पाल्पा
पाल्पाको सत्यवतीमा चिच्चाएर बर माग्ने धार्मिक मेला लागेको छ । सत्यवती बजैले कान नसुन्ने भएकोले चिच्चाएर बरदान माग्नु परेको बुढापाकाको भनाइ रहेको छ । सत्यवती बजैसँग चिच्चाएर मागेको बरदान पूरा हुने भन्दै निकै टाढा–टाढाबाट भक्तजनहरु मन्दिरमा पुग्ने गरेका छन् । सत्यवती बजैसँग रातिमा मात्र चिच्चाएर बरदान माग्ने प्रचलनलाई आजकल दिउँसोमा पनि माग्ने गरिएको छ ।
सत्यवती मन्दिरको किनारमा ताल रहेकोले भक्तजनहरुले तालको वरिपरि घुम्दै चिच्चाएर बरदान माग्ने गर्दछन् ।
सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुरदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बाँसको लिङ्गो गाडी चिच्चाएर बरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचलन रहँदै आएको छ ।
तर केही वर्षदेखि कार्तिक शुक्ल एकादशी हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म दिनरात मेला लाग्दै आएको छ । सत्यवती बज्यै धार्मिक मेलामा करिब तीन लाख भक्तजनहरु आइ चिच्चाएर बर मागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।
भक्तजनले मागेका कुराहरु सत्यवती बजैले पूरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने, त्यत्तिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ ।
सत्यवती मन्दिरमा चिच्चाएर बरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउलगायतका क्षेत्रबाट भक्तजनको ओइरो नै लाग्ने गरेको छ ।
सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडक खण्डको झुम्सा पानी मिलबाट करिब १ घण्टाको उकालो पैदल दुरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । सत्यवती बजैको मन्दिर पुग्ने भक्तजनहरुको भिडभाडले पाल्पा–बुटवल सडक खण्डको झम्सा क्षेत्रमा दुई दिनसम्म ५ घण्टासम्म सडक जाम भएको भक्तजनहरुले बताएका छन् ।
परम्पराकालमा रातिमा मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै आजकल दिउँसो र राति दुवै समयमा पूजाआजा गर्ने र बर माग्ने प्रचलन सुरु भएको हो ।




