नवलपरासी
नवलपुरको कावासोती २ स्थित कावासोती हाट बजारमा विक्रीका लागि राखिएको काउलीमा विषादी अत्याधिक भेटिएपछि जफत गरेर नष्ट गरिएको छ ।
कावासोती हाटबजारमा रहजरका किसान बन्चु मियाले विक्रीका लागि पठाएको काउलीमा ९८ दशमबल ८५ प्रतिशत विषादी भेटिएको हो ।
सोमबार हाटबजारमा विक्रीका लागि ल्याइएको तरकारीहरुको विषादी चेकजाँचको क्रममा उनले उत्पादन गरेर बजारमा पठाएको काउलीमा उपभोक्ताले खानै नमिल्ने गरी विषादी पाइएपछि जफत गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई नवलपुरका नायव प्राििवधिक सहायक विरेन्द्र भण्डारीले बताए ।
सोमबार उनले बजारमा पठाएको १ सय ५१ किलो काउली बरामद गरी नष्ट गरिएको हो ।
३५ प्रतिशत भन्दा कम विषादी देखिए मात्र उपभोग योग्य हुने विरेन्द्र भण्डारीले जानकारी दिए । त्यसैगरी केही दिन अघि रजहरकै अर्का किसान महमत अन्सुरले विक्रीका लागि बजार पठाएको काउलीमा पनि विषादी देखिएपछि नष्ट गरिएको थियो । उनले उत्पादन गरेको काउली आज परीक्षण गर्दा अझै ४१.४१ प्रतिशत विषादी देखिएपछि अझै केही दिन नटिप्न भनिएको उनले बताए ।
यस अघि बजारमा बोडी र काँक्रोमा पनि विषादी भेटिएपछि नष्ट गरिएको थियो । कावासोतीमा एक बर्ष अघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई स्थापना गरिएपछि बजारमा आएका तरकारीहरु विहान ६ बजे संकलन गरी ८ बजे भित्र रिपोर्ट आएपछि विषादी देखिएका तरकारीहरु जफत गरी नष्ट गर्ने गरिएको छ ।




