बुटवल
रुपन्देहीमा उत्पादन भएको नेपाली फ्रेन्च फ्राइज पहिलो पटक अमेरिका निर्यात सुरु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका मैनहियामा पाँच वर्षअघि स्थापना भएको फस्ट च्वाइस फुड्सले यसअघि नेपाली बजारसँगै भारतमा पनि निर्यात गर्दै आइरहेकोमा पहिलोपटक तेस्रो मुलुकमा निर्यात थालेको हो ।
मंगलबार भैरहवा भन्सार कार्यालयबाट दुई वटा कन्टेनरमा २१-२१ टनका दरले ४२ मेट्रिक टन फ्रेन्च फ्राइज कोलकत्ता बन्दगाहका लागि छुटेको छ । ३८ हजार ४ सय ८० अमेरिकी डलर बराबरको उक्त फ्रेन्च फ्राइज अमेरिकी आयातकर्ता एलएलसीलाई पठाइएको हो । भारतबाट आएको रेफ्रिजे्रटेड कन्टेनरले कम्पनीबाट वातानुकुलित अवस्थामा सो सामान कोलकाता बन्दगाहसम्म लैजाने छ । कोलकत्ताबाट पानी जहाजमा फ्रेन्च फ्राइजअमेरिका पुग्नेछ ।
हिमालयन क्रिस्प र हाम्रो फ्राइज ब्रान्डका फ्रेन्च फ्राइज निर्यात भएको उद्योगका सञ्चालक कृष्ण पौडेलले बताए । उनका अनुसार कोलकत्ताबाट कन्टेनरमा ५० दिनमा फ्रेन्च फ्राइज अमेरिका पुग्नेछ ।
अमेरिकामा निर्यात हुनुअघि अमेरिकाको सम्बन्धित निकायले नेपाली आलुबाट बनेको फ्रेन्च फ्राइजको गुणस्तर चेकजाँच गरी निर्यातको अनुमति दिएको सञ्चालक पौडेलले बताए ।
अब हरेक हप्ता अमेरिकाका लागि भैरहवा भन्सारबाट फ्रेन्च फ्राइज निर्यात हुने उनले बताए । ‘अमेरिकासँगै बेलायतलगायतका मुलुकबाट पनि अर्डर आएको छ, भारत र नेपाली बजारमा समेत खपत भइरहेकाले माग अनुसार उत्पादन पु¥याउन सकेका छैनौं,’ पौडेलले भने–‘नेपालमा खपत हुने फ्रेन्च फ्राई विदेशबाट आयात हुने गरेको थियो, अब ७५ प्रतिशत आयात विस्थापित भइसकेको छ, एक वर्षभित्रै पूरै आयात विस्थापन गर्ने लक्ष्य छ ।’
अमेरिका निर्यात जीवनको सबैभन्दा खुशी
नेपाली फ्रेन्चफ्राइज अमेरिका निर्यात गर्न पाउँदा आफूलाई अहिलेसम्मको व्यवसायिक जीवनमा सबैभन्दा खुशी मिलेको पौडेलले बताए । नेपाली उत्पादनलाई विश्व शक्ति राष्ट्र अमेरिकाले आयात गर्नु चानचुने विषय नभएको पौडेल बताउँछन् । रुपन्देहीको फ्रेन्च फ्राइज अमेरिका निर्यातले नेपालका उद्योगीहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तु उत्पादन गर्न सक्षम छन् भन्ने प्रेरणा र सन्देश देशभरका उद्योगीलाई दिएको पौडेलले बताए ।
हालसम्म भैरहवा भन्सारबाट तेस्रो मुलुकमा निर्यात नभइरहेको अवस्थामा भैरहवा भन्सार प्रमुख न्यौपानेले दुई हप्ता बढी लागेर भन्सार विभागसँग समन्वय गरी प्रशासनिक प्रकृया पूरा गरेर उद्योगलाई निर्यातका लागि सहज वातावरण बनाइदिएकोप्रति धन्यवाद दिए । सरकारी निकायका कार्यालय प्रमुखहरु स्वदेशी उद्योगमैत्री हुने हो भने काम गर्न हौसला मिल्ने पौडेलले बताए ।
‘नेपाल सरकारलाई विनम्र अनुरोध छ कि हाम्रो उद्योगलाई कुनै अनुदानचाहिँदैन,’ पौडेल भन्छन्–‘उद्योगसँग जोडिएका ३५ हजार किसानहरुलाई बिउ, मल, सिँचाइको व्यवस्था, विषादी, कृषि अनुदानको योजना तथा प्राविधिक सहयोग गरिदिनुहोस् ।’
आफ्नो उद्योगले भविष्यमा थप हजारौं किसानलाई आलु खेतीमा लाग्न प्रेरित गर्ने संभावना रहेको समेत पौडेलले बताए । उद्योगको नारा नै ‘किसानको पौरख, हाम्रो गौरव’ छ ।
दुई अर्ब लगानी भएको उद्योगले नेपालका २६ जिल्लाका करिब ३५ हजार किसानलाई आलु उत्पादनमा जोडेर उनीहरुबाट खरिद गरेको आलु प्रशोधन गरी उद्योगले फ्रेन्च फ्राइज लगायत परिकार उत्पादन गरिरहेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले पहिलोपटक नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको र यसबाट ४० हजार अमेरिकी डलर नेपाललाई प्राप्त भएको बताए । नेपालले ठूलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा स्वदेशी कच्चा पदार्थबाट उत्पादित फ्रेन्च फ्राइजको निर्यातले थोरै भएपनि व्यापार घाटा कम गराउन योगदान पु¥याउने बताए ।
युरोपियन प्रविधिमा आधारित आलु प्रशोधन उद्योगबाट फ्रेन्च फ्राइजसँगै अब केही महिनाभित्रै आलु टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउनलगायत परिकार उत्पादन सुरु हुने पौडेलले बताए ।
‘हिमालयन र हाम्रो फ्राइज ब्रान्डमार्फत् नेपालको स्वादलाई विश्वमा पु¥याउन सफल भएका छौं,’ पौडेलले भने–‘अमेरिकाको एफडीएमा दर्ता भएर छोटो समयमै भारतसँगै अमेरिका निर्यात गरिरहेका छौँ, अब दुबई, मलेसिया, साउदी अरेबियाजस्ता मुलुकहरुमा पनि निर्यात गर्ने तयारीमा छौँ ।’
करिब ५ बिघा क्षेत्रफलमा ६० हजार स्क्वायर फिटमा फैलिएको उद्योगले विश्वस्तरीय फ्रोजन पोटाटो प्रोडक्ट र फ्रेन्च फ्राइ उत्पादन संसारका जुनसुकै ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको पौडेलको दाबी छ । कम्पनीले तराई, पहाड र हिमाली क्षेत्रमा प्रशोधनयोग्य आलुको अनुसन्धानको लागि करोडौँ रकम खर्च गरिसकेको जनाएको छ ।
वार्षिक ४० हजार मेट्रिक टन आलु खरिद लक्ष्य
कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोकलगायत २६ जिल्लामा सफल परीक्षण गरी ३५ हजार किसानहरुमार्फत् आलु उत्पादन गरिरहेको उनले बताए । काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगञ्जजस्ता मुख्य शहरहरुमा ५ वटा वितरक, १२ चेन रेष्टुरेण्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेष्टुरेण्ट, १७१ मोडर्न मार्टमार्फत् उपभोक्तामाझ आफ्नो उत्पादन पु¥याएको बताएका छन् । उद्योगले नेपालका किसानहरुलाई आत्मनिर्भर बनाउँदै नेपालमा नै उत्पादन भएको प्रशोधनयोग्य आलु प्राथमिकताका आधारमा खरिद गर्ने उद्योगले उद्देश्य लिएको बताए । उद्योगले किसानबाट वार्षिक ४० हजार मेट्रिक टन आलु खरिद गरी प्रशोधन गरी विभिन्न परिकार बनाउने लक्ष्य लिएको छ ।
फस्र्ट च्वाइस फुड्सले फ्रेन्चफ्राइका लागि नेदरल्याण्डबाट उन्नत जातको बीउ ल्याएर किसानलाई वितरण गरेको छ । उद्योगलाई चाहिने आलु नेपालमै उत्पादन भएको र उद्योग पूर्णरुपमा सञ्चालन गर्न नेपालमै उत्पादित आलुले पुग्ने पौडेल बताउँछन् । नेपालमा मौसम फरक भएकाले आलुको उत्पादन राम्रो भएको छ । आलु उत्पादनका लागि नेपाल सरकारका पूर्वसचिव डा. श्यामप्रसाद ढकाल जोडिएका छन् । उद्योगले जर्मनी, टर्की र जापानबाट विभिन्न प्रविधि भित्राएको छ । जुन प्रविधिबाट एक घण्टामा २ टन बढी आलु प्रशोधन गर्न सक्छ ।
कम्पनीले फ्रेन्च फ्राइसँगै, क्रिनिकल कट, स्माइलस्, हास ब्राउन, स्मोकी बाइटस्, आलु टिक्का, भेज स्टिक, पोटेटो वेजेस, भेज बर्गर प्याटीलगायतका उत्पादन गर्दै आएको छ ।
उद्योगले वार्षिक ५ अर्बको फ्रेन्च फ्राई उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल नेपालमा भारत, बेल्जियम र अन्य केही मुलुकबाट आलुका परिकार मात्रै वार्षिक १५ अर्ब रुपैयाँको आयात हुने गरेको तथ्यांक छ । फ्रेन्च फ्राइ माइनस १८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । तापक्रम कायम गरे यो फ्रेन्च फ्राइज १८ महिनासम्म उपभोग गर्न सकिन्छ । नेपाली बजारमा पनि माग उच्च रहेकाले उत्पादन खपतको समस्या नभएको कम्पनीले जानकारी दिएको छ । उद्योग दैनिक १० घन्टा सञ्चालन हुँदा वार्षिक ४० हजार टन आलु आवश्यक पर्छ । यो आवश्यकता पूरा गर्न उद्योगले आलु उत्पादनमा पनि लगानी गरेको छ । कृषि क्षेत्रका जानकारहरु धेरैले कृष्ण पौडेलको यो उद्यमलाई आलुमा क्रान्ति नै भन्ने गरेका छन् । उद्योग स्थापनाले हजारौं किसान आलु खेतीमा लाग्नु आलु क्रान्ति नै भएको उनीहरुको तर्क छ ।
क्वालिटी मिट सपबाट व्यवसाय सुरु
गुल्मीबाट बुटवल झरेका पौडेलले बुटवलमा क्वालिटी मिट सपबाट व्यवसाय सुरु गरेका थिए । २०६४ मा मासु पसललाई विस्तार गर्दै बुटवल बदेलपोखरीमा मासु प्रशोधन उद्योग बनाए । उक्त उद्योगको उत्पादन काठमाडौंसहित प्रमुख शहरमा खपत भइरहेको छ । आफ्नै उद्योगको मासुका परिकारको व्यापार गर्दा पौडेलले भारतको एक फ्रेन्च फ्राइ कम्पनीको आधिकारिक बिक्रेताको पनि अनुभव लिएका थिए । त्यसको अनुभवपछि आयात प्रतिस्थापन गर्ने उद्देश्यले नेपालमै उद्योग खोलेका हुन् ।




