कञ्चन । रूपन्देही जिल्ला खो–खो सङ्घ रूपन्देहीको आयोजनामा आयोजित प्रथम रूपन्देही जिल्ला विद्यालयस्तरीय छात्र–छात्रा खो–खो खेल प्रतियोगिता २०८२ कञ्चन गाउँपालिका–३ धमिनताल खेलमैदानमा सम्पन्न भएको छ ।
रूपन्देहीका विभिन्न विद्यालयका छात्रातर्फ १० टिम र छात्रतर्फ १४ टिम सहभागी भएको प्रतियोगितामा छात्र तर्फबाट हरैया माबि प्रथम भएको छ भने छात्रातर्फ रुद्रपुर मावि प्रथम भएको छ । यस्तै छात्रतर्फ जनकल्याण मावि गैंडहवा दोश्रो भएको छ भने छात्रातर्फ हरैया मावि दोश्रो भएको आयोजकले जनाएको छ । प्रतियोगिामा छात्रतर्फ रुद्रपुर मावि तृतीय हुँदा छात्रातर्फ पोहवा मावि तृतीय भएको छ ।
त्यसैगरी प्रतियोगितामा छात्रातर्फ उत्कृष्ट डिफेन्डर रुद्रपुर माविकि विद्यार्थी प्रिती घर्ती, उत्कृष्ट अट्र्याकर उपाधि रुद्रपुर माविकै पूर्णीमा बोहोराले प्राप्त गरेका छन् । यस्तै छात्रतर्फ उत्कृष्ट डिफेन्डरको उपाधि हरैया माविका बिक्की सुनार र उत्कृष्ट अट्र्याकरको उपाधि जनकल्याण मावि गैंडहवाका साजन खड्काले प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन कार्यक्रममा बिजेता तथा उपबिजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कार दिँदै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले खेलकुदले विद्यार्थीहरुलाई अनुशासन, आत्मविश्वास र एकताको भावनाको विकास गराउने बताइन् ।
समय–समयमा हुने विभिन्न प्रतियोगिताहरुले विद्यार्थीहरूमा क्षमता विकास र स्वस्थ प्रतिस्पर्धाको भावना उत्पन्न गराई हरेक कार्यहरुमा एकता, सहकार्य र सहनशिलताको विकास समेत गराउने उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले गाउँपालिकाले आगामी दिनमा सहयोग र प्रोत्साहन गर्ने जनाइन् ।
त्यसैगरी कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले कञ्चन गाउँपालिका ग्रामीण क्षेत्र भनिए पनि खेलकुदका लागि पर्याप्त सम्भावना रहेको बताउँदै यस्ता प्रतियोगिताले स्थानीयस्तरमै खेल प्रतिभा पहिचान गर्न मद्दत गर्ने बताए । खेलकुदलाई शिक्षासँगै जोड्न सके विद्यार्थीहरूले कञ्चनलाई देश र विदेशमा समेत चिनाउन सक्ने भन्दै खेलकुद अनुशासनको प्रायवाची समेत भएको जनाए ।
त्यसैगरी लुम्बिनी प्रदेश खो–खो सङ्घका अध्यक्ष तुलबहादुर थापाले रूपन्देही जिल्लामा खो–खोको लोकप्रियता बढ्दै गएको र प्रदेशस्तरका प्रतियोगितामा सहभागी हुन योग्य खेलाडी उत्पादन गर्नमा समय समयमा सञ्चालन गरिने प्रतियोगितात्मक खेलहरुले सहयोग पुग्ने बताए ।
प्रतियोगितामा संघका सल्लाहकार रामबहादुर थापाले
खो–खो हाम्रो मौलिक खेल भएको यसलाई विद्यालयस्तरमै निरन्तरता दिन सके राष्ट्रियस्तरमा पनि रूपन्देहीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नसक्ने दक्ष खेलाडीहरुको उत्पादन हुने दाबी गरे ।
रुपन्देही जिल्ला खो खो सघंका अध्यक्ष राजकुमार थापाको अध्यक्षता गर्दै खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान पु¥याउने बताए । अध्यक्ष थापाले प्रतियोगिता सम्पन्न गर्न रुपन्देहीका विद्यालय, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था र खेलाडीहरुबाट भएको सहयोग र सहानुभूति तथा अमूल्य सुझाबप्रति धन्यवाद समेत व्यक्त गरेका थिए ।
संघका उपाध्यक्ष अमृत काफ्लेको स्वागत तथा सचिव गंगालाल पौडेलको सञ्चालनमा प्रतियोगिता सम्पन्न भएको थियो ।




