पाल्पा । अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा रामपुर–५ स्थित रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयले उपाधि जितेको छ। किसानबारी मैदानमा भएको फाइनलमा रामपुर–६ को दरैठाँटी माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो। खेलको एकमात्र निर्णायक गोल चिराजन मल्लले गरे।
विजेता टोलीले नगद ३० हजार, उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। आधारभूत मावि र आनन्द निकेतन विद्याश्रम सेमिफाइनलमा पुगेका दुवै टोलीलाई ८/८ हजार रुपैयाँ प्रदान गरिएको थियो।
प्रतियोगिताका उत्कृष्ट खेलाडी सन्देश राना (रामपुर अंग्रेजी आवासीय) रहेका छन्। उत्कृष्ट डिफेन्डर विशन चौवे (दरैठाँटी), सर्वाधिक गोलकर्ता रोहित विश्वकर्मा (आनन्द निकेतन) र उत्कृष्ट गोलरक्षक संगम विक (रामपुर अंग्रेजी आवासीय) घोषित भए।
रामपुर नगरपालिकाको संरक्षणमा सञ्चालन भएको प्रतियोगितामा रामपुर र चापाकोट क्षेत्रका १७ विद्यालयले सहभागिता जनाएका थिए।




