गणेश ओली
समाज व्यक्ति र राष्ट्र निर्माण गर्ने थलो हो । यो यस्तो भूमि हो, जहाँबाट सकारात्मक र नकारात्मक उर्जा उत्पादन भइरहेको हुन्छ । समाजमा सकारात्मक उर्जा हावी हुँदा त्यस देश र त्यहाँका नागरिक सम्मुन्नत हुन्छन् भने नकारात्मक उर्जा प्रवाह हुँदा राष्ट्र नै कमजोर बन्न जान्छ । त्यसकारण देश बनाउनु छ भने पहिला समाज बनाउनुपर्छ ।
व्यक्तिका व्यक्तिगत आचारण, व्यवहार, सोचाइ व्यक्तिले आफैँ बोकेर लिएको हुँदैन ऊ बसे, हुर्केको वातावरण, समाज, रीतिथिति, परम्परा, संस्कार र संस्कृतिको प्रभाव पनि रहन्छ । त्यसकारण सभ्य नागरिक र राष्ट्र निर्माणका लागि सभ्य समाज निर्माण गर्नुपर्छ । समाज राम्रो वा नराम्रो हुँदा तपार्इं, तपाईंको परिवार अनि तपार्इंको सन्तान कस्तो हुने भन्ने कुरा निर्भर रहन्छ, किनकि हामी समाजका उत्पादन हाँै । तसर्थ देशको चिन्ता गर्ने आजका युवाले पहिला आफू बसेको गाउँसमाज सुधारका साथै यसको नेतृत्व लिन जरुरी छ । नेपालका आजका युवा यस्तो ठाउँमा छन्, उनीहरुले आज व्यक्तिगत, सामाजिक र सिङ्गो देशको भारी बोक्नुपर्ने अवस्था छ । यो उनीहरुका लागि चुनौती र अवसर दुवै हो । उसो त सबैले सबै काम गर्न सम्भव छैन, तर आफ्नो क्षमता, कला र समयले भ्याएसम्म आ–आफ्नो क्षेत्रमा केही न केही गरेर देखाउन जरुरी भने छ । आजको दिन युवाहरु राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक परिवर्तनका लागि सकारात्मक भूमिका निर्वाह गर्दै अगाडि बढ्न आवश्यक देखिएको छ ।
समाज परिवर्तनका लागि पहिलो काम हो, चेतना फैलाउने । समाजमा विभिन्न प्रकारका विकृति विसंगति, भेदभाव, अन्याय, अत्याचार, शोषण दमन रहेका छन् । समाजमा विद्यमान कुरीतिहरु ः जस्तै, वर्गीय, जातीय, क्षेत्रिय, लैङ्गिक, छाउपडी, घरेलु हिंसा रहेका छन् । यस्ता विषयलाई समुदाय तहको वहसमा ल्याउने र त्यसको विरुद्धमा बुलन्द आवाज उठाइ परिवर्तनको नेतृत्व पनि युवाले नै लिनु पर्दछ ।
यसैगरी समाजसेवाको नेतृत्व पनि गर्न सकिन्छ । आज न्यून आय वा आय वञ्चितहरूलाई राज्य, संघसंस्था वा व्यक्तिबाट समाजिक सुरक्षाको अवश्यक छ । ज्येष्ठ नागरिक, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, शारीरिक वा मानसिक रूपले श्रम गर्न अशक्त भएका, बाँच्नका लागि कठिन जीवनयापन गरिरहेका व्यक्तिहरूको लागि राज्यले केहि गरे पनि स्थानीय तह वा समुदायस्तर वा व्यक्तिगत स्तरबाट केही गर्न सकिन्छ कि भनेर पहल गर्दा असाध्यै राम्रो हुन्छ ।
मठ मन्दिर तथा सांस्कृतिक सम्पदाको संरक्षण वा रकम दान गर्ने, वृद्धाआश्रम निर्माण वा वृद्ध नागरिकलाई सेवा गर्ने, विद्यालय भवन निर्माण तथा पुस्तकालय, अध्ययनरत विद्यार्थीलाई पुस्तक तथा कम्प्युटर प्रदान गर्ने, स्वास्थ्य शिविर सञ्चालन तथा नागरिक अस्पताल निर्माण, प्राकृतिक प्रकोपमा परेका नागरिकलाई आर्थिक राहत दिने, रक्तदान गर्ने जस्ता परोपकारी कार्य पनि सामाजिक उत्तरदायित्व हो ।
यसैगरी गाउँसमाजमा हुने सानातिना विकासको काम स्थानीयले नै श्रमदान वा आर्थिक संकलन गरेर गर्न सकिन्छ । जस्तै ः गाउँसम्म पुग्ने साना तथा छोटा बाटोघाटो निर्माण, पुलपुलेसा, कुलोपानी आदि । अहिले सानासाना विकासको लागि पनि सरकारको मुख ताक्ने बानी छ । स्थानीय आफँैले नगरे पनि कतिपय काम सरकार र स्थानीयको साझेदारीमा गर्न सकिन्छ । आफ्नो समुदायमा कस्तो विकास गर्ने भन्ने निर्णय गर्नेदेखि, निर्णयअनुसार योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, कार्यान्वयन प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्ने र विकासको प्रतिफलको उपभोगमा समेत सम्बन्धित नागरिकहरुको सहभागिता हुनुपर्छ । वर्तमान अवस्थामा युवाले समुदाय विकासमा स्थानीय सरकारसँगको साझेदारीमा विकासका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने प्रावधान राखिएको छ ।
समाजमा सञ्चालन हुने सानातिना विकास निर्माणका कामदेखि पालिका तहमा कार्यक्रम बनाउन, नीति निर्माणका लागि सरकारलाई दबाब दिने काममासमेत युवाको भूमिका आवश्यक छ । पालिका तहको योजना तर्जुमा प्रक्रिया हेर्दा बस्ती एवं वडास्तरीय योजना तर्जुमाका चरणहरुमा युवाहरुको अर्थपूर्ण सहभागिता हुनैपर्ने प्रावधान राखिएका छन् । यसरी गाउँ समाजमा भइरहेका विकास निर्माण प्रक्रियामा सहभागिता जनाउनुका साथै यस्को पारदर्शिता, जवाफदेहिताको पनि ख्याल गर्नु प¥यो । कतिपय उपभोक्ता समितिमा बसेका युवाहरुले नै भएको बजेटमा पनि कामै नगर्ने, भ्रष्टाचार गरेको खबरहरु आइरहेका छन् अन्य युवाहरुले यसमा खबरदारी, चासो र चिन्ता व्यक्त गर्नुप¥यो ।
पछिल्लो समय युवाहरु लागुऔषध दुव्र्यसनमा नराम्ररी फसेका छन् । समाजमा जाँड, रक्सी, जुवातास जस्ता विकृतिहरु यथावत नै छन् । जसका कारण धेरै जनधनको नोक्सान हुनुका साथै परिवारहरु विचल्लिमा परेका छन् । जाँड रक्सी खुलमखुल्ला बिक्री गर्न पाउने सरकारको गलत नीतिका कारण यसले ठूलो नोक्सानी गरेको छ । यी सबैलाई व्यवस्थापन तथा नीतिगत निर्णयका लागि विभिन्न तहका युवाहरु अग्रसर हुन जरुरी छ । यसको साटो आफ्ना गाउँटोलमा योग अभ्यासस्थल, खेलकुद मैदान, पुस्तकालय स्थापना, बालबगंैचा तथा वृद्धवृद्धाका लाग भेटघाट स्थाल, प्राथमिक उपचार केन्द्र, खुलाचउर संरक्षण, सडक बत्ती, सडक सरसफाइ, सार्वजनिक धारा तथा विश्राम स्थल बनाउनका लागि उत्प्रेरण जगाउने काम गर्नुआवश्यक छ ।
पछिल्लो समय सूचना प्राविधिक विकासले गर्दा विश्व एक गाउँ त भएको छ साथै यसले सँगसँगै विकृति पनि ल्याएर आएको छ । यसको सही सदुपयोग र यसले व्यक्ति, परिवार, समाज तथा राष्ट्रको विकास तथा प्रगति र दुर्गति निम्त्याउन सक्ने कुरालाई मध्यनजर गर्दै यसको सकारात्मक र नकारात्मक असर तथा प्रभावका लागि जानकारी, चेतना दिनुका साथै सही सदुपयोगका लागि सचेतना आवश्यक देखिन्छ । युवाहरु स्वभावैले आधुनिक प्रविधिको प्रयोग गर्न रुचाउँछन् र प्रविधिलाई विभिन्न क्षेत्रमा उपयोग गर्न चाहन्छन् । यसबाट प्राविधिक विकास भएको खण्डमा सामुदायिक विकासमा युवाको सहभागिता अझै बढी उपलब्धिमूलक हुन्छ भन्ने बुझ्न सकिन्छ ।
शैक्षिक विकासमा पनि युवाहरुले महत्वपूर्ण योगदान गर्न सक्छन् । नेपालमा अझै पनि विद्यालय नजाने, विद्यालय छाड्ने संख्या यथावत छ । कतिपय बालबालिका निजी त भइहाल्यो सामुदायिक विद्यालयमा पनि आर्थिक अभावले पढ्न नसक्ने अवस्था छ । आफ्नो गाउँठाउँमा रहेका गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई सहयोग, अनुदान, छात्रवृत्तिका लागि पहल तथा सहयोग गर्नुपर्छ ।
आफ्नो गाउँठाउँमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेर आफ्नो क्षमता प्रदर्शनका साथै कमजोर विद्यार्थीका लाग शैक्षिकस्तर विकास गर्न जरुरी छ । कति विद्यार्थीहरु उच्च शिक्षा कहाँ पढ्ने ? के पढ्ने ? कसरी पढ्ने ? भन्ने अन्योलमा छन्, उनीहरुका लागि जानेका युवाहरुले मार्गदर्शन गर्न जरुरी छ । सम्पूर्ण नीतिहरुको राजा (प्रमुख) नै राजनीति हो । तसर्थ राजनीतिमा चासो राख्ने युवाहरु राजनीतिमा पनि लाग्न जरुरी छ, किनभने राष्ट्रको नेतृत्वदेखि नीति निर्माण तथा कार्यान्वयन गर्ने गराउने काम राजनीतिक अगुवाहरुको हो । तसर्थ राजनीतिमा विद्यमान गलत कृयाकलापको अन्त्यको लागि राजनीतिमै जोडिन जरुरी छ ।
त्यसको लागि समाजमा उसको योगदानको पनि मूल्याङ्कन हुने गर्दछ । अर्थात् ठूलो राजनीतिज्ञ बन्ने पहिलो खुड्किलो नै सामाजिक कामको नेतृत्व गर्नु हो । त्यसो त राजनीतिमा आउन झोला बोकेर पार्टीको झन्डा मात्रै बोक्नुपर्छ भन्ने छैन । विभिन्न विषयगत मन्त्रालयहरु हुन्छन्, जस्तै अर्थमन्त्रालय : यसका लागि अर्थशास्त्र जानेका युवाले आफनो विज्ञताका साथै राजनीतिमा चासो दिनु प¥यो, यससम्बन्धि नीतिगत व्यवस्थाहरुको बारेमा जानकार हुन प¥यो, त्यस्तै विज्ञान तथा सूचना प्रविधि, युवा तथा खेलकुद, वन, वातावरण, समाजिक विकास, भौतिकपूर्वाधार, उर्जा, जलश्रोत, आदिआदि यी सबै कामको लागि राजनीतिमा चासो राख्नुका साथै आफ्नो क्षेत्रमा विज्ञता हासिल पनि गर्नु प¥यो । पहिला पहिला त आफ्नो क्षेत्रको बारेमा ज्ञान र अनुभव प्राप्त गर्नु प¥यो, त्यसलाई बाँड्नु प¥यो, त्यसको नेतृत्व गर्नु प¥यो । अनि देशको पनि ।
यो सबै काम गरिरहँदा महत्वपूर्ण कुरा आर्थिक व्यवस्थापन हो । एकातिर समाजसेवाका लागि आवश्यक आर्थिक व्यवस्थापन अर्कोतिर आफू र आफ्नो परिवारको लागि आर्थिक विकास अनि समय यी सबै मिलाउन व्यवस्थापनको ज्ञान जरुरी छ । व्यक्तिगत, परिवारिक, समाजिक र देशको आर्थिक समृद्धिका लागि युवाहरु उद्यम तथा रोजगारमा लाग्न जरुरी छ । अहिले देशमा उद्यममा नीतिगत, व्यवहारिक समस्याका साथै रोजगारको अवसर नहुँदा धेरै युवाहरु विदेशिन बाध्य छन् । उनीहरुकै श्रम र सीपबाट धेरै देशले धेरै विकास गरिरहेका छन्, तिनै युवाहरुको श्रम र सीपको स्वदेशमा नै सदुपयोग गर्न सके मात्र हाम्रो देशको पनि विकास हुनसक्छ ।
आफ्नो गाउँठाउँमा सानै भए पनि आफू पनि श्रम र रोजगारमा लाग्ने र अन्य युवाहरुलाई पनि त्यसमा लाग्न प्रोरित गर्न जरुरी छ । बरु बेरोजगार बस्ने तर गाउँठाउँमा उपलब्ध श्रम र रोजगारीमा संलग्न हुन लाज मान्ने प्रवृत्ति हाम्रो गाउँसमाजमा विद्यमान छ । यसलाई हटाउनुका साथै स्थानीय उत्पादनमा वृद्धि, त्यसको ब्रान्डिङ, आधुनिकीकरण तथा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय बजारमा पु¥याउन जरुरी छ । यसका लाग नीतिगत तथा कानुनी जटिलताको अन्त्य गर्न पहल गर्ने, सीपमूलक तालिम सञ्चालन, न्यून ब्याजदरमा क्रण उपलब्ध गराउन तथा अनुदानको लागि आफ्नो नजिकको स्थानीय तहलाई माग गर्न सकिन्छ । आफ्नो गाउँसमाजको स्रोतसाधनको उपलब्धता हेरेर सोहीअनुसारका उद्यम र सीप विकासमा स्थानीय तहले भूमिका खेल्न जरुरी छ । बजेट यस्तो बनोस् कि जसले नागरिकको जीवनस्तरमा कुनै न कुनै परिवर्तन ल्याओस् ।
वन, वातावरण तथा जैविक विविधता संरक्षण, जलवायु परिवर्तन तथा यसका असर र प्रभावका बारेमा नागरिकलाई सचेत गराउँदै जल, जमिन र सम्पूर्ण जीवजन्तु तथा वनस्पतिको संरक्षणको अभियान थालनी गर्नु अहिले विश्वपरिवेशमा महत्वपूर्ण काम हो । गाउँगाउँमा अझै पनि स्वास्थ्य, सरसफाइ, सन्तुलित आहार विहार, स्वास्थ्यकाबारेमा हेलचेक्र्याईं छ । सामाजिक सेवा, ग्राहक हित, नैतिकता, संस्थागत सुशासन र कानुनको पालना कमजोर छ । अहिले हाम्रो समाजमा भ्रष्टाचार, बलात्कार, अनियमितता, घुसघोरी, दलाली, कालोबजारी, गरिब, किसान र मजदुरमाथिको नाङ्गो लुट, विभिन्न नाममा मान्छेले मान्छेमाथि गर्ने विभेद र युवाको व्यापक दुरूपयोगले सीमा नाघिरहेको छ ।
राजनीतिक परिवर्तन धेरै पटक भए, तर आर्थिक, सामाजिक, प्रशासनिक परिवर्तन गरी जनतामा परिवर्तनको अनुभूति दिलाउन र मुलुकमा विधिको शासन स्थापना गर्दै सुशासन कायम गर्न र यसलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्न टड्कारो आवश्यकता देखिएको छ । जनसाधरणलाई अभाव र महँगीबाट मुक्त, वातावरणको संरक्षण, कानुनको पालना, संस्थागत सुशासनको पालना गर्ने, सर्वसाधरणलाई उनीहरूको इच्छा, आकांक्षा बुझी गुणस्तरीय सेवा छिटोछरितो रूपमा उपलब्ध गराउने कुरामा राज्य उदासिन छ ।
युवाहरुको नेतृत्वमा राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक र प्राविधिक रूपान्तरण गर्न सकेमा निःशन्देह समृद्ध र समतामूलक समाजको निर्माण हुने निश्चित छ । सबै तहका सरकारलाई यसका लागि आवश्यक नीति निर्माण तथा बजेट बिनियोजन गर्नु दबाबमूलक कार्यक्रम गर्ने र आफूले पनि योगदान गर्नु पर्दछ ।
युवाहरू प्रायः पारदर्शिता र उत्तरदायित्वका पक्षधर हुन्छन् । युवाको संलग्नता र युवाको आवाजले राजनीतिक र नीतिगत प्रक्रियामा पारदर्शिता बढाउन मद्दत पु¥याउँछ । युवाहरूले भ्रष्टाचार, अनियमितता, कुशासनका विरुद्धमा र सुशासनको पक्षमा सशक्त भूमिका खेलिरहेका छन् । यसलाई निरन्तरता दिन जरूरी छ ।




