भैरहवा । सरकारी सरह तलब सुविधासहितका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नर्स र निजी अस्पताल प्रतिनिधिबिच सहमति भएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार शनिबार साँझ २३ बुँदे सहमति भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो ।
डा. बुढाथोकीका अनुसार निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्णरूपमा सरकारी पाँचौं तह अर्थात् ३४,७३० रुपैयाँ तलब दिने सहमति भएको छ । अन्य निजी अस्पतालहरूले भने हाललाई २७ हजार ७८४ तलब दिने र एक महिनाभित्र अस्पतालको वर्णीकरण गर्दै सरकारी सरह नै पु¥याउने सहमति भएको डा. बुढाथोकीले बताए ।
तर सहमतिमा पाँचौं तह सरह नै सेवा सुविधा नभएको भन्दै कार्यदलका सहभागी नर्स ज्योति रानाभाटले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेकी छिन् ।
केन्द्रमा भएको सहमतिअनुसार भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले पनि नर्स र पारामेडिक्सका माग पूरा गर्न सहमत भएको छ । सहमति भएसँगै आन्दोलन स्थगित भई सेवा सुचारु भएको छ । यहाँ कार्तिक २ गतेदेखि नर्सहरु आन्दोलित रहेका थिए ।
सम्पूर्ण सेवा अवरुद्ध गरी विभिन्न १२ बँुदे मागसहित आन्दोलनमा उत्रेका उनीहरुको माग सम्बोधन भएपछि आइतबारबाट सेवा पूर्णरुपले सुचारु भएको छ ।
युनिभर्सल मेडिकल कलेजका २ सय २० जना कर्मचारी आन्दोलित बनेपछि इमरजेन्सीसहितको सबै सेवा अवरुद्ध हुन पुगेको थियो । युनिभर्सल मेडिकल कलेजका प्रमुख वित्तीय अधिकृत सुरज पौडेलले सरकार र देशव्यापी आन्दोलित नर्सहरुबिचको सहमतिले सबै माग सम्बोधन भएको जानकारी दिए ।




