तुल्सीराम पाण्डे
नेपाली समाजमा भित्रिएको स्वतन्त्रता र आधुनिक जीवनशैलीले गर्दा वृद्ध भएका बा.आमा र बुढा बा. बुढी आमाहरुको व्यवस्थापन कठिन बन्दै गइरहेको छ । पहिलेका सबै मानिसहरु संयुक्त परिवारमा बस्थे । बाले कारोबार र आमाले घरबार चलाउनुहुन्थ्यो । परिवारमा मिलेमतो र सरसल्लाह हुन्थ्यो । बुढाबुढी भएको घर इज्जतदार मानिन्थ्यो । पाहुना र आफन्तहरु बुढो घर खोज्दै आउँथे । अंश लगाउँदा बुढाबुढीलाई जीउनी राख्थे । त्यही जीउनी खान पाउने लोभले बाउआमा पाल्न हानथाप गर्थे । धेरै बुढाबुढीहरुले कान्छालाई रोज्थे । अंश पनि कान्छाले नै रोज्न पाउँथे । बुढाबुढीहरुसँगै हुनुका केही राम्रा र केही नराम्रा पक्षहरु पनि छन् । राम्रा पक्षहरुमा घरको काम गरिदिने । सम्पत्ति र लहना पाइने । आशिष पाइने, पेन्सन भएमा खान पाइने । केटाकेटी हुर्काउन सजिलो हुने । कमाउन र व्यापार गर्न जान पाइने । कोसेली र पाहुर खान पाइने । नराम्रा पक्षहरुमा बुढाबुढीहरुले समयअनुसार चाल चलन फेरिएको नरुचाउने । सबैलाई आफूले गरेको दुःखहरु सुनाइ रहने । बुहारीलाई सधँै हेप्ने । छोरानातिलाई पनि यो भएन त्यो भएन भनेर कचकच गरिरहने । चेलीबेटीलाई कोसेली दिनुपर्ने । बिरामी र अपाङ्ग भएमा उपचार र सुसार गरिरहनु पर्ने । बिर्सने रोग लाग्ने र केटाकेटी जस्तो व्यवहार गरे पनि जवाफ फर्काउन नपाइने । छोरालाई ऋण लागेको भए पनि छोरीलाइ लुकाएर कोसेली र पेवा दिने ।
पहिला दाजुभाइ र पञ्चहरु बसेर अंश लाइदिन्थे । जीउनी छुट्याएपछि मात्र भाइ अंश लाग्थ्यो । कान्छाले अंश रोजेर पाउँथे । खेतीपाती बाहेक आम्दानीको अरु श्रोत हुँदैन्थ्यो । बुढ्यौली सम्पत्ति खान पनि धेरै दुःख गर्नु पर्दथ्यो । केही बुढाबुढीहरु भरुवा र तमसुके ब्याजमा बस्दथे । कुनै ठाउँमा एउटा छोरा मनपर्ने र अर्को बुहारी मनपर्ने हुन्थ्यो । सबैले दुःख काटेर नै जीन्दगी चलाउँथे ।
अहिले समय फेरिएको हुनाले नयाँ ढङ्गले बुढाबुढीको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । बदलिएको समयअनुसार छोराबुहारी र छोरी समेत कमाउन विदेश गएका छन् । देशभित्रै पनि आम्दानीका नयाँ–नयाँ बाटाहरु खुलेका छन् । सरकारले वृद्ध भत्ताको व्यवस्था गरेको छ । केही मानिसको आफ्नो पेन्सन र लहना छन् । केही मानिसको बैङ्क र सहकारीमा पैसा छ । तराईको जग्गा १ कठ्ठा बेचेमा पनि लाखौँ रुपैँया आउँछ । छोराबुहारी र छोरीले डलर युरो र अन्य विदेशी मुद्रा कमाउँछन् । धेरैजसो बुढाबुढीले खर्च गर्न चाहेमा पैसा निस्कन सक्छ । फेरिएको समयअनुसार परिवारको पुुनव्र्याख्या हुनुपर्ने र नयाँ व्याख्याअनुसारको व्यवस्थापन गर्न सकेमा सबैलाई सुख हुने देखिन्छ । त्यसको लागि बुढाबुढीको मानसिकतामा परिवर्तन आउनु जरुरी छ ।
पहिले बाउआमा नभएमा केटाकेटी रुल्लटुल्ल हुन्छन् भन्दथे । अहिले छोराछोरीहरुसँग बस्न नपाउनाले बुढाबुढीहरु रुल्लटुल्ल भएका छन् । “गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ” भन्ने उखान पनि छ । पुराना मानिसहरु सबैले दुःखले धन आर्जन गरेको हुनाले खर्च गर्न सक्दैनन् । हाम्रो परम्परा पनि छोरा नातिको लागि कमाइदिनु पर्ने खालको छ । पहिले विदेश जाने चलन नभएको हुनाले छोराले बाउआमा पालेर बस्थे । छोरो कमाउन गए पनि बुहारीले घर थाम्थे । पुरानो चलनअनुसार अंश लाएका र बाउआमा पाल्ने जिम्मेवारी पाएका छोराबुहारीले नयाँ चलनअनुसार कमाउन हिंड्दा धेरै रेख पाएका छन् । घरमा बस्नेहरुले बुढाबुढी पाल्ने आफ्नो पनि कर्तव्य भएको ठान्दैनन् । कुनै ठाउँमा करोडौँको घरमा बुढाबुढीले मात्र कुरेका भेटिन्छन् ।
नयाँ ढङ्गले व्यवस्थापन गरेमा बुढाबुढीले सुुख पाउने धेरै तरिकाहरु भेटिन सक्दछन् । केही तरिकाहरुमा ठूलो घर भएमा सरसफाइ गर्न कामदार राख्ने । आफ्नो विश्वासिलो मानिसलाई तलब दिएर भान्से÷सहयोगी राख्ने । धेरै छोराहरु भएमा कमाउनेले पैसा पठाउने र घरमा बस्नेले बाउआमाको सेवा गर्ने । सम्भव भएमा पालैसँग सेवा गर्ने । लागेको खर्च दिएर वृद्ध आश्रममा राख्ने । पहिला आफूले गाली गरिरहने र हेपेकी बुहारीसँग पनि बस्न मञ्जुर हुने । एक्ला बुढाबुढी धेरै भएको गाउँ र टोलमा सामूहिक बास र खानाको व्यवस्था गर्ने । आफ्ना छिमेकीलाई तलब दिएर बुढाबुढीको सुसार गर्ने र आफ्नो काम पनि गर्ने अवस्था श्रृजना गर्ने ।
बुढाबुढीलाई आफू जन्मेको र आफूले दुःख गरेको ठाउँ नै रमाइलो लाग्छ । नयाँ ठाउँमा र शहरमा गएमा हावापानी मिल्दैन, चालचलन मिल्दैन, सबै मानिस आफ्नो आफ्नो काममा व्यस्त हुन्छन् । चिनेको र सँगै बसेर कुरा गर्ने कोेही मानिस नहुँदा एक्लो र थुनिएको महशुस हुन्छ । खानाको पनि गाउँमा जस्तो स्वाद हुँदैन । कोही मानिस छोरा बुहारी वा छोरी ज्वाईसँग विदेशमा गए पनि त्यहाँ टिक्न नसकेर भिसा नसकिँदै नेपाल फर्कन्छन् ।
अहिलेको समयमा धेरै कमाउने छोरा बुहारीले पैसा दिन सक्छन् । घरमा बसेर लुगा धुन भात पकाउन सक्दैनन् । बाउ आमाको सेवा गर्न खोजेमा आफ्नो र सन्तानको भविष्यको बाटो बन्द हुन्छ । एउटाको मात्र कमाइले विदेशको खर्च धान्न सक्दैनन् । पुरानो तरिकाले अंश लाएको ठाउँमा पाल्ने जिम्मा लिएका छोराले फस्लाङ् फुस्लुङ् पारेर चल अचल आफ्नो नाममा पारेपछि नपालेर बिच पारेका समेत छन् । थोरै ठाउँमा मात्र आम्दानीको कुनै श्रोत नभएर दुःख भएको देखिएको छ । सरकारले दिने भत्ताले मात्र सबै परिवारको पालन हँुदैन । त्यस्तो ठाउँमा राज्यको तर्फबाट कुनै व्यवस्था हुनुपर्दछ । सबैको मानसिकता परिवर्तन भएमा र कानुनअनुसार बुढाबुढी बलिया भएमा सबैलाई सन्तोष मिल्नेछ ।




