका विभिन्न पक्षबाट पनि यसबारेमा तथ्य नजिक पुग्ने विषय आइरहेका छन् । जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको आवाज थियो, मुलकमा सुशासन कायम गर्नका लागि जनदबाब थियो, तर विभिन्न शक्तिकेन्द्रहरुको चलखेल र प्रवेशले यो आन्दोलनले उथलपुथल ल्याइदिएको छ ।
एमाले अध्यक्ष केपी ओलीलाई सत्ताच्यूत मात्रै गरेन, मुलुकको शासनप्रणालीमाथि नै गम्भीर चुनौती बढेको छ । त्यतिमात्रै नभई मुलुकको सार्वभौमसत्ता माथि नै गम्भीर चुनौती देखिएको छ । जेनजीलाई अघि सारेर वा जेनजी आन्दोलनलाई ढाल बनाएर स्वार्थको रोटी सेक्ने आन्तरिक र बाह्य शक्तिको चलखेल खुला देखिएको छ, जुन मुलुकको सार्वभौमसत्ता रक्षाको लागि गम्भीर चुनौती बनेको छ । आन्दोलनको आव्हानकर्ताको समूह एउटा, तर सेना प्रमुख र प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्न जाने अर्कै पात्र खडा भएपछि आशंकाहरु देखिएकै थिए । अझ आन्दोलनमा सहभागी शंकास्पद व्यक्ति, समूहले जेनजी आन्दोलनलाई बदनाम बनाएको छ । आन्दोलनमा सहभागी टिओबी तिब्बतियन ओरिजनल ब्लड लेखेको टिसर्ट लगाएका एक युवाले पेस्तोल बोकेको तस्विर सार्वजनिक भएपछि गम्भीर प्रश्नहरु जन्मिएका छन् । यी व्यक्ति को हुन् ? यो घटनाको अनुसन्धान गरी निष्कर्षमा नपुग्ने हो भने मुलुकको छिमेकसँगको सम्बन्धमा नै दरार आउने सम्भावना उत्तिकै छ ।
नेपालले एक चीन नीति अंगालेको छ । नेपालमा चीन विरोधी कुनै गतिविधि हुन नदिने नेपालको नीति हो । विगतमा एक चीन नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न देखाएको तत्परताकै कारण चीनले नेपालको मुक्तकण्ठाले प्रशंसा गर्दै आएको छ । पछिल्ला दिनमा चीन विरोधी गतिविधिलाई बल पुग्ने शंकास्पद गतिविधिले चीन बिच्किने जोखिम बढेको छ । छिमेक सम्बन्धलाई असर पार्ने गतिविधि भए भने त्यसको मूल्य मुलुकले चुकाउनुपर्छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले छिमेक विरोधी गतिविधि हुन नदिन चनाखो हुनुपर्नेछ ।
नेपालमा रहेका तिब्बतियन शरणार्थीहरुले चीन विरोधी गतिविधि गर्दै आएका छन् । ती गतिविधिको नियन्त्रण गर्न विगतमा सरकारले देखाएको तत्परता र सक्रियता अहिले पनि उत्तिकै सान्दर्भिक छ । जेनजी आन्दोलनका क्रममा टिओबी तिब्बतियन ओरिजिनल ब्लड लेखेको टिसर्ट लगाएका र पेस्तोल हातमा समाएको तस्विरको गम्भीर छानबिन हुनुपर्छ । यो विषयको छानबिन पनि गौरीबहादुर कार्की नेतृत्वको आयोगको जिम्मा लगाउनु हुँदैन । साँच्चिकै तिब्बती शरणार्थीहरुले पेस्तोलसहित आन्दोलनमा सहभागी भएका हुन् भने त्यो गम्भीर विषय हो ।
उनीहरु सिंहदरबारलगायतका सरकारी कार्यालय र नेताा घरमा आगो लगाउन सक्रिय थिए भन्ने दाबीका बारेमा पनि प्रहरीले छुट्टै अनुसन्धान गर्नुपर्छ । तिब्बती शरणार्थीहरु हतियारसहित प्रदर्शनमा उत्रेका हुन भने त्यसले मुलुकको आन्तरिक सुरक्षामा गम्भीर असर गर्छ । छिमेक सम्बन्धलाई पनि प्रभाव पर्छ । आयोगले गर्ने काम छुट्टै विषय भएकाले सरकारले आयोगको जिम्मामा दिएर उम्किन प्रयास गरे त्यो गम्भीर गल्ती हुनेछ ।




