बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा तीन दिने आवासीय स्काउट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। न्यू होराइजन स्काउट ट्रुपद्वारा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम असोज २६ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । यस अवधिमा सहभागी स्काउट विद्यार्थीहरूले हाइकिङ, रक क्लाइम्बिङ, ट्रि क्लाइम्बिङ, ट्रेकिङ, ध्यान, आध्यात्मिक जागरूकता, प्रोजेक्ट वर्क, स्काउट सर्वधर्म र सांस्कृतिक प्रस्तुतिजस्ता विभिन्न सिकाइमुखी गतिविधिहरूमा सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रमको समग्र निर्देशन स्काउट मास्टर खुमाकान्त अधिकारीले गरेका थिए । उनका अनुसार उक्त प्रशिक्षणले विद्यार्थीहरूमा शारीरिक सक्षमता, आत्म–अनुशासन, नेतृत्व विकास, समूह भावना तथा व्यावहारिक सिप अभिवृद्धि गर्न सहयोग पु¥याएको छ ।
प्रशिक्षणको अन्तिम दिन विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रम सहित समापन भएको छ । सो अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र व्याच वितरण गरि दिक्षित समेत गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लोकनाग उपाध्यायले विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर संगै खेलकुद, अतिरिक्त क्रियाकलापसहित सर्वाङगीण विकासमा सम्पूर्ण ध्यान केन्द्रीत गरेको बताए । कार्यक्रममा अभिभावक हिरा खड्का, विद्यार्थीहरु देब्यानी सेन,रन्जन मल्ल,सोफिया पौडेल स्काउटर सिताराम ओली लगायतले आफ्ना भनाई राखेका थिए । विद्यालयका उप–प्राचार्यहरू बालकृष्ण भण्डारी,वासुदेव अर्याल, राजीव श्रेष्ठ, तथा शिक्षक–कर्मचारीहरूले स्काउट ट्रुपको पहलले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास र व्यावहारिक सिप विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै सराहना गरेका थिए । प्रशिक्षणमा १५ जना छात्रा र १२ जना छात्र सहभागी थिए ।




