पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुटवलमा ठूलो लगानीमा पाँच तारे होटलमा लगानी भएको छ । स्थानीय व्यवसायीहरुको संलग्नतामा ३ अर्ब ५० करोड लगानीमा पाँच तारे होटल ह्यात प्यालेसको शुभारम्भले बुटवलको होटल व्यवसायमा नयाँ संभावना को ढोका खोलेको छ ।
बुटवलले औद्योगिक र व्यापारिक शहरको पहिचान बनाएको छ । बुटवलको पूरानो परिचय व्यापारिक शहरबाट सुरु हुन्छ । कुनै बेलाको व्यापारिक केन्द्र बुटवलले औद्योगिक शहरको पहिचान बनायो । त्यसपछि शैक्षिक हब हुँदै अहिले पर्यटन क्षेत्रमा धेरे संभावनाको ढोको खोलेको छ । तराई र पहाडको ट्राञ्जिट विन्दु बुटवलमा पर्यटन उद्योगको राम्रो संभावना छ । यो पूर्व पश्चिम महेन्द्र राजमार्ग र उत्तर—दक्षिण सिद्धार्थ राजमार्गको मिलनविन्दु भएकाले पनि पर्यटन उद्योगको राम्रो संभावना छ । भारतीय सीमावर्ती शहर गोरखपुर लगायतबाट यहाँ घुमफिर गर्न आउने बढेका र यहाँ अरु पर्यटकीय पूर्वाधार बनेकाले स्तरीय होटलको अभाव अब महशुस गर्न पर्दैन । केही वर्ष अघिसम्म बुटवलमा स्तरीय होटलको अभाव छ भनिन्थ्यो । अहिले विभिन्न सुविधा सहितका होटल खुलेका छन् । पाँच तारे होटलले अब स्तरीय होटलको रिक्ततालाई पूर्ति गरेको छ । आन्तरिक र बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित ह्यात प्यालेस सञ्चालनमा आएको छ
।बोधीवृक्षको पातको आकृति होटलका धेरै संरचनामा राखिएको छ । डेढ सय क्षमताको अल डे डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरको इँटाको बनावट झल्किने डिजाइनले स्थानीय पन र मौलिकता झल्काउन खोजिएको छ । होटल लबीको डिजाइन शक्ति र स्थिरताका आधार मानिने चार विशेष वास्तुकला स्तम्भले निकै भव्य बनाएको छ । जसमा बुद्ध दर्शनका चार आर्य सत्य दुख छ, दुखको कारण छ, दुखको निरोध सम्भव छ र दुख निरोधको मार्ग छ भन्ने झल्काइएको छ ।
स्थानीय व्यवसायीले होटलमा ठूलो लगानी गरेर बुटवलको पर्यटन उद्योगमा केही नयाँ गर्न खोज्नु प्रशंसनीय छ । मुलुक आर्थिक मन्दी र समाजमा अराजकताको आगो बलेको बेला होटल शुभारम्भ गर्नेे व्यवसायीको जमर्कोलेसबै नकरात्मक प्रवृतिलाई चिरेर अघि बढ्नुपर्छ भन्ने उच्च मनोबल छ भन्ने प्रष्ट भएको छ ।
स्थानीय रूपमा उदाएका यी व्यवसायीको लगाव, मिहिनेत र आँटले अरू व्यवसायीलाई पनि पूँजी लगानी र विस्तार गर्न बल पुगेको छ । छिमेकी भारत उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्यामध्ये केही प्रतिशतलाई बुटवल ल्याउन सके धेरै गर्न सकिन्छ भन्ने व्यवसायीको उत्साह र योजना आशा लाग्दो छ ।
सिद्धबाबा सुरूङमार्ग निर्माण छिटो सक्नुपर्छ । गौतम बुद्ध विमानस्थलको सञ्चालन पूर्ण रूपमा गर्न सक्दा मात्रै यहाँको पर्यटन उद्योगले गति लिन्छ । यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने यस्ता कामप्रति तहगत सरकारको समन्वयकारी सहकार्य हुन आवश्यक छ ।
होटलको मुख्य विशेषता अहिलेको व्यस्त जीवनशैली र एकैपटक धेरै काम गर्नुपर्ने पाहुनाका लागि आरामदायी बसाइसँगै दैनिक जीवनका सबै सुविधा सहज र नवीन रूपमा प्रदान गर्नु रहेको उनले बताए ।




