भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईका कुम्हाल परिवार अहिले माटोबाट बन्ने पाला बनाउन व्यस्त छन् ।
धकधई बजारदेखि १ किलोमिटर दक्षिणमा रहेको यो टोलमा ३५ घर बढी कुम्हाल समुदायको बसोबास छ । प्राय ति सबै घरमा अहिले चकियामा माटो घुमिरहेको छ । श्रीमान पाला काट्दै छन् भने श्रीमती त्यसको माटो मुछ्ने, काँचो माटोको सामग्री पोल्नका लागि आगो तयार गरेको दृश्य देखिन्छ । बस्तीका ३० बढी परिवारले व्यवसायिक रुपमा नै यो पेशा अंगालेका छन् । कोहीले विशेष पर्वको अवसरमा मात्रै यो पेशा गर्छन् भने धेरैले बाह्र मासे नै कलामार्फत् जीवोकापर्जन गरिरहेका छन् ।
उमेरले ४ दशक काटेका साधे कोहारको जीवन माटैमा बित्यो । माटोको पाला बनाएर नै जीवीकोपार्जन गर्दे आएका उनले सरकारले हामीलाई कहिले नहेरेको आरोप लगाए । हाम्रो सिपलाई सरकारले वास्ता नगर्दा पेशा नै संकटमा पर्ने गरेको छ, परिवारमा पेशा पुस्तान्तरण हुने सम्भावना कम छ ।
उनी भन्छन्– ‘मेहनत बढी छ, मिहनेत अनुसारको फाइदा छैन । कच्चापदार्थ माटो, दाउरामा पनि समस्या छ, बजारीकरणका लागि पनि गाउँ गाउँ डुल्नु पर्छ । ’
सानै हुँदा आफ्नो परम्परागत व्यवसायमा लागेका उनी अहिले पनि उही जोशका साथ चकिया चलाउँछन । तर प्रविधिको विकाससँगै चकियाहरु पनि मोठर जडित आएकोले त्यसमा स्तरोन्नति गर्न सकेका छैनन् ।
साधे जस्तै रामकिशुन कोहार पनि बिहान उठ्न अहिले चकियामा दिन बिताउँदै आएका छन् । दीपावली नजिकिंदै गर्दा उनको काममा जोश झन झन बढ्दै गएको छ ।
परिवारको सहयोगमा उनले दीपावली र छठका लागि माटोको दियो, प्याला, घण्टी, घैटो, हात्ती र अन्य सामग्री निर्माण गरी मागअनुसारको बजारमा पु¥याउन यतिबेला भ्याइनभ्याइ छ ।
पुस्तौदेखि यही पेशाबाट छोराछोरी र नातिनातिनीको पालन पोषण गरेका बैजनाथ कोहोरले अहिले पेशा लोपहुन लागेकोमा दुखी छन् । छोराहरु अरु काम गरेकोले विढो बोक्ने कोही छैन, लगानी बढी, झन्झटिलो, मिहिनेत अनुसारको आम्दानी नभएकाले पेशाबाट बाहिरिएका छन् । १० वर्षदेखि यो काम गर्दै आएका उनले सिजन अनुसार सामान बनाउँदै आएको बताउँछन् । पहिले पहिले माटो दाउरा, माटोहरू किन्न पर्दैनथ्यो, तर अहिले सबै थोक किन्नु पर्ने भएकाले पनि खासै फाइदा नभए पनि भएको कलालाई जागर हुँदासम्म गरिरहेको छु यसपछि कसले गर्छ थाहा छैन ।
सरकारले पनि हामीले हेरेको छैन । चुनावको लागि विभिन्न कुराहरु गर्छन् अहिलेसम्म केही सहयोग नपाएको समुदायको भनाइ छ ।
पुरानो शैलीबाट दियो बनाउँदै आए पनि कहिले माग कम छ । झालर र मोमबत्तीले दिपावलीमा पनि पालाको माग घट्दो गइरहेको छ । ५ परिवारको जीवकोपार्जनको स्रोत यही भए पनि नयाँ प्रविधिसँगै जोडिए मिहनेत कम लाग्थ्यो । बाजे र बुआले गर्दै आएको पुख्र्यौली पेशालाई सम्हाल्दै आएका यो समुदायकोे यही सीपबाट छोराछोरीलाई विद्यालय नि पठाएका छन् भने परिवार पालेका छन् । दैनिक रुपमा घरबाटै र बजार बजारमा बेच्दै आएका माटोको भाडा यस वर्ष दीपावलीमा मात्र एक लाखको बेच्ने लक्ष्य लिइएका छन् ।
‘भैरहवा, बुटवल, मणिग्राम र धकधइ बजारबाट माटाका समाग्रीहरु बेच्द आएको छु, घरमा पनि परिवारले बेच्ने गरेका छन् , दैनिक ६–७ सय आम्दानी हुन्छ ।’– उनी भन्छन् ।
यसरी तिहारका लागि विभिन्न थरीका पालाहरु बनाउदै कुम्हालले साइज अनुसार २ रुपैया देखि १५ रुपैयाँ प्रति थानका दरले बेच्ने गरेका छन् । त्यस्तै खुत्रुके, हाती, घण्टी घैटोहरु पनि गोटाको २० रुपैयाँदेखि १०० रुपैयाँसम्म बेच्ने गरेको कुम्हालहरु बताउँछन् ।
घरायसी उपयोगका भाडा बनाउने कुमाल जातिको पेशा बढ्दो आधुनिकीकरण र शहरीकरणको नाममा चाड पर्वमा मैनबत्ती, बिजुली, चाइनिज झिलीमिली हरुको बढदो प्रयोग र प्लास्टिक तथा कागजबाट निर्मित गिलासको बढी प्रायोग हुन थालेपछि पेशा संकटमा परेको र पेशा प्रति धेरैको रुची घटेको छ ।
परम्परादेखि नै माटोबाट बनाइएका विभिन्न भाँडा घरघरमा हिजोआज प्रयोग गरिन छाडेपछि पेशा नै संकटमा परेको छ ।
रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले कुम्हाल समुदाय यहाँ भएपनि सहयोगको लागि हामीसँग सम्पर्कमा नआएको बताए । हामीहरुले गर्न मिल्ने सहयोगका समुदायलाई गर्ने बताए । उनले समुदायसँग समन्वय गरी मुख्य मुख्य समस्या र बजारीकारणका लागि पनि सहजीकरण गर्ने बताए ।
यो पेसामा धेरै मेहनत र आम्दानी कम हुने भएकाले पछिल्लो पुस्ता माटोका भाडाहरु बनाउन मन नलागाए पनि स्थानीय सरकारले कोहारहरुको पेशाको संरक्षण र विकास गर्न सके यस पेशाको माध्यमबाट पनि धार्मिक र वातावरण दुबैको पवित्रता र शुद्धतालाई कायम राख्न ठूलो मद्दत र भूमिका खेल्न सकिन्छ ।




