२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बसाईसराइले संस्कारमा आएको परिवर्तन

बसाईसराइले संस्कारमा आएको परिवर्तन

बसाईसराइले संस्कारमा आएको परिवर्तन

बसाईसराइले संस्कारमा आएको परिवर्तन

बसाईसराइले संस्कारमा आएको परिवर्तन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • तुल्सीराम पाण्डे

    एकै ठाउँमा लामो समयसम्म बस्ने मानिसहरु भन्दा आफूलाई जिन्दगी चलाउन सजिलो हुने अनुमान गरेर बसाई सरीरहने मानिसहरु बढी चलाख र सुखी देखिएका छन् । एउटा समुदाय एकै ठाउँमा लामो समयसम्म बस्दा त्यस ठाउँको हावापानी र भौगोलिक अवस्था अनुसारको खानपिन पहिरन र अन्य चलन गर्नुपर्ने हुन्छ । लामो समयसम्म चलेको चलन त्यस समुदायको संस्कार बन्दछ ।

     
    आधुनिक समयम चलेको बसाईसराइको कारणले धेरै समुदायको संस्कारहरुमा परिवर्तन हँुदै गएका छन् । संस्कार र चालचलनहरु परिवर्तन हुनुमा धेरै कुराले प्रभाव पारेको हुन्छ । केही कारणहरुमा नयाँ ठाउँमा जाँदा हावा पानी नमिल्नु, आफ्नो संस्कारअनुसारको खाना र पहिरन नपाइनु, नयाँ मानिसहरुसँग घुलमिल हुनखोज्नु, ठाउँअनुसारका कानुन हुनु, आफ्नो संस्कारमा चल्दा हेपिने र अरुले खिसी गर्ने डर हुनु, आफ्नो संस्कार नयाँ ठाउँमा नमिल्दो हुनु, आफ्नो संस्कार चलाउने सामग्री नपाइनु, अरुको सिको गर्न खोज्नु, आफ्नै संस्कारको ज्ञान समेत नहुनु पर्दछन् । 


    नेपालको हिमाली भेगमा बस्ने समुदायहरुले न्यानो बाक्लो लुगा र घुँडासम्म आउने जुता लगाउँछन् । आफ्नै क्षेत्रमा उत्पादन हुने धेरै पोषणयुक्त खाना खान्छन्् । शरीरमा ताप बढाउने पेयपदार्थहरु पिउँछन् । हिमाली खानामा उवा, फापर, कोदोका ढिडो, आलु, भेडा, च्याङ्गा र चौँरीको मासु खान्छन् । खानपिन धर्म र परम्पराअनुसार फरक–फरक हुन्छ । चौँरीको शरीर निरोगी हुने हुनाले त्यसको रगत पिउनको लागि टाढाटाढाबाट मानिसहरु जान्छन् । तराईमा बस्ने मानिसहरुले हावा छिर्ने खालको पातलो लुगा लगाउँछन् । 


    शरीरलाई शितलता दिने खालका पेयपदार्थहरु पिउँछन् । त्यसैअनुसारको संस्कार बनेको छ । पाहाडी क्षेत्रमा बस्ने मानिसहरुले ठिक्कको न्यानो र सदावहार लुगा लगाउँछन् । त्यही ठाउँमा उत्पादन हुने खानेकुरा खान्छन् । त्यही ठाउँ र परम्पराअनुसारका संस्कार बनेका छन् । पाहाडी भेगमा बस्ने लोग्ने मान्छेहरुले दौरा, सुरुवाल, भोटो, कछाड, टोपी, लगौटी लाउने गाजो पार्ने गर्दछन् । महिलाहरुले धोती, चोला,े मजेत्रो, पटुका, ब्लाउज,लुङ्गी, घलेक लाउँछन् । अहिलेको समयको बसाईसराइ र आधुनिक चलनले गर्दा सबै ठाउँ र समुदायका परम्परागत खानपिन, पहिरन र संस्कारमा परिवर्तन आएको छ । संस्कारहरु परिवर्तन हुनुमा यातायातको महत्वपूर्ण भूमिका छ । यातायातले गर्दा नै  गाउँका खाना शहरमा र शहरका खाना गाउँमा पुगेका छन् । तराइको चामल, दाल, तेल हिमालमा पुगेको छ । हिमालको उवा, फापर, स्याउ, भेडा, च्याङग्रा तराईमा पुगेका छन् । मानिसको तत्कालिन आवश्यकता पनि संस्कार परिवर्तन हुनुको एउटा कारण हो । यहाँ विशेष गरेर पहाडी समुदायका संस्कारलाई प्राथमिकता दिइएको छ ।


    पहाडी भेगमा बस्ने बाहुनहरुले सधँै नुहाउने, पूजापाठ गर्ने, जनै लगाउने, टुप्पी पाल्ने गर्दछन् । तिनै मानिसहरु पढ्न र नोकरी गर्न शहरमा वा पानी कम भएको ठाउँमा जाँदा त्यसो गर्न सम्भव हुँदैन । टुप्पी पालेको देखेमा साथीहरुले खिसी गर्ने र तानीदिने गर्दछन् । भाडामा बस्दा भाँडोमा भरेर राखेको पानीले पुग्दैन । नेपालमा बस्ने नब्बे प्रतिशत मानिसहरुले हिन्दु धर्म मान्दछन् । यहाँका मानिसहरु पढ्न र नोकरी गर्न विदेशमा गएका छन् । 


    विदेशमा गएपछि चिसो ठाउँमा जानेले शरीर तताउन रक्सी खाने, खाडीका देशहरुमा जानेले त्यहाँको चलन अनुसार गाइगोरुको मासु खाने गर्दछन् । घरमा गोरु परे पनि किरिया गर्न आउन पाउँदैनन् । छुट्टीमा आएपछि मात्र किरिया गर्दछन् । कुखुराको मासु धेरै बाहुनको घरभित्र पुगिसक्यो । अन्य समुदायले गर्ने बाजा बजाउने, कपडा सिउने, सुनको कारोबार गर्ने, जुत्ता सिउने , होटल गर्ने, मासु काट्ने जस्ता नाफा हुने सवैजसो काम र व्यापार सबैले गर्न थाले । विवाह गरेर विदेश जानेहरुले मलमास बार्न, बच्चा जन्मदा अगेनामा नाल गाड्न र न्वारन  गर्दा विषालु वनस्पती र काँडा पोल्न सम्भव हुँदैन ।


    तराईमा बसाई सर्ने मानिसहरुले पनि पहाडमा जस्तो राम्रो दिन हेराएर धानको मुठी काट्ने, न्वागी खाने, नाग झाँक्रीलाई धार दिने, लुतो फाल्ने, हरेलो पूजागर्ने, दशहरा मनाउने गर्न छाडिसके । यज्ञ गर्दा समेत लिंगा गाड्ने, होमकुण्ड बनाउने, शंख घण्ट बजाउने पनि सबै ठाउँमा सम्भव नभएकोले त्यहाँ जति सामान पाइन्छ त्यसैले काम सम्पन्न गर्ने चलन आएको छ । सबै कुरा किनेर सधंै संस्कार नथामिने रहेछ । लामो समय भएपछि नयाँ पुस्ताले पनि आफ्नो संस्कार बिर्सने र छिमेकीको संस्कार सिक्ने रहेछन् । पूजाआजामा स्थानीय गाईको दूध नपाइने ठाउँमा जर्सी गाईको र कुनै ठाउँमा भैँसीको दूधको पञ्चामृत बनाएर काम फुकाउन थाले । शहरमा र प्लटिङ गरेका ठाउँमा घरमात्र हुनेहरुले साँघुरो भएको कारणले विवाह र व्रतबन्ध जस्ता काम गर्न पार्टी प्यालेस जान्छन् । किरिया कर्म गर्दा समेत घरैको धारामा नुहाउने, ग्यास चुलोमा पकाउने, अगरबत्तीले धुप गर्ने चलनआयो । अहिलेको बढ्दो खर्चले गर्दा टाढा भएका आफन्तलाई हैसियत हेरेर बोलाउने चलन आयो । पहाडमा छँदासम्म सबैले आफ्नै ठाउँमा खुल्ला रुपले काम गर्न पाउँथे । छिमेकीहरु र इष्टमित्रले सघाउँथे । सबै आफन्तहरु जम्मा हुन्थे । पुरानै ढङ्गले कर्म सकिन्थ्यो ।


    सबै मानिसहरुले गुन्द्री र पिर्कामा बसेर चुलोको नजिकै खाना खान्थे । आफ्नो जन्मदिन, अरु कुनै खुसीको पर्व वा धार्मिक महत्वका दिनहरुमा गण्डकीमा नुहाएर शुद्ध हुने, देवताको दर्शन गर्ने र आफ्ना मान्यजनबाट आशिर्वाद लिन्थे । शहरमा बसाई सरेपछि आफ्नो हैसियत उच्च देखाउन टेवल कुर्सीमा बसेर खाने, विशेष पर्वहरुमा शुभकामना दिने, केक काट्ने, जुठो केक खाने र खुवाउने, बलेको बत्तीहरु निभाउने, बिजुलीका झिलिमिली बत्तीहरु बाल्ने गर्दछन् । हिन्दु संस्कारमा जुठोखानु र बत्ती निभाउनुलाई अशुभ मानिन्छ । शुभकाम गर्दा घ्यू वा तेलको बत्ती बालिन्छ र यज्ञ नसकिंदासम्म निभ्न दिइँदैन ।


    अहिलेका महिलाहरुले औपचारिक कार्यक्रममा मात्र साडी लगाउँछन् । साडी लगाउन र समालीरहन झन्झट हुने हुनाले विवाह समेत लेहेंगा र कुर्ता सुरुवालमा गर्ने चलन आयो । अरु समयमा आफूलाई सजिलो हुने र देश अनुसारको पोशाक लगाउँछन् ।
    सबै मानिसलाई आफ्नो परम्पराअनुसारको संस्कार मनाउँदा आफ्नो जन्म ठाउँसँगको आत्मियता बढ्दछ । सबैको आत्मियता देश विकाशमा केन्द्रित भएमा हाम्रो देश पनि छिट्टै विकसित होला ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij