बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालय बुटवलले हरेक वर्ष गर्दै आएको प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औं संस्करणको तयारी पूरा भएको छ । बिद्यालयले प्रथम चरणको छनोट कार्यक्रम यही कार्तिक २८ गते बुटवल, पाल्पा र दाङमा एकैपटक गर्न लागेको छ । बिद्यार्थीहरुमा अन्तरनिहित बौद्धिक प्रतिभा प्रस्फुटन र विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले विद्यालयले २०५० सालदेखि क्वीज प्रतियोगिता सुरु गरेको हो ।
बुटवल केन्द्रमा रुपन्देही, कपिलवस्तु र नवलपरासी, पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र अर्घाखाँची, र लमही केन्द्रमा बर्दिया, बाँके, दाङ, पूर्वी रुकुम, रोल्पा र प्युठानका विद्यालयहरू प्रतिस्पर्धामा रहनेछन् । बिद्यालयका प्राचार्य लोकनाथ उपााध्यायले यस वर्षको प्रतियोगितामा प्रदेशका दुई सय बिद्यालय सहभागी हुने अनुमान गरिएको बताए । प्रतियोगिताको निष्पक्षता कायम राख्न न्यू होराइजन संस्था अन्तर्गतका विद्यालय र विद्यार्थीलाई प्रतियागितामा सहभागी नगराइने तर उनीहरूलाई अवलोकनकर्ताका रूपमा सहभागी गराइने प्राचार्य उपाध्यायले बताए । २०५० सालमा जिल्लास्तरीय रूपमा सुरु गरिएको यो प्रतियोगिता क्रमशः अञ्चलस्तरीय हुँदै पछिल्ला तीन वर्षदेखि प्रदेशस्तरीय रूपमा आयोजना हुँदै आएको र भविष्यमा राष्ट्रियस्तरको बनाउने बताए ।
हाजिरी जवाफ कार्यक्रमका मूल संयोजक मनोज सिलवालले कक्षा ८,९ र १० का विद्यार्थी सहभागी हुने यो कार्यक्रम खर्चिलो भएपनि सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाले निरन्तरता दिएको बताए । उनले प्रतियोगितामा हरेक वर्ष विद्यालय संख्या बढ्दै गएको बताए । बिद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले बोल्दै गुणस्तरीय शिक्षा दिने उद्देश्यले २०४६ सालमा स्थापित न्यू होराइजनले शैक्षिक क्षेत्रमा बिशिस्ट पहिचान बनाउदै आएको बताए । उनले बिद्यालयले पाठ्यक्रमको ज्ञानसंगैै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङगीण विकासमा जोड दिएको बताए । उनले बिपन्न र गरीब विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका सहयोग गर्न छुट्टै कोष समेत स्थापना गरिएको बताए । प्रतियोगिताको लागि पाल्पा केन्द्रको संयोजकमा प्रकाश पन्त र लमही केन्द्र संयोजकमा प्रकाश गौतम रहेका छन् ।

प्रतेक केन्द्रमा हिट राउन्डबाट ६ वटा बिद्यालय सेमी फाइनलमा प्रवेश गर्नेछन । उक्त सेमी फाइनलमा बिजेता हुने विद्यार्थीले प्रथमले ९ हजार, दोस्रोले ६ हजार , तेस्रोले ४ हजार ५ सय प्राप्त गर्ने शिक्षक प्रकाश खनालले जानकारी दिए । प्रत्येक केन्द्रबाट प्रथम र द्वितीय भएका दुई–दुई टोली गरी ६ टोलीबीच मंसिर १३ गते शनिबार न्यू होराइजन मा.वि. देवीनगरबाट फाइनल प्रतिस्पर्धा हुने छ । फाइनलमा प्रथम हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजारसहित शिल्ड, ट्रफि र प्रमाणपत्र पाउनेछन् । कार्यक्रममा बिद्यालयका उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल र राजीव श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाललगायतले मन्तव्य राखेका थिए । गत वर्षको ३१औं संस्करणमा बुटवलको एभरेष्ट बोर्डिङ स्कूल प्रथम, दाङ तुल्सीपुरको अमर बोर्डिङ स्कूल द्वितीय र पाल्पाको जनता मावि तानसेन तृतीय स्थानमा रहेका थिए ।




