बुटवल । ‘शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ लक्ष्मी माध्यमिक विद्यालय बुटवलले श्रीमद्भागवत सत्संग एवं शैक्षिक तथा धार्मिक महोत्सव – २०८२ सञ्चालन गर्ने भएको छ । बुटवल – ४ स्थित लक्ष्मीनगरस्थित विद्यालयले यही मंसिर १९ गतेदेखि २६ गतेसम्म विद्यालय प्राङ्गणमा महायज्ञ गर्न लागेको हो ।
महोत्सव तथा महायज्ञ मूल समारोह समितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षाको उन्नयन, सामाजिक, धार्मिक तथा आर्थिक पक्षलाई बलियो बनाउन धार्मिक महोत्सव आयोजना गर्न लागेको बताइन् ।
विद्यालयका प्रधानाध्यापक शान्ति शर्माले यो महोत्सव धार्मिक कार्यक्रम मात्र नभई गुणस्तरीय शिक्षाका लागि आर्थिक स्रोत जुटाउन आयोजना गरिएकोे बताइन् । बुटवल – ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले महायज्ञले विद्यालयको उन्नयनमा विशेष योगदान पुग्ने हुँदा सबै क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त हुने बताए । बुटवल – ४ का निवर्तमान वडा अध्यक्ष टंकप्रसाद पराजुलीले विद्यालयको आर्थिक तथा शैक्षिक विकासका लागि महायज्ञको आयोजना गरिएको हुँदा समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार तथा महायज्ञ मूलसमितिका सल्लाहकार एवं प्रचारप्रसार उप–समितिका संयोजक डा. बालकृष्ण चापागाईंले लक्ष्मीनगरमा रहेको लक्ष्मी मा.वि.को शैक्षिक तथा भौतिक पूर्वाधारको विकासका लागि महायज्ञ कोसेढुङ्गा सावित हुने बताए । महायज्ञमा सुप्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्लेकोसंगीतमय श्रीमद्भागवत कथा वाचन हुनेछ । महोत्सव अवधिभर दैनिकरुपमा बिहान ७ बजे यज्ञ मण्डप पूजा, बिहान ८ बजेदेखि ११ बजेसम्म श्रीमद्भागवत पाठपारायण, रुद्राभिषेक, चण्डीपाठ, वेदपाठ पारायण हुनेछ ।
त्यस्तैगरी दिउँसो ४ बजेपछि टीका प्रसाद ग्रहण, साँझ ६ बजेदेखि श्रृङ्गारिक महाआरती आरम्भसँगै साँझ ७ बजेदेखि महात्म्य कथा प्रवचन, भजनकृतनसहित झाँकी प्रदर्शन गर्दै प्रत्येक दिन बिहान योग शिविर समेत सञ्चालन गरिनेछ । सोही अवसरमा धर्म, शिक्षा र समाज उत्थानमा योगदान गर्ने महानुभावहरुलाई विशेष सम्मान समेत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
विं. सं. २०३७ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक महायज्ञ गर्न लागेको हो । महायज्ञका लागि १ सय ५१ सदस्यीय मूलआयोजक समिति गठन भएको छ । महायज्ञमा करिब १२ लाख खर्च हुने र ४ करोडको संकलन हुने अनुमान गरिएको छ । उक्त विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट पढाइसँगै २ सय १६ जना विद्यार्थीहरुले अध्यन गर्दै आएका छन् ।




