काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को दोस्रो खेलमा नेपालले आज कतारविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अमेरतमा हुने खेल नेपाली समयानुसार आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा आज नेपाल लगातार चौथो जितको खोजीमा छ । यसअघि, समूह चरणमा अपराजित रहेको नेपालले सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यता, समूह ‘ए’को उपविजेता कतारले समूह चरणका दुई खेलमध्ये एक खेलमा मात्र जित निकालेको थियो । सुपर–६ मा कतारले पहिलो खेलमा ओमानसँग ३४ रनको हार बेहोरेको थियो ।
नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन । सुपर–६ मा नेपालले यी चार टिमविरुद्ध ‘डबल राउन्ड रोबिन’ पद्धतिअनुसार प्रतिस्पर्धा गर्नेछ ।




