सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन दिएको आदेश प्रशंसनीय छ । अदालतको यो आदेशले नदीको बहाव क्षेत्र जोगाउन बल पुग्नेछ ।
नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बस्ने त्यसपछि सुकुम्बासी भन्दै लालपूर्जा पाउन माग गर्ने प्रवृत्ति बढ्को छ । सार्वजनिक, वनको जग्गा अतिक्रमण गरेर बसेपछि कालान्तरमा लालपूर्जाको दाबी गर्ने प्रवृत्ति देशभर छ । यो प्रवृत्ति पञ्चायतकालमा सुरु भयो । २०४६ सालको परिवर्तनपछि अझैँ बढ्यो । गणतन्त्रपछि अहिले उत्कर्षमा पुगेको छ । राजनैतिक दलहरुले सुकुम्बासी भन्दै जग्गा अतिक्रमणकारी गर्नेहरु ‘भोट बैंक’ भएका चिड्याउन चाहेनन् । दलीय स्वार्थको जालोमा सुकुम्बासी समस्या जेलिएपछि समस्या भएको हो । दल भनेका लोकतन्त्रका खम्बा हुन् । उनीहरुले विधि र पद्दतिलाई स्थापित गर्न लागे समाज राम्रो बन्दै जाने हो । अराजकता अन्त्य हुने हो, अनुशासन बढ्दै जाने हो ।
सुकुम्बासीलाई भोट बैंकको रुपमा प्रयोग गर्ने प्रवृत्तिले सुकुम्बासी समस्या समाधान हुँदैन् नै । राजनैतिक दलको साख पनि गिर्दै जान्छ । राजनैतिक दल मूलभूत एजेण्डाबाट चुक्दै जाने जोखिम बढ्छ ।
सर्वोच्चको आदेशअनुसार वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्नुपर्ने छ । यो आदेश कार्यान्वयन भएसँगै देशका अन्य भागमा पनि नदीको बहाव क्षेत्र अतिक्रमण गरी बसोबास गरेकाहरु संकटमा परेका छन् । बुटवलको तिनाउ नदी आसपासको बस्तीमा सुकुम्बासीले कब्जा गरिसकेका छन् । नदीको बहाव क्षेत्र अतिक्रमण गरी बसोबास गर्नेहरु अब राज्यले कुनै सुविधा दिँदैन भनेर भन्न सक्नुपर्छ । सुकुम्बासी बस्ती बसेपछि सडक पु¥याउने र बिजुली बत्तीको व्यवस्थालगायतका काम हुँदा झनै समस्या भएको हो । बुटवल बाढी, पहिरो र भूकम्पीय दृष्टिले जोखिम छ । भूकम्प गए यहाँ ठूलो क्षति हुने आँकलन गरिएको छ । तिनाउ आसपासको बस्ती जोखिममा छ, किन कि तिनाउमा औषतभन्दा बढी बाढी आयो भने अहिलेको बहाव क्षेत्रले थेग्न सक्तैन् ।
नदी सभ्यताको विकास भएको ठाउँ हो । नदी र खोलाहरु भएकाले त मानव जीवनयापन धानिएको छ । सम्पूर्ण प्राणीको जीवन धान्न नदी र खोलाहरुको अतुलनीय भूमिका छ । नदी खोलाहरुलाई नासिन, मासिन नदिनु भावी सन्ततीको लागि सुन्दर उपहार हुन्छ । सर्वोच्च अदालतले सुकुम्बासीलाई नदी किनारमा होइन्, सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आदेश दिएर आशा जगाउने काम गरेको छ ।




