नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै यस्तै अनेक खाले विवाद, षडयन्त्र, जालसाझी र खुराफाती हुँदै आएको छ । नेकपाकै स्थापना दिनकै विवाद छ । त्यस्तै संस्थापक नेताहरुकै बिचमा पनि विवाद छ । यो त भयो विवाद स्थापना दिन र संस्थापक नेताहरुको बारेमा । तर २००८ सालपछि भयो विवाद नेतृत्व निर्माणकै लागि ।
नेकपाको पहिलो महाधिवेशन संस्थापक नेता क. पुष्पलालकै नेतृत्वमा आयोजना भयो र त्यसको मूल नीति कार्यक्रम सबै उनकै पारितन भयो । तर त्यसको नेतृत्व महाधिवेशनमा मनमोहन अधिकारीलाई सुम्पियो । पार्टीको विचार–सिद्धान्त–नीति कार्यक्रम सबै क. पुष्पलालको तर त्यसको कार्यान्वयन गराउने र लागू गर्ने जिम्मा फेरि मनमोहनको भयो । हो यही नेरबाट नेकपामा षड्यन्त्र र गुटबन्दीको थालनी भयो । त्यति बेला पुष्पलालमाथि अनेक थरी आरोप प्रत्यारोप लगाउने काम भयो । पुष्पलालमाथि पहिलो आरोप थियो– कांग्रेसी पृष्ठभूमिको, कम शैक्षिक योग्यता अनि जातीयता अर्थात् श्रेष्ठ–नेवार जनजातिको भन्ने । राजा–दरबारीया कालमा राजनीति गर्ने प्रमुख जिम्मेवारी बाहुन–क्षेत्री–ठकुरीमा बढी केन्द्रित थियो । त्यस्तै कुनै न कुनै रुपमा वर्गीयता नै नभनिएता पनि शैक्षिक र उपल्लो खानदानीपनको वर्चस्व त्यहाँ देखिएको थियो ।
त्यसपछि पार्टीमा क्रमशः वर्गीय दृष्टिकोणमै अनि राजनीतिक रुपमा नै भिन्नता बढ्दै गइरहेको थियो । पार्टीको क्रान्तिकारी जुझारुपनमा ह्रास हुँदै क्रमशः समन्वयकारी सम्झौता परस्त रुझान बढ्दै अन्ततः पार्टीमाथिको प्रतिबन्ध हटाउने नाममा तत्कालीन पार्टी महासचिव मनमोहन अधिकारीले राजतन्त्रलाई स्वीकार्दै पार्टीलाई पहिलो पटक दक्षिणपन्थी अवसरवादमा पतन गराए । त्यसैको जगमा पछि डा. केशर जंग रायमाझीले पार्टीलाई दरबारिया पार्टीमा रुपान्तरण गराए । २०१७ सालपछि नेकपा एक प्रकारले छिन्नभिन्न जस्तै बन्न गयो । कोही नेता–कार्यकर्ता भूमिगत भने केही नेता–कार्यकर्ता गिरफ्तार पछि जेल–नेलमा राखिए ।
यसरी २०१७ सालदेखि नै नेकपामा टुटफुट, गुटबन्दी र गद्दारीको थालनी भयो । दोस्रो महाधिवेशनका महामन्त्री रायमाझी दरबार परस्त गद्दार बने भने तेस्रो महाधिवेशनका महामन्त्री तुल्सीलाल अमात्य रुसी सामाजिक साम्राराज्यवादका अनुयायी बने । तर यी दुवैका विरुद्ध क. पुष्पलालले २०२४ सालमा पार्टीकोे पुनर्निर्माण थालनी गरे । त्यस्तै २०२७ सालमा मोहन विक्रम, निर्मल लामाले नेकपा पार्टीको केन्द्रीय न्यूक्यिस बनाए भने २०२८ सालमा झापा विद्रोहीहरुले नेकपा को.के. बनाए । यी तिनवटै समूह घटकमा आपसी एकता, सहकार्यभन्दा बढी हानथाप, गाली गलौज यतिसम्मकि एकले अर्कालाई गद्दार, दलाल आदि आरोप प्रत्यारोप लगाउँदै अघि बढे । गद्दार पुष्पलाल, उग्रवामपन्थी भडकाव नामका ठूलठूला ग्रन्थहरु पनि लेखिए ।
पछि यो विरासदलाई एकातिर झापा विद्रोहको जगमा बनेको नेकपा (माले) र नेकपा (चौ.म.) को जगमा बनेको मसाल–चौ.म.ले अघि बढाउने काम गरे । यी दुई दलहरुको पुरानो विरासदलाई अहिले एकातिर नेकपा (एमाले) र अर्काेतिर मसाल–माओवादीले अगाडि बढाउँदै आएका छन् । यी दलहरुमध्ये मुख्त त एमाले र माओवादीबिचमा ठूलो प्रतिस्पर्धा छ । एमालेका केपी ओली अनि माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डबीच नै यसमा बढी प्रतिस्पर्धा भइरहेको छ । एकले अर्कालाई जे भन्दा र जे गर्दा नङ्गाउन सकिन्छ त्यो सब गरिरहेका छन् । यी दुईबिच पटक–पटक एकता अनि फुट हुने गरेको छ । जुन निरपेक्ष एकता अनि मिलाप फेरि त्यस्तै निरपेक्ष फुट र विभाजन हुने गरेको छ । जे होस् यी दुवैले एकले अर्कालाई जसरी आरोप प्रत्यारोप गर्ने गरेका छन् । वास्तवमा यी दुवै समान अवसरवादी छट्टु, फटाहा, धोकेवाज आदि नै हुन् । कागले आफ्नो नाम आफैँ बोले जस्तै दुवै समान यस्तै नै हुन् ।
तैपनि जान अनजान केही अलग भएका विभिन्न व्यक्ति समूह यी दुवै दलमा प्रवेश गरिरहेका छन् । यतिसम्मकि हिजो यी दुवैलाई नङ्गाउँदै अलग भई बसेका जस्तो उदाहरण एमालेकी रामकुमारी झाँक्री अनि माओवादीका गोपाल किराँती जस्ता मान्छेहरु पनि फेरि ओली र प्रचण्डकै गुनगान गाई पार्टी प्रवेश गरिसकेका छन् । उनीहरुकै भाषामा हिजोका फटाहा, डाँका र अपराधी यी दुई ओली प्रचण्ड अहिले बडो इमान्दार, निरपराध र साँधु भइसकेका भनी यी दुवैको बखान गर्दै पार्टी प्रवेश गरिरहे्का छन् । आखिर यी सबै एउटै काले काले मिलेर खाऊ भाले भने जस्तै मिलिखान, लुट्नका लागि एक भएका छन् । अवसरवादको पनि एउटा हद हुन्छ, तर यी सबैमा अवसरवादको पनि एउटा चरम पराकाष्टा लाज श्रम केही नभएका नाङ्गै बुङ्गै हिंडेको पनि पत्तो नपाउने यी कस्ता अवसरवादी ? नाम लिंदा पनि घीन लागेर आउँछ ।
केही मान्छेहरु हिजो ओली फटाहा, प्रचण्ड फटाहा भनी अलग भई बसे । बडो क्रान्तिका र राष्ट्रवादका चर्का चर्का आवाज उठाउँदै हिंडे । तर, आज फेरि घुम्दै फिर्दैै कोही ओली कहाँ र कोही प्रचण्ड कहाँ ओत लाग्न आइपुगेका छन् । एउटा उदाहरण पूर्व एमाले नेता भीम रावल प्रचण्डको शरणमा आइपुगेका छन् । एमाले ओलीले किक हानी लडाई बाहिरिएका भीम रावलले लामो समयसम्म अझैै पनि ओलीबाट केही झर्ला र खाउँला भनी पर्खी बसिरहे । तर जे गर्दा पनि केही सीप नलागेपछि अन्ततः एउटा अभियानको नाममा एक वर्षदेखि देश दौडाहा गर्दै थिए । कालापानीका सुस्ता महेशपुर अनि अमेरिकी परियोजना एमसीसी र भ्रष्टाचारीका विरुद्ध चर्का चर्का कुरा उठाउँदै आएका भीम रावल अन्ततः तिनै महाकाली नदी सम्झौताका नाइके र भ्रष्टाचारी त्यस्तै एमसीसी परियोजनालाई सदनबाट पारित गराई छाडेका प्रचण्ड अनि माधवकुमार नेपालकै ओत लाग्न आइपुगेका छन् । अब फेरि कुन नाकले ओलीको विरोध गर्र्ने अनि कुन नाकले महाकाली, कालापानी सुस्ता, महेशपुर, एमसीसी र भ्रष्टाचारको विरोध गर्ने ? ताप्केको माछो भुंग्रामा भनेको यही हो ।
कतिपयले प्रचण्डको यो पार्टी एकीकरणलाई माओवाद परित्याग गरेको भन्दै विरोध गरिरहेका छन् । वास्तवमा प्रचण्डले माओवाद मात्र होइन माक्र्सवाद–लेनिनवादलाई नै धेरै पहिलेदेखि नै परित्याग गरिसकेका थिए । पार्टीको नाममा माओवाद त खाली एउटा टेडमार्क मात्रै भएको थियो । यसभन्दा पहिले भएको एमाले–माओवादीबिचको पार्टी एकतामा नै प्रचण्डले त्यसलाई परित्याग गरिसकेका थिए । प्रचण्डले माओवाद भने ओलीले जनताको बहुदलीय जनवाद छोडी एकता गरेका थिए । यी दुवै अवसरवादी, षड्यन्त्रकारीहरुका लागि के को राजनीतिक विचार, सिद्धान्त चाहिन्छ र ? दुवै अवसरवादी ताक परे तिवारी नत्र गोतामे । खाली पद, प्रतिष्ठा र कुर्सीकै लागि मरिहत्ते गर्ने यी अवसरवादी छट्टुहरुले यो छोडे र उ छोडे भन्नु नै बेकार छ ।
अन्त्यमा यी दुवै अवसरवादीहरुको यसरी बढी चर्चा गरिरहनुभन्दा उचित एउटा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्निर्माणका लागि चर्चा गर्दा राम्रो हुनेछ । दुवै एमाले वा हालै निर्मित प्रचण्ड नेतृत्वको नेकपाबिचको यो पार्टी द्वन्द्व र एकताले आम जनता र क्रान्तिकारीहरुलाई राम्रो पाठ सिकाएको छ । यसरी अवसरवादी जति नाङ्गिदै जान्छन् त्यति त्यति क्रान्तिको लागि उपयुक्त वातावरण हुँदै जान्छ । यी दुवैको द्वन्द्व र एकता खाली संसदीय निर्वाचनका लागि मात्र हो । कुनै देश जनताको हक हित र परिवर्तनको लागि हुँदै होइन । कांग्रेसी र पुराना पञ्चे मण्डलेहरुसित त चुनावी एकता गर्र्ने यिनीहरुका लागि वाम एकता हुनु र नहुनुको कुनै अर्थ नै छैन । यिनीहरुले जे गर्दा पनि हुन्छ । सर्वाङ्ग नाङ्गिएकालाई के को लाज श्रम अनि के को राजनीतिक विचार–सिद्धान्त र नीति कार्यक्रम ? बरु सच्चा वामपन्थी कम्युनिष्ट क्रान्तिकारीहरु सबैले क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्निर्माणको लागि सोचौं ।




