टेकराज पौडेल
(मष्ट फरक हो, हिन्दू फरक हो भनेर भन्नेहरुले यो आलेख राम्रोसँग पढ्दा हुन्छ । राप्रपा या आर एस एस त्यसको नेपाली शाखा एच एस एस , मण्डलेहरुले जस्तो हिन्दू हिन्दू भनेर मात्रै हँुदैन पृथ्वीपथ र वैदिक समाजवादको नेपाल एकीकरणको जग र हाम्रो मौलिकता पहिला बुझनु पर्दछ ।)
हिमालय कैलाश पर्वत एवम् पञ्चकैलाश क्षेत्रका ओरपर रहेका पार्वतीका माइतीहरू जसले शिव महादेवलाई जवाइँ इष्ट देव मान्नेहरूले शिवलाई अरूहरूले ‘महादेव’ (महा + देव = महादेव) भनेर सम्बोधन गर्दा यीनीहरूले महादेवका सट्टामा महा + इष्ट = महाइष्ट भने, महाइष्ट महाइष्ट भन्दाभन्दै कालान्तरमा अपभ्रंश भएर बोलचालमा ‘मष्ट’ भनेर सम्बोधन गर्न थाले । यिनै मष्ट भनेर शिव पूज्ने खसहरूलाई ‘मष्टो’ सम्प्रदायका (हिमावत खण्ड जडान+खषानलगायतमा बस्नेहरूलाई) भनिन्छ, यिनीहरू शिव शाक्तलाई विशेष महत्वका साथ पुज्दछन् ।
देवराज इन्द्र, इन्द्रका छोरा जयन्त पनि यहीँ रहेर शिव पूज्ने वा मष्ट मानेकाले मष्टो नै भनिए, यसै गरी शिवका साथमा हिंड्ने गणहरूका सन्ततिहरू पनि सनातन् शिव पूजक भएकाले मष्ट पुज्नेहरूले मष्टो नै भने । यी सबै हिमावत खण्ड जडान+खषान मै बस्नेहरू मष्टो (जयन्त नन्दीहरू महामष्टपूजक भएकाले नै यिनीहरलाई वा यिनीहरूका सन्ततिहरूताई पनि मष्टो भनिएको हो ।) हुन पुगे । अतः यिनीहरूले पुज्ने मष्ट वा महामष्ट भनेका देवाधिदेव महादेव शिव नै हुन् ।
कैलाश पुगेर महादेव शिवको पूजा आराधना गरेर मानसरोवर बाट जल ल्याएर मात्र मष्टको पूजा गर्ने मष्टो धामीहरूको कुलपरम्परा रहेको कुराले पनि यो महादेव शिवलाईनै मान्ने सनातन परम्परा हो भन्ने प्रमाणित गर्दछ ।
महादेव शिवलाई जसरी नाथ परम्परामा ‘आदिनाथ’, याक्थुङ् लिम्बुहरुले ‘थेबा’, राईहरुले ‘पारुहाङ्’ भनेर स्यम्भू महादेवलाई नै भने जस्तै मष्टो परम्परामा ‘महामष्ट’ भनेको पनि महादेव शिव नै हुन् ।
अछामको प्राचीन वैद्यनाथ धाममा महादेव शिवलाई ‘वैद्यनाथ’ भनिएको छ । यसरीनै दैलेख र कालीकोटको सिमानामा अवस्थित अग्लो पहाडको पाटनमा महादेव शिवको प्राचिण धाम महावु धाम अवस्थित छन् । यहाँ शिवलाई ‘महाबु’ पनि भनेको देख्दछौ । रसुवा जिल्लामा गोसाइँकुण्ड छन् । ‘गोसाईँ’ भनेका पनि उनै महादेव शिव नै हुन् । तेसैले गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ ।
अतः हामी सबैले ‘महामष्ट’ भनेका पनि उनै महादेव शिव हुन् भन्ने कुरामा स्पष्ट हुनुपर्छ । हिजो आज विखण्डनकरीहरूले मष्ट वा महामष्ट मान्नेहरू भिन्नै धर्मका हुन भनेर सनातन हिन्दू धर्मबाट विछुट्याउन लागिपरेका छन् । संसारै भरी सनातन देखि उनै महादेव शिवलाई अनेकन नामले पुकारेको यथार्थता हामी सबैले मनन् गर्नुपर्दछ । महामष्ट पुज्ने मष्टोहरू वेदका रक्षकहरू पनि हुन् । मष्टोका बाँठवालाका धामीहरूले अझै धामी परम्परामा मष्टका माण्डौहरूमा धामीहरूमा शक्ति जागेर (औतियर) वाणी फतुर्न (धमेलो) थाले पछि संस्कृत नपढेकाहरूले पनि वेदका ऋचाहरू बकने गरेको देखिन्छ । कति धामीहरूले त वेदनै मुखाग्र भन्ने गरेको स्थानीयहरू बताउँछन् ।
मष्ट सम्प्रदायमा विशेष १२ भाइ मस्ट र नौ भवानी पूजिन्छन् । मष्ट सम्प्रदायमा १२ भाइ मस्ट भनेको महामस्ट शिव १ र शिव यानि रूद्रका ११ वटा प्रमुख अवतारहरूलाई जोडेर भनिएको हो । मष्टका विभिन्न स्थान र अवस्थिति मा भिन्नाभिन्नै नाम र रूपमा पुकारेको पाइन्छ । रूद्रले असत्य अत्याचारको संहारकालागि महारौद्ररूप धारण गरेको स्वरूपहरूलाई ‘दाह्रेमष्ट’ का रूपमा पूजा गरीन्छ । रूद्रले सुशासन स्थापना गरी सञ्चालन गर्दाको स्वरूपहरूलाई ‘रजवालीमष्ट’ का रूपमा पूजागरीन्छ एवम् रूद्रका सौम्यरूपको स्वरूपहरूलाई ‘दुधेमष्ट’ का रूपमा पूजा गरिन्छ । यसरी १) दाह्रेमष्ट २) रजवालीमष्ट र ३) दूधेमष्ट गरी तीन प्रकारका धेरै नामका मष्टहरू विभिन्न स्थानमा पूजेको देखिन्छ ।
जस्तै; शम्भू मष्ट , कैलाश मष्ट, भैंरु मष्ट, सिद्ध मष्ट, हिमाल मष्ट, ढुङ्गाशिलत मष्ट जस्ता यी नामहरू हेर्दा शिव वा भैरव नै मष्ट देव हुन भन्ने कुरा झनै प्रष्ट हुन्छ । शिव वा भैरवलाई विभिन्न स्थानहरूका थानहरू भएका ठाउँअनुसार भिन्नाभिन्नै नामले पुकारेको मात्र हो भन्ने कुरा अवगत हुन्छ ।
चौरासी प्रकारका मष्टोहरूलाई यसरी पुकार्ने गरिएको छ; १) दूडाँल मष्ट २) दाहे मष्ट ३) कुवाँ मष्ट ४) खापर मष्ट ५) बाबिरा मष्ट ६) लाँकुरी मष्ट ७) बूडु मष्ट ८) सिम मष्ट ९) बामदेव मष्ट १०) लाटो मष्ट ११) गुरौँ मष्ट १२) वनपाल मष्ट १३) टुसापानी मष्ट १४) टेढो मष्ट १५) मुडुलो मष्ट १६) कैलो मष्ट १७) सुन्दर गाउँ मष्ट १८) लडे मष्ट १९) विनायक मष्ट २०) सुनार गाउँ मष्ट २१) रामपाली मष्ट २२) वनपाल मष्ट २३) दुवे मष्ट २४) सुम्ले गुरो मष्ट २५) राग्मचुला मष्ट २६) भूइँयार मष्ट २७) रुमाल मष्ट २८) दूधे मष्ट २९) कालसिल मष्ट ३०) बान्की मष्ट ३१) थुर्पा मष्ट ३२) बाँ मष्ट ३३) लिउँडी मष्टो ३४) कुमी मष्ट ३५) ढुङ्गाशिलत मष्ट ३६) क्षेत्रपाल मष्ट ३७) उखाडी मष्ट ३८) पुँआले मष्ट ३९) बहिरो मष्टो ४०) मण्डली मष्ट ४१) महादेव मष्ट ४२) महारुद्र मष्ट ४३) देवीथान मष्ट ४४) छल मष्ट ४५) कालो मष्ट ४६) बिजुवा मष्ट ४७) राउटकोट मष्ट ४८) सोलुपाल मष्ट ४९) लोहासुर मष्ट ५०) सिमताडी मष्ट ५१) भइँगुरो मष्ट ५२) दयाशिला मष्ट ५३) कैलाश मष्ट ५४) उत्तरे मष्ट ५५) हिमाल मष्ट ५६) भैंरु मष्ट ५७) तेडीदेव मष्ट ५८) ठिगाल मष्ट ५९) भुइँफुटा मष्ट ६०) महानै मष्टा ६१) धौलापुर मष्ट ६२) बास्को मष्ट ६३) कुलसैन मष्ट ६४) मशाला मष्ट ६५) लेखाडी मष्ट ६६) काफल मष्ट ६७) क्युडी मष्ट ६८) धुरा मष्ट ६९) श्वेता मष्ट ७०) वरनाथ मष्ट ७१) लेह मष्ट ७२) सिद्ध मष्ट ७३) धुर गाउँ मष्ट ७४) शम्भू मष्ट ७५) बाझकोट मष्ट ७६) भातेखोला मष्ट ७७) कुलदेव मष्ट ७८) राहदेव मष्ट ७९) सुपारी मष्ट ८०) धौत्यात्री मष्ट ८१) गन्याप मष्ट ८२) बाइफल मष्ट ८३) सैन मष्ट ८४) ततिकोट मष्टो लगायतका हुन् ।
धेरै ठाउँमा १२ भाइ मष्टहरू भनेर पुज्ने पनि गरिन्छ ।
जस्मा १) थार्पु मष्ट २) बाविरा मष्ट ३) क्वा मष्ट ४) बुडु मष्ट ५) कालाशीला मष्ट ६) दुग्धशीला मष्ट ७) मटेश्वर मष्ट ८) छान्ना मष्ट ९) काँडा मष्ट १०) विनायक मष्ट ११) तलिगोठी मष्ट १२) लिउदी मष्ट हुन् । यसैगरी सबै मष्टोहरूले पुज्ने महामष्ट, मष्ट एवम् मातृशक्तिका मुख्य नौ स्वरूपहरूमा नौ भवानीहरू सतिदेवी पार्वती लगायत शक्तिस्वरूपा नवदुर्गा देवीका नौ रुपहरू नवदुर्गा; १) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघण्टा ४) कूष्माण्डा ५) स्कन्दमाता ६) कात्यायनी ७) कालरात्री ८) महागौरी ९) सिद्धिदात्री हुन् । मसग्र ‘मष्टो’ हरूले शक्ति वा शक्तिस्वरूपा को महत्वका साथ पूजा, आरधना गर्ने गर्दछन् । अठार डाईनी मसानी भूत पिचासको पनि पूजा हुन्छ ।
मष्टोहरूले अत्यन्तै आस्था राख्ने बडीमालीका मालीका कलीका देवीहरू प्रमुख हुन् । बडीमालीका भनेकी सतिदेवी हुन् । मालीका भनेकी पार्वती हुन् । कालिका भनेकी काली देवि हुन् । काली देवीका अन्यरूपहरूलाई चौसट्ठी योगीनी भनिन्छ । (भद्रकाली, कालरात्री, महालक्ष्मी, महासरस्वती, माहेश्वरी, विंध्यवासिनी, अम्बिका, महामाया, वाराही, यमुना, छिन्नमस्तिका, वैष्णवी, बेताली, नर्मदा, कौमारी, उमा, नारायणी, समुद्रा, बिरुपा, चामुण्डा, गङ्गालगायत चौसट्ठी स्वरूपमा पूजिन्छन् ।
सुदूरपश्चिम लगायत कर्णाली क्षेत्रमा गौरा पर्वमा गौरा–महेश्वरको शुभविवाहको उत्सव स्वरूपमा मनाईन्छ । गौरापर्व मनाउँदा गाउने चैत, ढुस्का, धुमारी गीतहरूमा शक्ति जागरणका गीतहरू हुन्छन् । यसमा राष्ट्रका ऐतिहासिक वीरपुरुषहरूको बहादुरीको वीरताको गाना पनि गाइन्छ । नेपाल भरी पश्चिमदेखि पूर्वसम्मै धेरै स्थानहरूमा महादेव शिव (भैरव) बडीमालीका मालीका कलीका एवम् देवीहरूलगायत योगीनीहरूका मन्दिर शक्ति पिठहरू छन् जहाँ मष्टोहरू लगायत सम्पूर्ण सनातनीहरूले उत्तिकै श्रद्धाले पुज्दछन् ।
मष्ट पूज्दा मष्टोहरूले घरमाडू वनमानडूका थानहरूमा सेता राता धजा चढाउँछन् । माडुमा त्रिशूल, रुद्राक्षका माला, चवँर, धुप, दिप, शंखघण्ट, डमरू हुन्छन् । शिरमा लामा लामा शिखा राखी धातुवा काठको दण्डमा धजा चवँर बाँधेर राजदण्ड बनाई पूजाथानमा थापनागरी मष्टको धामी डाँगरद्वारा पूजा आरधना गरीन्छ । मष्टको आरधना गरी धामी डाँगरमा शक्ति सञ्चार हुँदा डाँगरहरू काम्पायमान हुँदै फतुर्न (वानी निस्कन) थाल्दछन् ।
पञ्चकैलाश क्षेत्रका मष्टो पूजकहरूको भाषा जड्+खसान (प्राचिन संस्कृतबाट बनेको) भाषा हो । खसभाषा कालक्रमैले परिमार्जित हुँदै अहिले नेपाली राष्ट्रियभाषा भएको छ । यो नेपाली भाषाहरूको मूल मातृभाषा संस्कृत हो । संस्कृत भाषाको व्याकरणकार ‘महेश्वर सूत्र’ को उत्पत्ति भगवान नटराज (शिव) द्वारा गरिएको ताण्डव नृत्यका डमरुका नाद टङ्कारबाट भएको हो । मष्टोहरूको ‘फाग’, ‘सगुन’, ‘हुड्केली’ एवम् ‘भारत’ जस्ता लोक संस्कृतिमा मष्टोको प्रमुख सम्बन्ध देवाधिदेव महादेव, शक्तिस्वरूपा सती पार्वती, देवराज इन्द्रसँग रहेको र थानहरूमा त्रिशूल, सेता र राता धजाहरूमा सेता धजा शैवको प्रतिक र राता धजा शाक्तका प्रतिक हुन् । मष्ट पूज्ने मस्टो (जड–खसान) हरूको नृत्य हुड्केलीलगायतका नृत्यगर्दा पनि महादेव कै हातमारहने अनहदनादको प्रतिक डमरू बाजा बजाउने गर्दछन् । माण्डौ (पूजास्थल) हरूमा मूलधामी बस्ने गादीहुन्छ । यो गादी इन्द्रासनकै आसनको प्रतिक र धातुको दण्डमा धजाबाँधेको दण्ड राजदण्डकै प्रतिक हो । ‘इन्द्रका पुत गोसाई मण्डालनीका जाय’ भनि गाउने फागले पनि यो कुरा प्रष्ट हुन्छ ।
हाल समाजमा परम्परागतरुपले पितापूर्खादेखि मान्दै आएका कूल पित्री रीतिथिती, संस्कार, परम्परा बिथोल्दै धर्मबाट बिछुट्ट्याईमा हुत्याउने र पछि आफ्नो रीलिजनमा हुल्ने ध्येयमा प्रचक्रीहरू द्वारा परिचालीत फण्डमा चल्नेहरूले मष्टो पूजकलाई विभिन्न बहानामा तिमीहरू हिन्दू हैनौ भनेर भ्रमजालमा पार्न सलबलाई रहेको देखिन्छ । यिनीहरूले मष्टोहरूलाई प्रकृति पूजक मात्र हौ हिन्दू होइनौ भन्दछन् । हिन्दू मष्टोलाई प्रकृति पूजक मात्र हौ भनेर बिछुट्याउन चाहने धूर्तहरूले सनातन हिन्दूहरू जस्ले, गौरीशङ्कर पञ्च कैलाश हिमालयदेखि गोवर्धन पर्वतसम्म अनेकन पहाड पर्वत पूज्नेहरू प्रकृति पूजक नदेख्नु ! पिपल, बर, तुलसी, कुशसम्मका अनेकन वृक्ष जडीबुटीहरू पूज्नेहरूलाई प्रकृति पूजक नदेख्नु, नाग, गाई, गोरू, कुकुर, कौवा , गरूढ, गजलगायत अनेकन जीवजन्तु जनावरहरू पूज्नेलाई प्रकृति पूजक नदेख्ने ! गङ्गा देखि गङ्गासागरसम्म सम्पूर्ण जलका जलधारा तालतलैयादेखि कुण्डसम्म पूज्ने सनातनीहरूलाई प्रकृति पूजक नदेख्ने ! धरती आकाश चन्द्रमा सूर्यदेखि नवग्रह तारा नक्षेत्रसम्मका आकाशीय पिण्डहरू पूज्ने सनातनीहरू प्रकृति पूजक नहुने तर सनातनबाट बिखण्डनका लागि मष्टो मात्र प्रकृति पूजक हुन भन्ने ! ? यो सनातन धर्ममा आघात गर्ने विखण्डनकारीहरूको निकृष्ट ध्येय पञ्चभूत तत्वका भूमि, जल, अग्नि, वायु , आकाशसम्म सबै पूज्ने सनातन हिन्दूहरूहुन भन्नेकुरा सबैलाई संज्ञान होवस् !
धूर्तहरूले हिन्दू धर्म त इण्डियाबाट आएको धर्म हो भन्न सम्म भ्याउँछन्, यिनीहरूले हिन्दू शब्द हिमालयबाटै बनेको र सनातन हिन्दू धर्मकै आदिउद्गम यहीँ भएको कुरा छिपाउँछन् । यात हिमालयका पाँच खण्ड मध्ये मानसखण्डमा प्रथम मनुष्य मनुको प्रदुर्भाव भएको र यिनै मनुको उत्पत्ति स्थल भएकाले यस खण्डलाई ‘मानस खण्ड’ भनिएको थाहा नभएर हो । मानु कै नामबाट मनुका सन्ततिहरूलाई मनुष्य भनियको हो । यो थाहा नभएर हो भनौ भने वेदको भाष्य यहीँ हिमालयका काखमा हिमनदीका सङ्गममा भएको कुरा थाहा नै होला, तर पनि जुन् मष्टोहरू सनातन शिव शाक्त हिन्दूधर्मका खास संवाहकहरू हुन् यिनैलाई स्वधर्म परम्पराबाट बिछुट्ट्यायर बिथोल्न अनेकन तरका अफवाह फैलाएर गिजोल्ने कुचेष्टा गर्दै लागिपरेकाहरू देखिन्छन् । यस्ता धर्म नै नमान्नेहरूनै यसरी निर्लज्ज भएर अनेकन तरहले अफवाह फैलाउँदै सनातन धर्मबाट बिछुट्ट्याउन खुल्लम खुल्ला निकृष्टहरू लगेको समाजिक सञ्जालहरूमा छरपष्ट देखिन्छ । तेस्ता मिसनका ध्रुत सिकारीहरूको भ्रमजालमा सनातन हिन्दूहरू कोही पनि पर्नुहुँदैन, हामी सबै मष्टपूजकहरूलाई यो कुराको संज्ञान हुनुपर्दछ !
मष्टो सम्प्रदाय विशुद्ध शैव एवम् शाक्तको प्रतिनिधित्व गर्ने प्राचिण एवम् प्रमुख एक परम्परा हो !
ॐ नमः शिवाय !
जय महामष्ट ! कपि रोशण शाह
जय किँरातेश्र्वर !
जय आदिनाथ !




