मुलुकमा माटोको उर्वरा शक्ति बर्सेनी क्षयीकरण हुँदै गएकाले कृषि उत्पादनमा गम्भीर संकटको सम्भावना नजिकै छ । रासायनिक मलको अत्यधिक प्रयोग, पोटास तत्वमा निरन्तरको कमी आदि कारणले उर्वरा शक्ति घट्दै गएको तथ्य सार्वजनिक भएपछि उर्वराशक्ति बढाउन चाल्नुपर्ने कदमप्रति सरकार मौन देखिन्छ । योजना निर्माण र कार्यान्वयनका पाइला सुस्त छन् ।
कृषि विभागले ३० हजार नमूना परीक्षण गर्दा ४५ प्रतिशत माटो मात्रै तटस्थ प्रकृतिको पाइएको छ । नेपालमा खेतीयोग्य जमिन २९ लाख हेक्टर छ । कृषि विभागका अनुसार खेतीयोग्य जमिनको ५५ प्रतिशत माटो अम्लीय प्रकृतिको छ । पाँच प्रतिशत क्षारीय र ४० प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुन्छ । उत्पादनका लागि माटोको गुणस्तर उपयुक्त नभेटिनुले राम्रो संकेत गरेको छैन । माटोको गुणस्तर खस्कदा त्यसको असर समग्र कृषि क्षेत्रमा परेको छ । कृषि उत्पादन बढाउन पहिलो शर्त माटोको गुणस्तर हो । गुणस्तरीय माटोले मात्रै कृषि उत्पादन बढाउँछ । माटोको गुणस्तर खस्कनुको कारण मनपरी रासायनिक मलको प्रयोग हो ।
विभागका अनुसार मुलुकमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून छ । ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको छ । फस्फोरस तत्व भने तुलनात्मक रूपमा राम्रो पाइएको छ । जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ । पोटास तत्वको मात्रा भने तीव्र गतिमा घटिरहेको छ । जसमध्ये ५० प्रतिशतमा न्यून, २६ प्रतिशत मध्यम र २४ प्रतिशतमा अधिक पाइएको छ । बालीबिरुवाका लागि आवश्यक हुने सूक्ष्म खाद्य तत्वहरू जिंक र बोरनको मात्रा पनि न्यून देखिएकाले कृषि विज्ञहरु निराश बनेका छन् ।
माटोको उर्भराशक्ति बचाउन मनपरी रासायनिक मलको प्रयोग रोक्न किसानलाई जागरूक बनाउन बेवास्ता छ । माटो बिग्रियो भन्न थालेको धेरै वर्ष भयो, तर अब के गर्ने भन्ने अलमल छ । मनपरी रासायनिक मलको प्रयोग हानिकारक छ भन्ने सन्देश दिँदै गर्दा किसानलाई अनुदानमा प्रांगारिक मल दिने र प्रांगारिक मल प्रयोग बढाउन सक्दा राम्रो नतिजा निस्कन सक्छ । माटोको उर्वराशक्ति कम हुँदै जाँदा खाद्य सुरक्षामा गम्भीर चुनौती देखापरेका छन् । अब माटोको उर्वराशक्ति बढाउन तहगत सरकारले समन्वयात्मक ढंगले काम गर्नुपर्छ ।




