प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका जेनजी समूहहरुलाई सुरक्षाकर्मीले मंगलबार सिंहदरबार मुल गेटबाटै लखेटे । सोमबार प्रधानमन्त्री कार्यालयमा भेट्न बोलाएर दिनभर कुराएर प्रधानमन्त्री फ्याट्ट अर्कै ढोकाबाट बाहिर निस्किन् । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्रीको कुर्सीमा पुगेकी कार्कीले अहिले जे व्यवहार गरेकी छन्, त्यो राम्रो होइन् । यस्तो व्यवहार प्रधानमन्त्रीको तहबाट गर्न मिल्ने हुँदै होइन्, यस्तो व्यवहारले मुलुकमा मुठभेड निम्तिन सक्छ ।
प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश कार्कीको नियुक्तिको आधार सुशासनमा अब्बल भन्ने छविले हो । उनको नियुक्तिलाई यो संविधानले चिन्दैन । संविधानले नचिन्ने विधिबाट नियुक्त भएकी उनी जुन विषयमा अब्बल छन् भन्ने भाष्य खडा भएको छ, त्यही विषयमा प्रश्न उठेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव दर्शन श्रेष्ठले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा श्रीमतीलाई नियुक्त गरेको विषयमाथि प्रश्न उठ्नु स्वभाविकै हो । यो प्रश्नबाट प्रधानमन्त्री उम्किन पाउँदिनन् । स्वकीय सचिवमा आर्दश धेरै अब्बल हुन सक्छन्, तर जति उनको गुनगान गाए पनि श्रीमतीको नियुक्तिको विषय सुशासनमा प्रश्न उठ्ने विषय हो । अहिले जेन जी समूह प्रधानमन्त्रीलाई यो नियुक्ति गलत भयो, खारेज हुनुपर्छ भन्न गएका हुन् । त्यसैगरी, उनीहरुले विभिन्न माग अघि सारेका छन् । ती माग पूरा गर्न सकिन्छ भने पूरा गर्ने तिर लाग्नुप¥यो । सकिंदैन भने सकिंदैन् भनेर प्रष्ट कुरा भन्नु प¥यो । प्रधानमन्त्री कार्यालयमा कुराएर भेट नदिने र गेटबाटै प्रहरी लगाएर लखेट्ने विषय गलत छ । सत्ता र शक्तिमा पुगेपछि कतिपय विषयवस्तुलाई सामान्य ठान्ने प्रवृत्ति मुलुकका लागि घातक छ । कार्कीले पहिले विभिन्न ठाउँमा बोल्दा गम्भीर ठानेका विषय अहिले प्रधानमन्त्रीमा पुग्दा किन सामान्य भए ? यो प्रश्नको उत्तर उनले दिनुपर्छ ।
यो सरकारको काम चुनाव गराउने हो । तोकिएको समयमा चुनाव हुनुपर्छ । त्यसका लागि सरकारले वातावरण बनाउनुपर्छ । सरकारले चुनावको वातावरण सार्थक वार्ता र संवादबाट गर्न सक्छ । राजनैतिक दल र जेनजी समूहहरुसँग हुने वार्ता र संवादले नै हो चुनावको वातावरण बनाउने । सिंहदरबारको मुल ढोका बन्द गरेर संवादहिन ढंगले अघि बढ्दा चुनावको वातावरण बन्दैन । के फागुन २१ को मितिमा चुनाव गर्ने होइन् र ?




