पाल्पा
कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुङ्गाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । अर्सेदी मालुङ्गा संगमस्थलम कालीगण्डकी नदी उत्तर दिशातर्फ बगेको लामो दुरी मानिन्छ । गण्डकीको उत्तरबाहिनी क्षेत्र प्रचार प्रसार तथा महत्व बुझाउन गण्डकीको किनारामा उत्तर गण्डकी महामेला तथा दामोदर धर्मोत्सव गरिएको छ ।
हिन्दु धर्ममा उत्तरबाहिनी गण्डकीको विशेष महत्व रहेको छ । उत्तरबाहिनी गण्डकीमा स्नान, श्राद्ध, तर्पण, ज्ञान महायज्ञ, दान जस्ता कार्यहरु निकै पवित्र मानिन्छ । उत्तरबाहिनी गण्डकीको महत्वको बारे देश विदेशमा प्रचार प्रसार गर्न कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले, स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा र रम्भा गाउँपालिका–१ हुगी अर्सेदीको संगमस्थल कालीगण्डकीको तिरमा एक महिने उत्तर गण्डकी महामेला गरेको छ । असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म भएको महामेला धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्धनका लागि महत्वपूर्ण मानिएको छ । महामेलाले कालीगण्डकीलाई विश्वभरका श्रद्धालुका लागि आस्थाको केन्द्रका रूपमा परिचित गराएको छ । शालिग्रामको उत्पत्तिस्थल र भगवान विष्णुको प्रतीक माने जाने कालीगण्डकी नदीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वलाई उजागर गर्दै, उत्तरबाहिनी क्षेत्रमा धार्मिक पर्यटन विकासको नयाँ बाटो खोलेको महामेलामा सहभागी नारायण दास नागा (बुलेट बाबा) ले बताए ।
संगमस्थलको विकास तथा प्रचारप्रसारको लागि आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णको नेतृत्वमा २०७२ सालदेखि कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको माध्यमबाट पूर्वाधार निर्माणसँगै उत्तरबाहिनीको धार्मिक महत्वको विषयमा लुम्बिनी र गण्डकी प्रदेशसँगै जोडिएका पालिकाबाट विविध प्रकृतिका कामहरु हुँदै आएका छन् । अहिले उत्तरबाहिनी क्षेत्रमा १०८ गंगा धाराबाट नुहाउने, १०८ पिपल तथा शिवलिङ्ग पूजा, प्राकृतिक उपचार केन्द्र, गुरुकुलम जस्ता पूर्वाधार निर्माण गरी सञ्चालनमा आएका छन् ।
हिन्दू धर्मशास्त्र अनुसार, कालीगण्डकी नदीमा स्नान र भगवानको दर्शन गर्नाले पापकर्म नाश हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । कालीगण्डकीको अर्सेदी मालुङ्गा संगमस्थल उत्तरबाहिनी क्षेत्रमा मार्कण्डेय ऋषिले तपस्या गरेको र शिवको महालिङ्ग भएकोले उत्तरबाहिनीको अझ बढी महत्व बढेको छ । कालीगण्डकीको किनारमा पाइने शालिग्राम पत्थरहरूलाई भगवान विष्णुको प्रत्यक्ष स्वरूपमा पुज्ने परम्परा रहेको पाइन्छ ।
महामेलामा पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँलगायतका क्षेत्रका साथै भारत र नेपालका विभिन्न तीर्थस्थलका धर्मगुरु, साधु–सन्त, वैदिक आचार्य र ३ लाख बढी भक्तजनहरूको सहभागिताले उत्तरबाहिनी गण्डकीको महत्व बढेको छ । धार्मिक महोत्सवमा २ करोड रुपैयाँभन्दा आर्थिक संकलन भएको छ । धार्मिक महामेलामा सहभागी धर्मगुरु साधु सन्त तथा आचार्यहरुले उत्तर गण्डकी क्षेत्रलाई ‘आध्यात्मिक ज्ञानको पवित्र भूमि’का रूपमा विश्वव्यापी रुपमा फैलाउनु पर्नेमा जोड दिए । महामेलामा १०८ गंगा जलबाट नुहाउने व्यवस्था, दैनिक पूजा पाठ, ध्यान साधना, वैदिक अनुष्ठान, सवालाख शालिग्राम पूजा, १०८ शिवलिङ्ग पूजा, गङ्गा आरती, प्रवचन, विश्वकै ठूलो शंखको अवलोकन तथा विशाल शिव मूर्ति दर्शन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन भए । धार्मिक महामेलाले धार्मिक पर्यटनमार्फत् गाउँस्तरमै रोजगारी र आम्दानीको नयाँ सम्भावना बढ्दै गएको देखिन्छ ।
आगामी वर्षहरूमा उत्तरबाहिनी कालीगण्डकी क्षेत्रको महत्व बढाउँदै लैजाउने शालिग्रामको महत्वलाई विश्व व्यापी बनाउने–कालीगण्डकीलाई धार्मिक नदीको रुपमा परिचित बनाउने, तीर्थ सर्किटका रूपमा विकास गर्ने योजना बनाइएको छ । उत्तरबाहिनी क्षेत्रमा नदीमै, स्नान गृह, स्थायी ध्यान–साधना केन्द्र, धर्मशाला, गुरुकुलम, व्यवस्थित प्राकृतिक चिकित्सालय, सरसफाइ, बाटोघाटो र तिर्थयात्रीका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उत्तर गण्डकी महामेलाका सचिव कृष्णप्रसाद रेग्मीले बताए ।
कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठाने अर्सेदी र मालुङ्गाको संगम स्थल कालीगण्डकी उत्तरबाहिनी क्षेत्रमा विश्व व्यापी रुपमा प्रचारप्रसार गर्न २०७२ सालदेखि निरन्तर काम गर्दै आएको छ । यस्ता धार्मिक आयोजनाहरूले उत्तरबाहिनी काली गण्डकीलाई ‘नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न ठुलो मद्दत मिलेको छ ।




