बुटवल
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाभित्र बैशाख यता मात्र २७ वटा अति विषालु सर्प प्रजाति रसेल्स भाइपर फेला परेका छन् ।
सर्प उद्धारकर्ता दुर्गा लामिछानेका अनुसार बर्दघाट नगरपालिका–७ बेलानीमा १६ वटा, वडा नं. १४ गंगाबस्तीमा ८ वटा, वडा नं. ५ मा २ वटा र वडा नं. ४ त्रिवेणीरोड बाढीपीडित लाइनमा एउटा रसेल्स भाइपर भेटिएको हो ।
सात वर्षदेखिसर्प उद्धारको काम गरिरहेका लामिछानेको दाबीअनुसार यो वर्षको ८ महिनामा एउटै पालिकाभित्र २७ वटा अति विषालु प्रजातिको रसेल्स भाइपर सर्प फेला परेको यो नै सबैभन्दा ठूलो संख्या हो ।
बर्दघाट नगरपालिकाका दमकल चालक समेत रहेका लामिछानेले बुटवल–नारायणगढ सडक विस्तारको कामले राजमार्ग आसपासको जमिन, खाल्डा खोल्सी र प्वालमा असर गरेर सर्पले बासस्थान परिवर्तन गरेर बाहिर देखिएको हुन सक्ने बताए ।
बर्दघाट वडा नं. १४ मा चार इन्चको पाइप काट्दै गर्दा पाइपभित्र रसेल्स भाइपर सर्प भेटिएको लामिछानेले बताए । अन्य सर्प घर र गोठ आसपासमा भेटिएको उनले बताए । २७ वटा रसेल्स भाइपरलाई उद्धार गरी लामिछानेले पूर्वी नवलपरासीको मध्यवर्ती सामुदायिक वन समूहमार्फत् चितवन राष्ट्रिय निकुञ्जमा पु¥याएर स्थानान्तरण गराएको बताए । यस बाहेक उनले यो वर्ष रसेल्स भाइपरसहित १९ प्रजातिका ३३८ वटा सर्प विभिन्न व्यक्तिका घर गोठबाट निकालेर सुरक्षित स्थानमा लगेर छाडेका छन् ।
उनका अनुसार रसेल्स भाइपर विश्वका सबैभन्दा विषालु र खतरनाक सर्पमध्ये ७औं स्थानमा पर्छ । यो सर्पले डसेमा यसको विष मानव शरीरको हेमोटोक्सिनमा प्रत्यक्ष असर गर्ने प्रकारको हुने र सिधै मिर्गौलामा गम्भीर क्षति पु¥याउने भएकाले मिर्गौलाको डायलासिस विधिबाट उपचार हुने बताए । यसले डस्दा रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए ।
रसेल्स भाइपरले अरू प्रजातिका सर्पले जस्तो अण्डाबाट बच्चा बनाउने नभई अन्डा नपारी सिधै एकपटकमा ४०–५० वटासम्म बच्चा जन्माउने हुँदा मानवबस्ती नजिक यसले बच्चा जन्माएमा धेरै जोखिम हुने लामिछानेले बताए ।
रसेल्स भाइपरको शरीरमा खैरोदेखि पहेँलो–खैरो पृष्ठभूमिमा ठूला गोलाकार वा अण्डाकार गाढा खैरो–कालो दाग हुन्छन् । जसको किनार सेतो–फिका पहेँलो रेखाले घेरिएको हुन्छ । त्यसैले धेरैजना यसलाई देख्दा अजिङ्गर सर्प भनेर झुक्किने लामिछाने बताउँछन् ।
यो सर्प नेपालमा मुख्यतः तराईका बालुवासहितको तातो र सुख्खा क्षेत्रमा पाइने उनले बताए । उनका अनुसार पश्चिम नवलपरासीसहित रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रसेल्स भाइपरको मुख्य बासस्थान हो ।
नेपालबाहिर यो सर्प भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र दक्षिण–पूर्वी एसियाका केही भागमा पनि पाइन्छ । यो सर्प प्रायः धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा विशेष गरी बेलुकीपख वा राति देखिने भएकाले यसको डसाइको जोखिम हुने भएकाले उक्त समयमा सावधानी अपनाउनुपर्ने लामिछानेले सुझाए । पर्यावरण संरक्षण र सन्तुलनका लागि सर्प मार्न नहुने भन्दै उनले जुनसुकै प्रजातिका सर्प घर गोठमा फेला परेमा र भगाउन नसकेमा उद्धारकर्तालाई खबर गर्नुपर्ने लामिछानेको सुझाव छ । लामिछानेले सर्प उद्धार गरेबापत निश्चित शुल्क तोकेर नलिने गरेको बताए ।‘अलि टाढा जाँदा कसैले गाडीमा पेट्रोल हाल्न स्वेच्छिकरूपमा थोरै रकम दिनुहुन्छ, त्यो पनि सामाजिक र धार्मिक काममा खर्च गर्छु,’ लामिछानेले भने–‘सानैदेखिको रुचि भएकाले स्वयंसेवी भावनाले सर्प उद्धारको काममा खटिन्छु ।’ लामिछानेले हालै मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाबाट १२ फुट लामो र ३८ केजी तौलको अजिंगर समेत उद्धार गरेका छन् ।
लामिछानेले सर्प उद्धारको काम जोखिमपूर्ण भएकाले सरकारले जीवन बिमा गरिदिए काम गर्न सहज हुने र हौसला मिल्ने बताए ।
‘यो जोखिमको काम हो, निश्चित रकम पाउने भन्ने पनि हुँदैन, त्यसैले सरकारले जीवना बिमा गरिदिए काम गर्न सहज हुन्थ्यो ।’–लामिछानेले भने । सर्प उद्धारमा लामिछानेको निःस्वार्थ सामाजिक कामको मूल्याङ्कन गर्दै विभिन्न संस्थाबाट उनी सम्मानित भइसकेका छन् ।




