एच.के. श्रेष्ठ
“इतिहास अपराध र दुर्घटनाहरूको फेहरिस्त मात्र हो” फ्रेन्च दार्शनिक भोल्टेयरको यो महत्त्वपूर्ण भनाइ नेपाली जनताले भोग्नु पर्ने बाध्यात्मक संस्कृति भइसकेको छ । जनताले इतिहासको रूपमा गर्व गर्न पाइन्छ कि भन्ने ठानेका राजनीतिक इतिहासहरू क्रमशः अपराध र दुर्घटनाहरूको फेहरिस्तमा सावित हुँदै जाँदारहेछन् । अर्का जर्मन दार्शनिक फ्रेड्रिख नित्ज्सेले भनेजस्तो ‘स्मारकीय (मनुमेन्टल) इतिहास, जो महान् क्षण र महान् घटनाहरूको सङ्ग्रह’ नेपाली राजनीतिको समय बित्दै जाँदा दुर्घटनाग्रस्त हुँदै गइरहेको छ । ती सुन्दर राजनीतिक, ऐतिहासिक घटनाहरू प्राक्कालिन अर्थात् पौराणिक (एन्टिक्युरियन) इतिहासको अस्तित्वमा रहेर मानवता सुचारुको रूपमा रहन सकेन ।
दशकौँसम्म कठोर राजनीतिक जीवन गुजारेर सुपर म्यानको रूपमा ‘सुप्रा हिस्ट्री’ (उच्चतम चेतनाले सिर्जित वास्तविक र सिर्जनशील इतिहास) कायम गर्न खोजेका प्रचण्ड (पुष्पकमल दाहाल) भूत र वर्तमानको चित्त बुझाउन नसक्ने हविगतको डिनउमन्ट्( निस्कर्ष पतन) मा पुगिसकेका छन् । उनैले भनेका महान् जनयुद्धको इतिहासमाथि तेजाब खन्याउने काम उनैबाट भएको छ । इतिहासका कुनै मोडको जनयुद्धमा देव शक्ति जस्तो, सुपरम्यान जस्तो हैसियतको जस्तो मानिएको र सर्वत्र सूर्यझै आशाको किरणले प्रचण्ड औकातको प्रचण्ड जनयुद्धको नेतृत्वकालसम्म आइपुग्दा क्रान्तिकारी हिरो थिए भन्नेमा प्रश्न थिएन । साँच्चै उनी मुक्तिकमी नेपाली जनतामा प्रचण्ड रुपमा छापित थिए । उनले नेपाली जनता र विशेष गरी सर्वहारा, सुकुम्बासी, किसान, मजदुर, दलित, आदिवासी, जनजाति, मुस्लिम तथा सबै खालका वर्गीय, लिङ्गीय, जातीय र क्षेत्रीय उत्पीडितहरूबाट अति सहानुभूति पाएका पनि हुन् । उनले क्रान्तिकारी हिरोको सर्वोत्तम भूमिका निभाएका पनि हुन् । २०७४ सालको अन्तिमसम्मको उनको राजनीतिक जीवन सम्मानित र अस्तित्ववान् नै रहेको थियो । नेपाली धर्तीमा सबै मुक्तिकामी जनताको पक्ष्यको नढल्ने, नगलने र नहार्ने प्रतापी प्रचण्ड तथा पुँजीवादी, सामन्तवादी र शोषक वर्गको विरुद्ध अति कडा प्रचण्ड थिए । तर आफ्नो इतिहासको विरासत जलाउने काम २०७५ सालको जेठबाट एमालेसँग पार्टी मिसाएर गरे । अहिलेसम्म आइपुग्दा आफ्नै नेतृत्वमा कायम गरेका महान हिस्टिोरिकल गौरवलाई अ–हिस्टिोरिकल आफँैले बनाउँदै छन् ।
के भनेर प्रचण्डले जनयुद्ध सुरु गरेका थिए ? कुन उद्देश्यले जनयुद्ध गरे ? नेपाली जनतालाई कस्ता–कस्ता सपना बाँडेका थिए ? र के प्राप्ति भएपछि टुङ्गे र आफ्नो गौरवमय इतिहास पुर्नतिर लागे ? सबैले बुझिसकेका छन् । डा. बाबुराम भट्टराईले नयाँशक्ति खोल्दा “कम्युनिष्ट पार्टी छोडेर भागे” भनेका प्रचण्ड यद्यपि नामको मात्र मेटिएको कम्युनिष्ट समइन बोर्ड राखेर स्वयम् आपूmले पनि कम्युनिष्ट पार्टी छाड्दै भाग हुन्े ।
यद्यपि कार्यकर्ता भुलाउन र अस्थित्वको खातिर एमालेसँगको एकतामा कम्युनिष्ट एकता गरेका थिए । प्रचण्डले कम्युनिष्ट एमालेसँग एकता गरे भन्नु हास्यास्पद मात्र हो । उनले कम्युनिष्ट एकता गरेको हो भने मोहन वैद्य, मोहनविक्रम, विप्लव, गोपाल किराँती, चित्रबहादुर के.सी. नेतृत्व र आहुतीलगायतको पार्टीसँग पो गर्नु पर्दथ्यो । आफैँले भन्दै आएका प्रतिक्रियावादी पार्टी एमाले, कांग्रेसजस्तासँग एकता गरेर कम्युनिष्ट एकतामा आफ्नो दलको प्रचण्ड विरासत नै सिध्याएका थिए ।
“बीसौँ शताब्दीको अन्तिमतिर आएर विश्व कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने र पुँजीवादी बुर्जुवा जनवादमा पतन गराउने कार्य यिनै दक्षिणपन्थी संशोधनवादीहरूले गरेको कुरा स्वतः प्रष्ट छ । यहाँ प्रक्रियामा नै एमालेको बहुदलीय जनवादले आर्थिक रूपमा सुधारवादको वैचारिक रूपमा विसर्जनवादको र दार्शनिक रूपमा सून्यवादको प्रतिनिधित्व गर्दछ ।” यो भनाइ २०६३ साल आश्विनमा नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा प्रकाशित ‘नयाँ दिशाबोध’ मा यिनै कमरेड प्रचण्ड÷ पुष्पकमल दहालले दिएको अभिव्यक्ति हो । जो सार्वजनिक रूपमा सधैँ भन्दै आएकै हुन् । त्यसो हो भने २०७५ सालमा आइपुग्दा उनको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा एमालेसँग एकता गर्दा एमाले क्रान्तिकारी कम्युनिष्टमा रूपान्तरण भएको हो त ? प्रचण्डले यो प्रश्नको अनुत्तरित हावा काम गरेका थिए, अएिनन् ? त्यसो त प्रचण्ड आफँै सुधारवाद, विसर्जनवाद र सून्यवादको भूमरीमा फन्फनी घुमिरहेका थिए र छन्, जसको निकास अझै छैन ।
“काग बाठो भएपछि गू खान्छ” भनेजस्तो बढी क्रान्तिकारी बाठो हुन खोज्दा अस्तित्वमैँ धमिरा लागिसकेको छ । क्रान्तिकारी युद्धबाट थाकेर स्केपिजम् (भगुवावादी) नीति र मार्ग अवलम्बन गरेका प्रचण्ड आपूm र निश्चित घेराको स्वार्थको पराकाष्ठा स्वरूप कहिले कांग्रेस, राप्रपासँग चुनावी तालमेल त कहिले एमालेसँग पार्टी मिलानमा विलुप्ती भए । आपूmले भन्दै आएका विभिन्न कालखण्डमा आपूm प्रवेश गरेका पार्टीमा पुरानो भङ्ग र नयाँ–नयाँमा आफ्नो नेतृत्वको सपना एमालेसँग एकतापछि विफल हुने नै थियो र भयो पनि । एमालेसँग एकतासम्म आइपुग्दा उत्तर आधुनिकतावादी चेतनाको प्रवाह (स्ट्रीम अफ कन्सस्नेस्) माइन्डले ग्रसित थिए उनी । यसको मतलब एकै समयमा बहुसपना वा बहुविषयहरू दिमागमा खाँदिएर आउने र महत्वकांक्षाको शिकार हुने । सँगसँगै संसदीय सपना, ठूलो पार्टी बन्ने र ठूलै पार्टीको नेता बन्ने इच्छा, प्रधानमन्त्री बन्ने आकाङ्क्षा आदिआदिका चेतनाको प्रवाहको कारण नेकपामा परिणत भइहाले ।
तर उनले जति सुनौलो अवसर सोचेर सुखान्तको भ¥याङमार्फत् दुर्दशापूर्ण दुखान्तमा अन्त्य हुने नै थियो त्यति बढी चुनौती बेहोर्दै भैछाड्यो । “चौटा खान गएकी बूढी झोलमा डुबेर मरी” व्यहोरे र व्यहोर्दै छन् ।
एमालेलाई कम्युनिष्ट सपोज गरेर भएको एकताको नामबाट नेकपाको सह–अध्यक्ष पद उनको लागि फलामको चिउरा, उनी एमालेमा ओली, माधव, झलनाथको फुटबल बन्न परेको बाध्यतासहित एमालेमा माओवादी केन्द्र जोडिएको नेकपा नामको दलभित्र पुरानो एमालेको आन्तरिक द्वन्द्व पहलुको प्रयोगमा प्रचण्ड पिसिनु परेको थियो । माधव, झलनाथ र वामदेव गुटले उनलाई प्रयोग गर्ने र ओली गुटविरुद्ध हतियार काँधमा थम्याइदिने अभ्यासको बन्धक बने । कुनै बेला सबैलाई आदेश पालना गराउने सर्वोच्च कमान्डर प्रचण्ड अर्काको आदेश पालकको निरिह्यतामा भए । माधव नेपाल र झलनाथ गुटको कर पाए अलि कस्सिएर भुक्ने र उनीहरूको आड नपाउँदा ओलीसँग लोज्जिने गरेका प्रचण्ड एमालेभित्रकै गुटहरू मिलेर तेलपानीसँगै पिना बाहिरको पिना बनाइदिए । भावनात्मक होइन वस्तुगत वा भौतिक रूपमै नजुटेको नेकपा पुनः फुटेर नयाँ टुक्राहरू स्वभाविक हो । यदि अपवाद भएको र महाधिवेशनसम्म गएको भा पनि उनले भन्ने गरेको सुधारवाद, विसर्जनवाद र सून्यवाद बोकेको बहुदलीलय जनवादको खाए खा नखाए घिचको नेता बन्नेथे ।
ग्रीक पौराणिक दुःखान्त नाटककारका पिता इक्किलसको दुखान्त नाटक ‘अगामेम्नन्’ का दुखान्त हिरो दश वर्ष स्पार्टा युद्धको कमाण्डरको रूपमा सक्रिय लडाइँ लडे, तर युद्धबाट घर फर्केपछि आफ्नै श्रीमतीबाट उनी समाप्त हुनु परेको थियो । त्यही ‘अगामेम्नन्’ जस्तै आफ्नै कारण र आफ्नै नातावाद र क्रियावादकै कारण पतन भएका छन् प्रचण्ड । “संसद खसीको टाउको झुण्ड्याएर, कुकुरको मासु बेच्ने थलो हो” भन्ने प्रचण्ड अहिले भटाभट कुकुरका मासु बेच्दै छन् । दिनानुदिन नेपाली राजनीतिक बजारमा नक्कली व्यापारी बनेर क्रान्तिकारी छवि समाप्त पार्दै छन् ।
आफू प्रधानमन्त्री र आफ्नो दलका हिजोका क्रान्तिका प्रचण्ड नेताहरुले राज्यमा देश र जनताको तात्विक परिवर्तनमा कुनै हाइहाइको पहलकदमी र निर्णयहरु लिन सकेन । केवल संसदीय परम्परा धान्ने काम गरे ।
यसरी संसदीय विसर्जनवादमा पतन भएको माओवादी केन्द्र प्रचण्ड उनले कम्युनिष्टले विश्वासै नगर्ने र गर्न नै नहुने बुर्जुवा लोकतन्त्र र यसभित्रको बहुमत र अल्पमतको निर्धारणमा फस्दै आए । सरकारमा आफ्नो नेतृत्वको पद प्राप्तीको अनेकौं तिक्डमलाई उथलपुथल ठानेर जनयुद्धको मर्म, भावना र वेदनाको जनताको अवस्था उथलपुथललाई आफु, गुट र नातागोतामा ट्रान्स्लेसन् गरिदिए । यस्तैमा गुठबन्दी वा दलबन्दीमा समेत क्याम्प परिवर्तन स्वरुप हिजोका पूर्व एमाओवादीमा प्रचण्डका रक्त सञ्चार र बलीयो आधार मानिएका लेखराज भट्ट, बादल, टोपबहादुर रायमाझीलगायतकाहरु ओली क्याम्पमा आड लागे । प्रचण्ड क्रान्तिकारी नरहेर ओलीसँगको एउटै स्वरुप र विशेषताको भइसकेपछि र आखिर खशीको टाउको झुण्ड्याएर कुकुरकै मासु व्यापारी हुने संसदवादी भइसके पछि उनीहरु प्रचण्डलाई किन नछाडुन् ? आँखिर मुख्य साहु ओलीतिरै लागे धेरै नाफा हुने भयो । बुर्जुवा संसदीय व्यवस्थाको घिन लाग्दो विशेषता नै यहि हो । प्रचण्ड वा माओवादी केन्द्र स्वयम् बुर्जुवा चुनावलाई बढी महत्व दिँदै भएका लगभग सबै दलहरुसँग काइते तथा घोर अवसरवादी साठगाँठ र तालमेल गरेर संसदीय निकायहरुमा केही कुर्सी पद लाभ गरेर पोलिटिक्स् र पार्टी दुबै सिध्याएका हुन् ।
कालान्तरमा बिनास काले विपरीत बुद्धि फेरि आन्तरिक, बह्य प्रश्नै प्रश्नको माधव नेपाल र अन्य अवसरवादी झुण्डहरुको अनौठो आठ दल बटुलेर भ्यागुताको धार्नी पु¥याउँदै छन् । फेरि आफ्नो दलको केही नेता कार्यकर्ता फोहोरको डंगुरबाट निस्केर जान बाध्य बनाएर आफैँ धुरि बनिरहने असफल घातक सफलता हात पारेका छन् । भुत्ते विचारलाई क्रान्तिकारी विचारमा बदलेर कम्युनिष्ट सिद्धान्त तिर फर्कनुको बदला झन सकिने बाटो लागेका छन् । पार्टी, विचार, इतिहास सबै ध्वस्त पारे ।
तत्कालीन सशस्त्र युद्धले विजय प्राप्त गर्दागर्दै उनीहरूले भन्ने गरेको नेपाली क्रान्तिले विश्वलाई नेतृत्व गरेको र विश्व कम्युनिष्ट आन्दोलनलाई नै नेतृत्व प्रदान गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी एमाओवादी थियो । विश्व राजनीतिक इतिहासमा प्रभावशाली भएर स्थान लिएको त्यो क्रान्तिकारी पार्टीलाई नेपाली मात्र होइन विश्व इतिहासले अहिले खोजिरहेको छ । २०५२ देखि २०७४ सालसम्मको बाइस वर्षमात्रै हो त्यो पार्टीको आयु ? विश्व हल्लाएको, सत्रौ हजार शहादत बलिदान गरेको, लाखौँ अङ्ग–भङ्ग भएको, लाखौँको घरबारविहीन भएको र अरबौँको भौतिक क्षति गुमाएर विशालीकरण भएको त्यस्तो क्रान्तिकारी पार्टी आज खै नेपालमा भनेर विश्व इतिहासले खोजिरहेको छ । त्यस्तो क्रान्तिकारी पार्टी युगौँसम्म रहने र उद्देश्य पूरा गर्दै जाने हुनुपर्ने होइन र ? खै त्यो पार्टी अहिले ? त्यो नेकपा हो ?
यसर्थ उनी अब पुष्पकमल र प्रचण्ड होइनन् लेनिनले सरापेको गद्दार नेपाली काउत्स्की भइसकेका छन् । हिजोको मगमग वास्नाको पुष्पकमल ‘फूल होइन राजनीतिक पुष्पकमल पछिल्लो कालखण्डमा ओइलाइसकेका छन् । उनी नवउदारवादी बजारको प्लास्टिकको पुष्प भएका छन् । उनको २०७४ सालसम्मको क्रान्तिकारी बास्ना र रङ्ग उडिसकेको छ । अब ओइलाएर घुर्मैलो र डिस्कलर भएको पुष्पकमललाई कसैले टिप्ने र सझाउने अवस्था छैन । उनको प्रचण्ड क्रान्तिकारी छविको राप र ताप अब मधुरो, मलिन भइसकेको छ । उनी चढेर उचाइमा पुगेको राजनीतिक भ¥याङबाटै बज्रारिएर निस्तेज भइसकेका छन् ।




