भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंशपछि हतास र कमजोर मनोबलमा देखिएको प्रहरीको मनोबल उकास्न सरकारले पहलकदमी नलिंदा सुरक्षा चुनौती थपिएको छ । शान्ति सुरक्षाको बहालीका लागि प्रहरी संगठनको चुस्त परिचालन र बलियो मनोबल आवश्यक पर्छ ।
२४ भदौको विध्वंशमा लुटिएका १२ सय ७६ हतियारमध्ये ५ सय ५६ थान हतियार अझै फेला परेका छैनन् । कारागारबाट भागेका १४ हजार कैदी बन्दीमध्ये ५ हजार अझै सम्पर्कमा आउन सकेका छैनन् । कार्यस्थलमा खटिएका तीन प्रहरीको हत्या भयो । प्रहरीको लुटिएको पोशाक लगाएर अपराधिक क्रियाकलाप हुन थालेको छ । तोडफोड, आगजनी र लुटपाटमा संलग्न अपराधिक व्यक्तिलाई कानुनी दायरामा ल्याइनुपर्ने माग बढिरहेको बेला सरकारले प्रहरीलाई कानुनी कारबाहीको बाटोमा हिंड्न प्रेरित गर्न सक्नुपर्दथ्यो । तर गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी हत्यामा संलग्नसहित लुटपाट र आगजनीमा संलग्नलाई पक्राउ गरी कारबाही अघि बढाउन थालेपछि छानबिन समितिको दायरामा पर्ने भन्दै सक्रियता नदेखाउन निर्देशन दिए ।
गृहमन्त्री एकातिर प्रहरीलाई यस्तो निर्देशन दिएर अपराधिक क्रियाकलापमा संलग्नहरुलाई ढाडस दिए भने अर्कोतिर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिए । गृहमन्त्रीको निर्देशनपछि प्रहरी उच्च अधिकारीहरुले विधि, प्रक्रिया र कानुनका बारेमा गृहमन्त्रीलाई लामै छलफल गरी सम्झाउनुप¥यो । प्रहरीलाई कानुन कार्यान्वयनको बाटोमा हिंड्न प्रेरित गर्नुपर्ने गृहमन्त्रीले आग्रह र पूर्वाग्रह राखेर अघि बढ्दा मनोबल गुमेको प्रहरी बाबु आमा गुमाएका बालबालिका झै हुन अवस्था श्रृजना भयो, अहिले बल्ल चौतर्फी दबाबपछि प्रहरीले विस्तारै कानुन कार्यान्वयनको बाटोमा अघि बढ्दैछ, यसलाई सकारात्मक मान्नुपर्छ ।
कानुन कार्यान्वयनको बाटोमा अघि बढ्दा मात्रै प्रहरी लयमा अघि बढ्छ भन्ने हेक्का नहुनु गृहमन्त्रीकोे कमजोरी हो । प्रहरी अधिकारीहरुका अनुसार, कानुन हातमा लिएर अघि बढ भनेर भन्ने गृहमन्त्रीले खस्किएको मनोबल लिएर प्रहरी फिल्डमा खटिन सक्तैन भनेका प्रहरी अधिकारीलाई मनोबल बढाउन के गर्नुपर्छ भन्ने समेत राम्ररी सोधेका छैनन् । जेलका कैदी बन्दी समुदायमा पुगेका छन् । लुटिएका घातक हतियार कहाँ पुगेका छन् ? प्रहरी पोशाक लगाएर मध्यरातमा चितवनमा घरमा लुटियो । यो परिस्थितिलाई सम्हाल्ने भनेको आग्रहमा हिंड्ने र कुण्ठाग्रस्त नेतृत्वले होइन्, विवेकी नेतृत्वले मात्रै ढाडस दिनसक्छ ।
चाडबाडको बेला प्रहरी गतिविधि बढ्नुपर्ने बेला प्रहरी परिचालन सुस्त भयो । राजमार्गमा चेकजाँच पटक्कै छैन ।
बुटवललगायतका शहरी क्षेत्रमा निद्रा खल्बलिने गरी कुनै विष्फोट जस्तो चर्को आवाज निकाल्ने गरी मोटरसाइकल कुदाउँदा समेत प्रहरी मौन छ । सर्वसाधारणले प्रहरी भएको महशुस गर्न सकेका छैनन् । पहिले चोक–चोकमा खटिने प्रहरी अहिले देखिंदैनन् । के यस्तै गरी राज्य चलाउन खोजिएको हो ? अपराधीको मनोबल बढाएर समाजलाई त्रासमा राख्न खोजिएको हो ? समाजमा राज्यको अनुभूति दिने हो भने अहिलेको शून्यतालाई चिर्न सक्नुपर्छ । प्रहरी पूर्ववत अवस्थामा फर्किनुपर्छ, त्यसका लागि नागरिकले सघाउ पु¥याउनुपर्छ ।




