२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रिय दलालहरूलाई भोट होइन चोट

राष्ट्रिय दलालहरूलाई भोट होइन चोट

राष्ट्रिय दलालहरूलाई भोट होइन चोट

राष्ट्रिय दलालहरूलाई भोट होइन चोट

कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • अहिले आगामी फागुन २१ गते विघटित संसदीय सदनको निर्वाचन हुने कि नहुने भन्नेमा व्यापक चर्चा–परिचर्चा भइरहेको छ । वर्तमान जेनजी प्रस्तावित आइएनजीओ–एनजीओ सरकारले चुनाव गर्नमा व्यापक प्रचारप्रसार गरिरहेको छ । तर यसमा कति सत्यता छ ? त्यो भने बुझ्नै बाँकी छ । यसको यथार्थ कि त विदेशी साम्राराज्यवादी शक्ति केन्द्रलाई थाहा होला कित स्वदेशी पूर्व शाही नेपाली सेनालाई । किनकि यो सरकार विदेशी साम्राराज्यवादी शक्ति केन्द्रद्वारा परिचालित विदेशी गैरसरकारी संगठनद्वारा अनुमोदित सरकार हो । जेनजीको नाममा बनेको भने पनि यो सरकार अहिले जेनजीद्वारा उठाइएका मागप्रति बेवास्ता गर्दै अघि बढिरहेको छ । त्यही भएर जेनजीका केही समूहहरुले यो सरकारको विरुद्ध आवाज उठाइरहेका छन् । स्वयं अहिले गृहमन्त्रीको राजीनामाको माग  गरिरहेका छन् ।


    पहिलो कुरा त यो निर्वाचन प्रतिनिधिसभाको विघटन र यो सरकारको निर्माण जेनजीहरुको माग नै होइन । यिनीहरुको मुख्य माग त देशमा सुशासन, भ्रष्टाचारको उन्मूलन नै थियो । तर देशी विदेशी प्रतिक्रियावादीहरुले चालु संविधान विरोधी नागरिक सरकार निर्माण गरियो र त्यसैको सिफारिसमा सदन भंग गर्ने काम भयो । रोग एउटा, तर उपचार अर्काे अर्थात् टाउको दुखेको नाइटामा मलाम भनेजस्तै भयो । एउटा रोगी र वृद्ध प्रधानमन्त्री केपी ओलीका सट्टामा अर्का रोगी र वृद्ध सुशीला कार्की प्रधानमन्त्री अनि दलीय सरकारका ठाउँमा नागरिक सरकार साथै २०८४ हुने पर्ने संसदीय निर्वाचन २०८२ मै सम्पन्न हुने मात्र सीमित रहयो । यो जेनजीहरुले मात्रै, होइन हामी नागरिकहरुले पनि बुझेको कुरा होइन । नयाँ सरकार बनाइयो समर्थन सुरुमा सबैको थियो, तर यसले गर्ने कामको कुनै निक्र्यौल भएन । जुन उद्देश्यका लागि यो जेनजी आन्दोलन र विद्रोह भएको थियो । वर्तमान सरकार त्यताप्रति जाँदै गएन । उल्टै वर्तमान राष्ट्रपतिको आदेश अनुसार खाली यो प्रतिनिधिसभाको संसदीय निर्वाचनको मात्रै कुरा उठाउँदै आएको छ ।


    त्यसैले एकातिर यसको विरोध अर्थात् यो संसदीय निर्वाचनको विरुद्ध जेनजीका विभिन्न समूहहरुले आवाज उठाइरहेका छन् भने अर्काेतिर पूर्व संसदीय ठूलो दल ने.का.यसमा मौन छ भने अर्काे ठूलो दल एमालेले भने संसद पुनस्र्थापनाको माग अघि सारेर सडक संघर्ष नै गर्ने तरखरमा छ  । साथै यो विषय सर्वाेच्च अदालतमा समेत विचाराधीन अर्थात् बहस पैरवीमा छ । वर्तमान यो संविधानले न जेनजीलाई चिन्छ न यो नागरिक सरकारलाई नै । संविधानले अहिले चिन्ने भनेको खाली राष्ट्रपति रामचन्द्र पौडेललाई मात्रै हो । राष्ट्रपति यो संविधानका संरक्षक मात्रै नभई पालक पनि हुन् । अर्थात् संविधान अनुरुप चल्ने र गर्ने अनि त्यस अनुरुप राज्यलाई हाँक्ने उनीको जिम्मेवारी हो । तर अहिले उनले जे गरे अर्थात् जेनजी आन्दोलनको दबाबमा यस प्रकारको नागरिक सरकार बनाए यो पूर्णत वर्तमान संविधानविरुद्ध छ । त्यसैले तत्काल यो सरकारको खारेजी र राष्ट्रपतिलाई समेत कारबाही हुनुपर्ने देखिन्छ । सम्भवतः सर्वाेच्चको अदालती निर्णय यस्तै पनि हुन सक्छ ।


    वर्तमान सरकार र निर्वाचन आयोगले जतिसुकै यो चुनावी तयारी सबैको बन्दोबस्त मिलिसकेको भने पनि यसमा देशको सुरक्षा निकाय भने ढुक्क भइसकेको छैन । स्वयं सरकार र यससँग सम्बन्धित जेनजी समूहहरु यसको खासै तयारीमा भएको देखिदैन । उल्टै विभिन्न दल नेताहरुलाई धम्काउँदै विभिन्न उद्योगी र व्यवयासीहरुसित जबर्जस्त चन्दा असुल्न थालिसकेका छन् । यही मंसिर ३ गते रौतहटमा हुन लागेको एमाले सभालाई जेनजीको एउटा जस्थाले त्यसलाई विथोल्ने, नेता कार्यकर्तामाथि हमला, तोडफोड र आगजनी गरेका छन् । यसबाट पहिलो कुरा यो निर्वाचन नै गर्न दिइने छैन र दोस्रो कुरा निर्वाचन भए पनि दल नेताहरुलाई चुनावमै उठ्न नदिने र दिए पनि पूर्णरुपले धाँधली गुण्डागर्दी, तोडफोड र आगजनी गरी जसरी हुन्छ जेनजीको नाममा एनजीओ र आइएनजीओ साम्रराज्यवादी दलालहरुलाई मात्रै निर्वाचनमा जिताउने षड्यन्त्र हुनेछ । तब बल्ल अहिलेदेखि चुनावी तयारीमा लागेका प्रचण्ड–माधव र विप्लवहरुका लागि यो निर्वाचन हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हुनेछ ।
    अचम्म त के छ भने नयाँ साँधुले धेरै खरानी घस्छ भने जस्तै यो निर्वाचनका लागि नेकपा विप्लव समूहको चुनावी चुरीफुरी बढ्दो छ । चुनावी मान्यता निर्वाचन आयोगबाट लिन भनी निर्वाचन आयोगमा गएका उक्त समूहका नेता कार्यकर्ताहरुले चुनावी चिन्ह गुलाफको फूल हातहातमा देखाउँदै रमाइरहेका छन् । 


    बरु कांग्रेस–एमाले र प्रचण्ड–माधवहरुलाई यसप्रति त्यति रुची भएको पाइँदैन । यस्ता निर्वाचनदेखि यी सबै थाकिसकेका छन् । साम, दाम, दण्ड, भेद नगरी जो कसैले पनि चुनाव जितिने स्थिति छँदै छैन । त्यसमा पनि अहिले जेनजी र जेनजीको साम्राराज्यवादी दलालहरुको सरकार अन्तर्गत यो चुनाव जित्न कठिन छ । यसैले अहिले त्यसमा पनि यो असंवैधानिक साम्राराज्यवादी दलालहरुको सरकारअन्तर्गत यस्तो संसदीय निर्वाचनमा जाने नै थियो भने विप्लव समूहले हिजो प्रचण्ड–बाबुरामहरुको विरोध गरेको अर्थ नै के रहयो ? यसभन्दा पहिलेका निर्वाचनहरुको बहिष्कार गर्ने गरेकोमा पनि कुनै अर्थ रहेन । आखिर घुम्दै फिर्दै फेरि रुम्जाटार भने जस्तै यही संसदीय चुनावी गन्धा नालीमै बस्ने र रमाउने नै देखियो ।


    अहिलेसम्म नेपालका १३० भन्दा बढी दलहरुले यो निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । यी सबै दलहरुमध्ये अहिले नेकपा एमाले दलले मात्र यो निर्वाचनप्रति त्यति चाँसो राखेको छैन । संसद पुनस्र्थापनाको लागि अदालतमा रिट निवेदन दिंदैछ । यो मात्रै होइन एमालेले यसको विरुद्धमा सडक आन्दोलन पनि गर्ने भनिरहेको छ । स्पष्ट न्यायिक छानबिन हुने हो भने अदालतबाट संसद पुनस्र्थापनाको अर्काे विकल्प नै छैन । तर जेनजीको नाममा अदालतमाथि साम्राज्यवादी हस्तक्षेप भयो भने यसमा अदालतको पनि केही लाग्ने छैन । भाद्र २३ र २४ गते अदालतमा त्यत्तिकै आगो लागेको होइन । कारण छ । त्यस्तै नियति फेरि अदालतका न्यायाधीशहरुले किन भोग्ने ? बरु जता जता बाहुन बाजे त्यतै त्यतै स्वाहा भने जस्तै गरिदिए त भइहाल्यो । हुन त कुनै कारण यो विघटित संसदको पुनस्र्थापना भइहाले पनि समस्या समाधान हुनेवाला छैन । झन् विकराल समस्या खडा हुने देखिंदैछ । विदेशी साम्राज्यवादी शक्ति देश भित्रिसके अब त्यत्तिकै छोडी जानेवाला छैनन् । अमेरिकी साम्राराज्यवादी परियोजना एमसीसीमार्फत् यहाँ साम्राज्यवादीहरु भित्रिसके । केही दिन पहिले अमेरिकी जहाज मार्फत थुप्रै आधुनिक हातहतियार पनि यहाँ भित्राइसकेको चर्चा छ । कतै यी हतियारहरु यो आगामी निर्वाचनलाई ध्यानमा राखेर ल्याइएको त होइन ? त्यो अब जे पनि हुन सक्छ । त्यसैले अब यो निर्वाचन अनि संसद पुनस्र्थापना जे भए पनि देश र जनताको खास समस्या समाधान हुने छैन ।
    अहिले मूल समस्या देशको राष्ट्रियता र स्वाभिमानको छ । मुलुक अहिले विश्व साम्राज्यवादको अखडा बन्दैछ । चीन–भारत र अमेरिकी साम्राज्यवादबिचको द्वन्द्वमा देशलाई मुछिंदैछ । नयाँ नयाँ साम्राज्यवादी दलालहरुको बिगबिगी देखिंदैछ । राज्यका हरेक अंगमा विदेशी हस्तक्षेप बढ्दो छ । विगतमा भएको जेनजी आन्दोलनप्रति नेपाली सेनाले देखाएको रमिते रवैयाले देशको स्वतन्त्र सार्वभौमिकता गुमेको आभास सबैलाई भइसकेको छ । यो चुनावी नौटंकी देखाएर देशको राष्ट्रियता र स्वाभिमानमाथि नै बज्र प्रहार हुँदैछ । त्यसैले एउटा नेपाली उखान ‘फिनी हराएको थाहा छैन, गहुँका गेडा गन्ने’ भन्ने जस्तै देशको समग्र राष्ट्रिय स्वाभिमान र अस्तित्व गुम्न लागेको छ । तर यो चुनावी नौटंकीमा रमाउने राष्ट्रिय दलालहरुको विरुद्ध देशका सम्पूर्ण देशभक्त, वामपन्थी र जनवादी पार्टी समूह र संघसंस्थाहरु एक भई संघर्षमा जुट्दै संसदीय राष्ट्रिय दलालहरुलाई भोट होइन चोट भन्ने नाराका साथ संयुक्त मोर्चा नै निर्माण गरी संघर्षमा जुटौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij