प्रकाश डोटेल
स्याङ्जा
राष्ट्रिय गौरबका आयोजना निर्माणमा ढिलासुस्ती भइरहेको बखत र देशभर सञ्चालित अधिकांश ठूला योजना अलपत्र परेका छन् । अधिकांश आयोजना निर्माणमा निर्माण कम्पनीको लापरबाही देखिन्छ भने केही आयोजनाहरुको सरकारले भुक्तानी दिन नसक्दा निर्माणको गति सुस्त भएको छ । ठूला पूर्वाधार निर्माणमा ढिलाइ हुँदा नागरिकमा नैराश्यता बढ्दो छ ।
समय सिमाभित्र आयोजना निर्माण नहुँदा पूर्वानुमान लागत महँगो पर्न गएको छ । निर्माण कम्पनीको लापरबाहीले लामो समयदेखि काम रोकिएका आयोजनाको सरकारले ठेक्का सम्झौता तोड्न खोजिरहेको छ । ठूला आयोजना निर्माणमा कम्पनी र सरकार दुबैतर्फबाट कमजोरी भइरहेको बेला स्याङ्जामा सञ्चालित जिल्लाकै ठूला आयोजनाहरुको प्रगति भने सन्तोषजनक रहेको छ ।
स्याङ्जामा सञ्चालित सडक तथा पुल निर्माणका एक दर्जन ठूला आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालयले दाबी गरेको छ । पाँच करोडभन्दामाथिका बहुवर्षीय आयोजनाअन्तर्गत सडकतर्फ ८ र पुलतर्फका चार गरी जिल्लाभित्रका १२ आयोजनाको प्रगति सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । जिल्लाका बहुवर्षीय आयोजनामध्ये सडकतर्फको एक अर्ब ६१ करोड १९ लाख ५६ हजार ४७२ रुपैयाँ बजेटमा ८१ करोड ११ लाख ४० हजार ९०६ रुपैयाँ अर्थात् झण्डै ५१ प्रतिशत खर्च भएको छ भने पुलअन्तर्गतको १९ करोड ९१ लाख ७९ हजार ४२३ रुपैयाँमध्ये करिब ३९ प्रतिशत अर्थात् ७ करोड ७४ लाख तीन हजार ४२२ रुपैयाँ खर्च भएको छ । सडक र पुलको गरी एक अर्ब ८१ करोड ११ लाख ३५ हजार ८९५ रुपैयाँ कुल लागतको ८८ करोड ८५ लाख ४४ हजार ३२८ रुपैयाँ अर्थात् ४९ प्रतिशतभन्दा बढी रकम खर्चलाई कार्यालयले सन्तोषजनक प्रगति भनेको हो ।
‘पाँच करोडभन्दा बढी लागतका विगत पाँच वर्षदेखिका १२ वटा आयोजनाहरु सञ्चालनमा छन्,’ पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख इञ्जिनियर दयाराम अधिकारीले भने–‘कुल बजेटको ४९ प्रतिशत खर्चलाई हामीले सन्तोषजनक मानेका छौं ।’
वित्तीय प्रगतिलाई आधार मान्दा ४९ प्रतिशत मात्रै खर्च भए पनि सबै आयोजनाहरुको भौतिक प्रगति भने अपेक्षाकृत नै रहेको उनले जनाए ।
सडक आयोजनामध्ये शुक्लागण्डकी–दुलेगौडा हुँदै हरिनाश गाउँपालिका केन्द्र जोड्ने सडकको ८६ प्रतिशत स्तरोन्नति भएको छ भने बिर्धा–गलहाम, बनकसी खहरे सडकको ८५ प्रतिशत भौतिक प्रगति भएको छ । कार्यालयकाअनुसार शालिग्राम करिडोरको ६० प्रतिशत, र्मिमी–बिर्धा, रानीघाट मोटरबाटोको ५२ प्रतिशत, रत्ने–सुन्तलाबारी सडक खण्डको ५१ प्रतिशत, अर्जुनचौपारी–रापाकोट सडकको ४० प्रतिशत र वालिङ–हुवास सडक निर्माण तथा स्तरोन्नति ३२ प्रतिशत सकिएको छ ।
सडकतर्फकै सबैभन्दा ठूलो ४२ करोड ४२ लाख ९४ हजार ६७९ लागतको गल्याङ–चापाकोट सडकको २६ प्रतिशतले हुने १० करोड ३३ लाख १८ हजार १९० र पुलतर्फको ठूलो गौरीघाट मोटरेवल पुलको पाँच करेड ५१ लाख ७५ हजार ६६६ रुपैयाँमध्ये तीन करोड एक लाख ७६ हजार अर्थात् ७६ प्रतिशत खर्च भएको छ । बिरुवा गाउँपालिका–६ चिन्नेबासमा आर्थिक वर्ष २०८०÷८१ बाट बन्दै गरेको पुल चालु वर्षको चैत्रमा निर्माण सम्पन्न हुने कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०-८१ बाट निर्माण थालिएको बिरुवा गाउँपालिकाको राक्सेघाट पक्की पुलको ७८ प्रतिशत काम सकिएको छ । पुतलीबजार नगरपालिका–३ सिन्गालेस्थित मोटरेबल पुलको ४७ प्रतिशत प्रगति देखिन्छ भने फेदीखोलास्थित सेतीखोला पुलको ३७ प्रतिशत वित्तीय प्रगति भए पनि अधिकांश पुलको संरचनागत भौतिक प्रगति ७५ प्रतिशतभन्दा बढी रहेको छ । अधिकांश सडक र पुल निर्माणको ठेक्का लिएका कम्पनीले आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु¥याएको कार्यालयका इञ्जिनियर पोषराज पौडेलले बताए । सडक चौडा बनाउने, टेवा पर्खाल लगाउने र बेश बिछ्याउने धेरै काम सकिएको छ भने पुलको आवश्यक संरचना तयार भइसकेको छ, अधिकांश सडक कालोपत्रे र पुल ढलानको मात्रै काम बाँकी रहेको पौडेलले जनाए ।
जिल्लामा सञ्चालित ठूला आयोजनामध्ये धेरैको समयसीमा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म छ । भौतिक प्रगति विवरणका आधारमा १२ ठूला आयोजनाहरु चालु वर्षमै सकिनेमा कार्यालय विस्वस्त छ । कार्यालयको सक्रियता र पहल, आयोजनाको प्राप्त प्रगति र निर्माण कम्पनीको तदारुकताले आयोजना समयमै सकिनेमा विश्वास लागेको कार्यालयले जानकारी दिएको छ ।




