२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पार्टी एकता केका लागि ?

पार्टी एकता केका लागि ?

पार्टी एकता केका लागि ?

पार्टी एकता केका लागि ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • नेपालमा फेरि वाम–कम्युनिष्ट पार्टीहरुबिचको एकीकरण वा एकताको चर्चा हुन थालेको छ । यो पार्टी एकीकरण वा एकता यहाँको लागि कुनै नौलो कुरा भने होइन । यसभन्दा पहिले पनि यस्ता एकता हुने गरेको थियो । यस्ता एकता पछि फेरि फुट पनि हुँदै आएको छ । पार्टी एकता अनि फुट नेपाली वाम आन्दोलनको एउटा हास्यस्पद मजाक नै बनिसकेको छ । त्यस्तै अहिले अझ बढी मजाक पार्टी एकीकरणको साथसाथै पार्टी फुट पनि भएको छ । कमसेकम यसभन्दा पहिले पार्टी एकीकरण भएको एकआध वर्ष वा  महिनापछि मात्र यस्तो फुट हुने गरेको थियो । तर अहिले एकातिर पार्टी एकीकरण अनि अर्काेतिर साथमा फेरि पार्टी फुट । 


    हालै नेकपा (मा.के) र नेकपा एकीकृत (समाजवादी) बिच अर्थात् प्रचण्ड नेतृत्व (मा.के.) र माधव नेतृत्वको (एस) बिच पार्टी एकीकरण यही कात्तिक २० गते सम्पन्न भएको छ । तर यसको साथसाथै मा.के. पार्टीमा जनार्दन, राम कार्कीको नेतृत्वमा अर्काे कम्युनिष्ट पार्टी निर्माणका लागि एउटा छुट्टै अभियानको थालनी भइसकेको छ । त्यस्तै एसमा घनश्याम आदिको नेतृत्वमा पार्टी पुनर्निर्माणको प्रयास भएको छ । त्यसैले यी दुवै पार्टी र यसका नेताहरुको यो रमिताले तल्ला नेता–कार्यकर्ताहरु रनभुल्लमा परिरहेका छन् । यी दुवै दलहरुले आआफ्नो  वास्तविक चरित्र उदाङ्गो पारेका छन् । गर्नेलाई भन्दा बाहिर यो देख्नेलाई लाज भएको छ । आम जनताका अगाडि नेपालका कम्युनिष्ट भनेकै यस्तै भाग पाएजस्तो भए पनि मिल्ने नपाए फेरि तुरुन्त विभाजित भइहाल्ने । लाज मर्दाे उदाहरण देखाएका छन् ।


    अहिले जुन कम्युनिष्ट पार्टी एकता र फुटको कुरा भइसकेको छ । सर्वप्रथम यी कुनै पनि सच्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नै होइन । यस अर्थमा यी नेताहरु पनि सच्चा कम्युनिष्ट नेता पनि होइन । यी सबै अवसरवादी पार्टी अनि यी सबै अवसरवादी नेता हुन् । अवसरवादीहरुले जहिले पनि फाइदाको अवसर खोजिरहनु स्वाभाविक छ । यस्ता अवसरवादीहरुका लागि पार्टीको नीति सिद्धान्त र उद्देश्य प्रमुख हुँदैन । खाली उनीहरुका लागि व्यक्तिगत स्वार्थ र हित नै प्रमुख बन्छ । ताक परे तिवारी नत्र गोतामे अर्थात् कुरामा कम्युनिष्ट तर व्यवहारमा सामन्ती, दलाल र बुर्जुवा अवसरवादी । त्यसैले यिनीहरुले यो चरित्र र व्यवहार हेरेर अरु सच्चा कम्युनिष्ट पार्टी  र नेता कार्यकर्ताप्रति पनि एकमुष्ठ यसरी नै भन्नु जायज हुँदैन । हो, अहिले नेपालमा त्यस्तो सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको अभाव छ । कम्युनिष्टको नाममा यिनै अवसरवादी पार्टीहरुकै बिगबिगी छ । तर पनि केही सच्चा क्रान्तिकारी नेता कार्यकर्ताहरुले भने यी सबै अवसरवादी पार्टीहरुको विरोध भण्डाफोर निन्दा र घृणा गर्दै त्यस्तो क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्निर्माणको प्रयास भइ नै रहेको छ । 


    वर्तमान जेनजी विद्रोहले यी पार्टी सबैैको पोल खोलिसकेको छ । यी सबैका पार्टी कार्यालय र घर बंगाल सबैमा आगलागी भइसकेको छ । अचम्म सर्वहारा कम्युनिष्ट पार्टी कार्यालय भन्ने तर आलीशान महल दरबार । सर्वहारा कम्युनिष्ट नेता कार्यकर्ता भन्ने तर घर बंगाल सबै आलीशान दरबार महल जस्तै । व्यक्तिगत सबैको लबाई, खुवाई, हिंडाई सबै सामन्ती, पुँजीपति दलालहरुकै जस्तो अनि त जनताले गर्दैन यी सबैलाई आक्रमण । बरु जेनजीहरुले गर्नुपर्ने के थियो भने यस्ता सामन्ती, दलाल र बुर्जुवा कम्युनिष्ट भनिएकाहरुका यी सब पार्टी कार्यालय, घर बंगाल अनि सम्पत्ति आगजनी नगरी जफत गरी देशका आम गास, बास, कपास विहीन सर्वहारा सुकुम्बासी गरिब किसान मजदूरहरुलाई बाँडिदिनु पर्दथ्यो । जग्गा कसको जोत्नेको घर कसको लिपपोत गर्नेको भन्ने कम्युनिष्ट सुकुम्बासी सर्वहारा किसान मजदूरहरुकोे मूल क्रान्तिको नारा हो । त्यसैले एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको पहिलो काम भनेकै कम्युनिष्टको नाममा भएका यी पार्टी र नेताहरुकै सम्पत्ति खोसी जनतालाई वितरण गर्ने हो ।
    एकता र मिलान उपयुक्त र स्वागत तर फुट विभाजनलाई नकारात्मक ठान्ने र मान्ने मानवीय स्वभाव हो । त्यही  अनुरुप प्रचण्ड–माधवबिचको यो पार्टी एकीकरणलाई धेरै जसोले राम्रै मानेको हुन सक्छन् । तर यो पार्टी एकता आज किन र केका लागि ? पहिलो कुरा त यो एकतामाथि भने जस्तै चरम अवसरवादी मात्रै होइन राष्ट्रघाती जनघाती र धोकेवाज साथै  भ्रष्टचारी दलालहरुबिचको एकता हो । पुरानो इतिहास साक्षी छ । राष्ट्रघाती टनकपुर महाकाली सन्धि सम्झौता पारित गराउनेमा मुख्य भूमिका तत्कालीन एमाले नेता माधवकुमार नेपालको थियो । अनि देशघाती अमेरिकी परियोजना एमसीसी सदनबाट पारित गराउन पनि यिनै दुई प्रचण्ड अनि माधव नै हुन् । आज यी दुवै एमाले नेता ओलीविरुद्ध जतिसुकै कुर्लदै हिंडे पनि राष्ट्रघातीहरुको मामिलामा यी सबै एक छन् । यसरी यस्ता राष्ट्रघातीहरुको यो एकताले देशको राष्ट्रियताका लागि बल पुग्ने देखिदैन । उल्टै राष्ट्रघात नै बढी हुनेछ ।


    कम्युनिष्ट आन्दोलन र विकासमा पनि यी दुवैको गद्दारी चरममा छ । १० वर्षे माओवादी जनयुद्धको नै गला रेट्ने काम यी दुवै प्रचण्ड–माधवबाट भएको छ । यसमा प्रमुख भूमिका प्रचण्डको भए  पनि सहायक र सहयोगी भूमिका तत्कालीन एमाले महासचिव भएका नाताले माधवकुमारको पनि छ ।  १२ बुँदे दिल्ली समझदारीका प्रमुख हस्ताक्षरकर्ता यी दुवै हुन् ।
     अब फेरि यी दुईबाट क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको विकास र प्रगति खोज्नु र गर्नु भनेको दिउँसै सपना देख्नु जस्तै हो ।

    आन्दोलन, विद्रोह र क्रान्तिदेखि यी दुवै मात्र होइन अझ एमाले ओली मसाल मोहन विक्रम, चित्रबहादुर आदि जोसुकै अवसरवादी होउन सबैका लागि अगुल्टाले हानेको कुकुर बिजुलीदेखि पनि तर्सन्छ भने जस्तो भइरहेको छ । त्यही भएर यिनीहरु सबले शान्तिपूर्ण संसदीय र चुनावी समन्वयकारी मेलमिलापको राजनीति गर्ने भनिरहेका छन् । वर्तमान चालु यो प्रतिक्रियावादी राज्य सत्ताअन्तर्गत अहिले पनि शान्तिपूर्ण भने पनि आखिर हुन्छ हिंसात्मक नै । उदाहरण हालै भएको जेनजी विद्रोहको छ । वर्गीय समाजमा यस प्रकारको शान्तिपूर्ण र समन्वयकारी शान्तिपूर्ण मात्र संघर्ष सम्बन्ध छैन । वर्ग संघर्र्षको चरम उत्सर्ग विद्रोह नै हो ।
    यो प्रचण्ड माधव नेतृत्वबिचको यो कथित  १० दलीय वाम एकता सारमाभन्दा संसदीय चुनावी एकता नै हो । मिसन आगामी  गर्ने भनिएको संसदीय निर्वाचन नै हो । कांग्रेस–एमालेलाई देखाउने जेनजीहरुलाई तितरवितर पार्ने अनि जसरी हुन्छ सत्तामा पुग्ने निहीत स्वार्थमा केन्द्रित छ, यो एकता । प्रचण्डले यो एकता समारोहमा पटकपटक भनिरहे अबको पहिलो ठूलो दल नेकपा नै हो । तर वास्तवमा यो के हो ? आगामी दिनमा देखिनेछ । एमाले–माओवादी केन्द्रबिचको पहिलो पार्टी एकता र त्यसको चुनावी परिणामपछि पनि यस्तै दम्भ र हुंकार ओली प्रचण्डको थियो । तर यो एक डेढ वर्षपछि नै धुजा धुजा भयो । अन्तिममा सबै जहाँको तही । ठीक यस्तै अब पनि यो कथित पार्टी एकतामा हुने सम्भावनालाई नकार्न सकिंदैन । किनकि अहिले पनि यो सरकार र संसद विघटनकाविरुद्ध सर्वाेच्चमा बहस पौरवी भइरहेको छ । कुनै कारण फेरि संसदको पुनस्र्थापना भएमा यी अवसरवादी दलाल प्रचण्ड–माधव–झलनाथहरुको यो दम्भ र हुँकार त्यत्तिकै खेर जानेछ । पुरेतका दानका गाई जस्तै सबै तितरवितर जहाँको तही । यो अहिले कुनै कारण नभए पनि आगामी संसदीय निर्वाचनपछि यस्तै हुने निश्चित नै छ ।


    अन्त्यमा वाम कम्युनिष्ट एकता आजको आवश्यकता हो । तर यस्तो अवसरवादी एकता भने होइन । सच्चा माक्र्सवादी, लेनिनवादी र माओवादी क्रान्तिकारी पार्टी समूह र केन्द्रहरुबिचको पार्टी एकता यसरी एउटा हचुवाको भरमा हुँदैन । खाली आ–आफ्नो पद, प्रतिष्ठा र कुर्सी अनि अस्तित्व रक्षका खातिर गरिने यस प्रकारको पार्टी एकताले देश र जनताको हित मुक्ति सम्भव छैन । यस्तो एकता अस्थिर र क्षणिक मात्र हुन्छ । खास क्रान्तिकारी पार्टी एकता एउटा खास विचार–सिद्धान्त र राजनीतिमा आधारित हुन्छ । हालका क्रान्तिकारी कम्युनिष्टहरुको मूल विचार र सिद्धान्त मालेमावाद हो । यसको निम्नतम कार्यक्रम नयाँ जनवाद हो भने अधिकतम कार्यक्रम समाजवाद–साम्यवाद हो । देशको राष्ट्रियता र स्वाभिमानको रक्षा र सम्र्वद्धन अनि जनवाद र जनजीविका यसको तत्कालीन नीति कार्यक्रम हो । पार्टी एकता यसैमा आधारित छ । यो यही संघर्षको मैदानबाट मात्र सम्भव छ । पार्टी एकता एकताका लागि मात्र नभएर देश र जनताको मुक्ति र क्रान्तिका लागि एकता हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij