मुलुकको पूरानो पार्टी कांग्रेस यतिखेर आगामी महाधिवेशन कहिले गर्ने भन्ने बारेमा अनिर्णयको बन्दी भएको छ । एकमहिना लामो छलफल गर्दा पनि केन्द्रीय समितिले कुनै निकास निकाल्न सकेन् । साताअघि सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवाबाट निकास निस्कने आशा गरेका कांग्रेस नेता कार्यकर्ता अहिले निराश छन् ।
विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेकाले महामन्त्री गगन थापालगायत विशेष महाधिवेशनको पक्षमा दरिलो ढंगले उभिएका छन् । महामन्त्री थापाले आगामी चुनावको टिकटमा शेरबहादुर देउवाको हस्ताक्षर नहुने भन्दै प्रष्ट सन्देश दिएका छन् । सभापति देउवाको समूह आगामी चुनाव अघि महाधिवेशन नगर्ने अडानमा छ । महाधिवेशन नियमित गर्ने र चुनावपछि गर्ने त्यो समूहको बटमलाइन देखिन्छ । देउवा निकट केही केन्द्रीय सदस्य चुनाव अघि नै नियमित महाधिवेशन गर्न सकिने विकल्प दिएका छन् । मुलुकमा यतिखेर अन्यौल, द्विविधा र भयको वातावरण छ ।
यो बेला प्रमुख राजनैतिक दलले कमिकमजोरीको समीक्षा गरी मुलुकको निराशा र अन्यौललाई चिर्नुपर्ने अभिभारा छ । कांग्रेस पुरानो र लामो समय मुलुकको शासन प्रक्रियामा सहभागी लोकतान्त्रिक पार्टी भएकाले पनि उसको भूमिका अझै बढी छ । मुलुकको यो अवस्था आउनुमा प्रमुख राजनैतिक दलको भूमिका कुनै न कुनै रूपमा जिम्मेवार छ । नीतिको व्यवहारमा कार्यान्वयनमा कमजोरी, आचरणमा चुक हुँदा मुलुकमा अराजकता हावी भयो, राज्य संयन्त्रलाई खरानी बनाउने काम भयो । जे भयो, त्यो कमजोरीलाई स्वीकार गर्दै पुनः राजनीतिको मियो बन्न दलहरु उठ्नै पर्छ, किनकि जिम्मेवार राजनैतिक दलले नै हो, मुलुकको नेतृत्व गर्ने । कांग्रेसको अहिलेको कचिङगलको व्यवस्थापन अहिलेको माग हो । विगतमा झैं अल्झिएर बस्ने छुट कुनै दललाई छैन । दलहरु बलिया भएर उठ्न सक्दा मात्रै मुलुकको अराजकता निस्तेज हुन सक्छ ।
अर्को प्रमुख दल एमालेले महाधिवेशनको घोषणा गरिसक्यो । मंसिरको अन्तिम साता महाधिवेशन सम्पन्न गरी एमालेले लय समात्ने तरखरमा छ । एमालेझैं अरु दल पनि अन्यौल र दिशाहिन भएर होइन्, लयमा हिंड्न ढिलाइ गर्न हुन्न । चुनाव अघि नै महाधिवेशन हुनसक्दा बदलिदो परिवेशको सम्बोधन हुने भएकाले त्यसका लागि नेतृत्व अग्रसर हुन सक्नुपर्छ । महाधिवेशन लोकतान्त्रिक पार्टीको नियमित प्रक्रिया भएकाले त्यसलाई स्वभाविक लिनुपर्छ । आशा गरौँ,—यही मंसिर ११ गते बस्ने केन्द्रीय कमिटीको बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ ।




