सीमा पारिबाट हुँदै आएको तस्करी नियन्त्रण गरी राजस्व संकलन गर्न प्रहरीको सक्रियता प्रशंसनीय छ । गत बैशाखदेखि कार्तिकसम्म २२ करोड ८८ लाख रुपैयाँको अवैध सामान प्रहरीले बरामद गरेको छ । यो परिमाण हेर्दा खुला सीमाको प्रयोग गर्दै अवैध ओसारपसार भइरहेको र त्यो नियन्त्रण गर्न प्रहरी सक्रिय भएको देखिन्छ ।
रूपन्देहीमा नेपाल–भारतबिचको खुला सीमा ७० किमि लामो छ । भैरहवा भन्सार कार्यालय विन्दुबाट बाहेक अरु क्षेत्रबाट अवैध ओसारपसार गर्न कारोबारी सक्रिय हुँदै आएका छन् । अबैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई सरकारले सीमा क्षेत्रमा खटाएको छ । सशस्त्र प्रहरी बाहेक नेपाल प्रहरीको छुट्टै सक्रियता छ । दुई प्रहरी युनिटको एकीकृत र समन्वयात्मक परिचालन हुने हो भने अवैध कारोबार नियन्त्रण हुनसक्छ, तर समन्वयात्मक परिचालन हुन सकिरहेको छैन । जेनजी आन्दोलनपछि प्रहरीको मनोबल खस्केको छ । प्रहरीप्रति अवैध कारोबारी हावी हुन खोजिरहेको बेला प्रहरीले जुन सक्रियता देखाएको छ, यसले समाजमा सकारात्मक छवि निर्माण गरेको छ । अवैध कारोबार मौलाउँदा मुलुकले अपेक्षित राजस्व संकलन गर्न सक्तैन् नै, समाजमा अपराध पनि मौलाउँछ । समाजलाई अपराध मुक्त बनाउनका लागि पनि अवैध कारोबार रोक्नुपर्छ । प्रहरीले अवैध कारोबार नियन्त्रणका लागि अहिले देखाएको सक्रियताले प्रहरीप्रति विश्वास बढेको छ । यद्यपी अहिलेको सक्रियताले मात्रै समाजमा मौलाउँदो अवैध कारोबार नियन्त्रण हुँदैन्, प्रहरी सक्रियताको रफ्तार अझै बढाउन आवश्यक छ । अवैध कारोबार नियन्त्रण गर्न प्रहरी एक कदम अघि बढ्दा अवैध कारोबारी दुई कदम अघि बढ्ने स्थिति छ । अवैध कारोबारीले नयाँ खालको संयन्त्र तयार गरिरहेका हुन्छन्, उनीहरुलाई निस्तेज पार्न प्रहरीलाई साधन स्रोतले मजबुत बनाउनुपर्नेछ । प्रविधिको प्रयोगलाई विस्तार गर्दै जाँदा समाजमा प्रहरीको भूमिका अब्बल बन्दै जानेछ ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबिच कतिपय काममा टकराव बढेको र क्षेत्राधिकारमा प्रश्न उठेकोले तालुक निकायले समन्वयको वातावरण बनाउन ध्यान नदिने हो भने त्यो द्वन्द्वको फाइदा अबैध कारोबारीले उठाउने छन् । जे भइरहेको छ, राम्रो भएको भनेर ढुक्कले बस्ने होइन्, अझै राम्रो गर्न र गराउनका लागि पहलकदमी हुन सक्दा मात्रै प्रहरीले जिम्मेवारी पूरा गर्न सक्छ ।




