भैरहवा
लघु वित्तीय संस्थाले ज्यादती गरेको दाबी गर्दै भैरहवामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि संयुक्त विरोध प्रदर्शन गरेको हो ।
लघुवित्त पीडित संघर्ष समितिका जिल्ला अध्यक्ष अम्बिका देवानले लघु वित्तीय संस्था खारेज गर्नुपर्ने, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्न माग रहेको बताइन ।
किसान मजदुर आन्दोलनको केन्द्रीय सचिवालय सदस्य उमेश कोरीले देशभरिका प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए । ‘मिटर व्याजको समस्या हालसम्म कहीँबाट नभएकोले विभिन्न माग राख्दै हामीले विरोध प्रदर्शन गरिरहेको छौं ।
सरकारले कानुन बनाएर निवदेन दार्ता र छलफलबाट समस्या समाधानको लागि प्रक्रिया बने पनि पीडितलाई न्यायको लागि आश्वासन मात्रै रहेको छ ।’–उनले भने । अहिलेसम्म पीडितलाई अलमलाउने काम मात्रै भएको र न्याय कतै नपाएकोले विरोध प्रदर्शन गरिरहेको उनले जनाए । मिटर व्याज पीडितहरुले सावाकोे कति गुना बढी पैसा दिँदा पनि साहुहरुले बक्यौता कहिले न घटाउने भएकोले त्यस्ता नियमविपरीतका तमसुकलाई खारेज गरिनु पर्छ । साहु महर्जनहरुले सोझा जनताको हडपिएको जग्गा सम्पत्ति फुकुवा होस् र अदालती प्रक्रियामा एकलौटी भएको फैसलामा विचार गर्नुपर्ने उनले बताए ।
लघुवित्त खारेज गर्नुपर्ने माग मुख्य भए पनि त्यो गर्न नसके एक अंकमा व्याजदर कायम गर्नुपर्ने, शोषण र पीडितलाईप्रताणित गर्नबाट रोकिनुपर्ने उनीहरुको माग छ । पीडितहरुले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या तथा ज्यान गुमाएको, ऋण तिर्दा समेत बैंकहरुले कालोसूचीमा राखेको बताए ।
लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पीडितहरुले गुनासो गरे ।
भैरहवाको नगर परिक्रमा गरि विरोध प्रदर्शन सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाउँदै कोणसभामा परिणत भएको थियो ।




