नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आइपुगेको छ । तिहारमा फूलको प्रयोग हुन्छ । भाइटिका, गाई र गोवद्र्धन पूजामा फूलको प्रयोग हुन्छ । चाडपर्वमा खपत हुने फूल अहिले छिमेकी मुलुकबाट आइरहेको र प्रयोग बढिरहेको बेला बुटवलसहित विभिन्न पालिकाहरुले स्थानीय फूलको प्रयोग गर्न आव्हान गरेका छन् । पालिकाको प्रोत्साहन समेतमा किसानले व्यवसायिक फूल खेती गरिरहेकाले स्थानीय उत्पादन प्रयोगका लागि आव्हान गर्नु सकारात्मक पहलकदमी हो ।
नेपालमा पछिल्ला वर्ष फूल खेती फस्टाएको छ । तराईमा गर्मी मौसममा फूल खेती गर्न उत्पादन लागत धेरै हुने भएकाले व्यवसायिक खेतीको सम्भावना कम छ । तर अरु मौसममा तराईमा पनि सम्भव छ । मध्य पहाड फूल खेतीका लागि अनुकुल मौसम छ । यातायात सञ्जालको विस्तारले मध्य पहाडको फूल सबैतिर पु¥याउन सकिन्छ । चाडपर्वमा अत्याधिक खपत हुने फूल स्थानीय प्रयोग भयो भने किसानले लाभ पाउन सक्छन् । अहिले बजारमा प्लाष्टिकजन्य माला र फूल आइसकेका छन् । भारतीय बजारबाट सयपत्री फूल पनि आइरहेको छ । प्रयोगकर्ताले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि स्थानीय फूल प्रयोग गर्न कञ्जुस्याई गर्न हुन्न । तिहारमा आवश्यक अरु विभिन्न सामग्री पहाडका बनपाखाका उत्पादन नभई हुँदैन, ती आवश्यक सामग्री खोजी खोजी प्रयोग गर्दछौँ भने फूल किन प्रयोग नगर्ने ?
मुलुक हरेक विषयमा परनिर्भर भइरहेका बेला कम्तिमा फूल स्वदेशी प्रयोग गर्ने बानी बसाल्ने हो भने हामी फूलमा आत्मनिर्भर हुन्छौँ । फूलको व्यवसायिक खेती विस्तार हुन्छ । मध्यपहाड जस्तो फूलका लागि अनुकुल मौसम हुँदा समेत व्यवसायिक विस्तारका लागि लगानी गर्न आँट आउन नसक्नुको कारण स्वदेशी उत्पादनप्रति उपभोक्ताको लगाव नहुनु पनि हो । त्यसो त प्रतिस्पर्धी बजारमा उपभोक्ता जुन सस्तो पायो त्यही प्रयोग गर्छन्, त्यो स्वभाविक पनि मान्न सकिएला । कतिपय विषय थोरै महँगो भए पनि स्वदेशी प्रयोग गरौं भन्ने भावनाले राष्ट्रियताको भावना उजागर हुन्छ ।
केही आशालाग्दा काम भएका छन्, पालिका र प्रदेश सरकारबाट अनुदान तथा प्रोत्साहन सहयोग पाएर सहकारी र व्यक्तिले फूल खेती गरिरहेका छन् । कतिपय अवस्थामा कुनै अनुदान र प्रोत्साहन सहयोग विना पनि युवाले स्वदेशमा केही गर्नुपर्छ भन्ने भावनाले फूल खेती गरिरहेका छन् । व्यवसायिक फूल खेतीमा संलग्न युवालाई प्रोत्साहन गर्न पनि स्थानीय फूलको प्रयोगमा जोड दिन आवश्यक छ । हरेक पालिका उत्पादनका केन्द्र हुन् । पालिकाले आफ्नो पालिकाभित्र उत्पादन भएको फूलको अवस्थाका बारेमा तथ्याङ्क लिएर बजारीकरणलाई सहयोग गर्न सक्छन् । पालिकाले बजारीकरणका लागि चाल्ने अभियानमा सहयोगी बनौँ । स्वदेशी फूल प्रयोग गरौँ । किसानलाई प्रोत्साहन र सम्मान गरौँ ।




