२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डिजाइनमा दलहरूको फुट र जुट

डिजाइनमा दलहरूको फुट र जुट

डिजाइनमा दलहरूको फुट र जुट

डिजाइनमा दलहरूको फुट र जुट

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • नेपालमा गराइएको जेनजी आन्दोलन र यसको परिणामबाट बनेको वर्तमान सुशीला कार्की नेतृत्वको नागरिक सरकारले गर्ने भनेको संसदीय निर्वाचनको सरगर्मी बढ्दो छ । अर्थात् धमाधम नयाँ–नयाँ दल निर्माण हुँदै निर्वाचन आयोगमा दर्ता भइरहेका छन् । स्वयं पुराना दलहरुमा पनि टुट फुट र जुट अर्थात् पार्टी विभाजन र एकता पनि तीब्र रुपमा भइरहेको छ । कांग्रेस–एमाले टुटफुटका लागि अन्तिम डिलमा पुग्दैछन् । यता प्रचण्ड नेतृत्वको एमाओवादी र माधव नेपाल नेतृत्व नेकपा (एस) बीचमा पार्टी एकता भएको भनिए पनि एकताभन्दा बढी टुटफुट अर्थात् विभाजन भएको स्थितिमा छ ।


    नेपालमा मात्रै होइन यस्ता दलीय टुटफुट र एकता विश्वका अन्य मुलुकमा पनि हुने गरेको छ । यस अर्थमा यो कुनै नयाँ कुरा भएन । नेपालको सन्दर्भमा त झनै नयाँ नै भएन । घण्टा घण्टामा फुट हुन्छ अनि घण्टा घण्टामा दलीय एकता र समीकरण हुन्छ ।  जस्तो उदाहरण कसले सोचेको थियो र  भनेको थियो नेकपा (माओवादी) र नेकपा (एमाले) बिचको एकीकरण त्यसमा पनि केपी ओली र प्रचण्डबिचको त्यो एकता । अनि फेरि कसले सोचेको थियो केही वर्षभित्र नै एमाले माओवादी अनि माधव, झलनाथ आदिहरुबिचको फुट र अहिले फेरि प्रचण्ड माओवादी र माधव समाजवादीबिचको पार्टी एकता । 


    न हिजो यी दलहरुबिचको एकता राजनीति विचार र सिद्धान्तमा आधारित थियो न पछि फुटमा साथै अहिलेको एकतामा पनि । खाली आ–आफ्नै व्यक्तिवादी अहंकार र पद, प्रतिष्ठा कुर्सीकै लागि मात्रै थियो । हुन त यो सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ता नै यस्तो हो त्यहाँ जसले पनि देश र जनताको हितका लागि होइन आफ्नै व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा, कुर्सी र बढी आ–आफ्नै गुटका लागि गरिने राजनीति ।


    यो खाली कम्युनिष्ट भनौदाहरुका लागि मात्रै नभएर आफूलाई खाटी लोकतन्त्रवादी भन्दै आएको नेपाली कांग्रेसका लागि पनि हो । कांग्रेस पार्टीको स्थापना र जन्म नै संवैधानिक राजतन्त्र र कथित लोकतन्त्रका लागि नै थियो । कांग्रेस पार्टीमा प्रमुख स्थापित नेता वीपी कोइरालाले पटक–पटक यो कुरालाई आधारभूत पार्टीको राजनीतिक लाइन नै हो भनिरहे । यतिसम्मकि उनले आफ्नो गर्धन घाँटी र राजाको गर्धन घाँटी एउटै हो । देशमा राजा नरहे कांग्रेस अर्थात् प्रजातन्त्र रहन्न त्यस्तै कांग्रेस नरहे देशमा राजतन्त्र रहन्न । त्यसैले अहिले देशमा राजतन्त्र राजा छैन कांग्रेस पनि छैन । 


    त्यो बीपीको पुरानो राजनीतिक विचारलाई अहिले कांग्रेसले परित्याग गरेको छ । त्यही भएर कांग्रेसले कहिले माओवादी प्रचण्डलाई बोकी हिडेको छ भने कहिले एमाले ओलीलाई । अन्ततः कांग्रेसी यही राजनीतिक नीति र लाइनले सिद्धिन लागिसकेको छ । कांग्रेसी बुई चढेर केही समय माओवादी प्रचण्डले र यो अन्तिम समय एमाले ओलीले मोजमस्ती गरे । कांग्रेस हेरेको हेरैै । जेनजीको पिटाई र मार अनि आगलागी र लुटपाटमा कांग्रेसी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा परिन् । यो स्वाभाविक छ जस्तो कर्म त्यस्तै फल । 


    अहिले जेनजी आन्दोलनको सबभन्दा ठूलो असर देशका पूर्व ठूला दल भनिएका कांग्रेस–एमाले र माओवादीलाई पारेको छ । प्रचण्ड माओवादी त नाम निशाना नै सकिसकेको छ ।  माओवादी विचार–सिद्धान्त र राजनीति सबैलाई परित्याग गर्दै खाली नेकपाको नाममा यही दलाल पुँजीवाद त्यसमा पछि अझ अहिले जेनजी आन्दोलनलाई समर्थन गर्ने नाममा साम्रराज्यवादीहरुको दलालीमा पुगेका छन् । कांग्रेसभित्र पनि यसैमा मारामार छ । एमालेभित्र पनि त्यस्तै छ । यी सबै दलहरुमा कुनै न कुनै रुपले विदेशी शक्ति अर्थात् साम्रराज्यवादी र विस्तारवादीहरुको घुसपैठ हुँदै आएको छ । अहिलेसम्म पार्टीका मुख्य संस्थापक नेता र गुटसित मात्रै चलखेल हुँदै आएको त्यो वैदेशिक शक्ति यसपालि भने त्यसको विरुद्धमा जेनजीलाई अघि सा¥यो । जेनजीले आन्दोलन, तोडफोड र आगजनी  सबै गरे । सरकार नै ढाले । तर नयाँ सरकार बनाउन सकेनन् । आखिर नागरिक सरकारको नाममा वैदेशिक सहयोग प्राप्त एनजीओ र आइएनजीओको सरकार बन्यो । तर जेनजी आन्दोलन अनुरुप यो सरकारले काम गर्न सकेन । 


    सरकार रहने आज हो कि भोलि । स्वयं जेनजीहरु नै यो सरकारविरुद्ध उत्रिन थालेका छन् । आफ्ना पहिलेका अर्थात् भ्रष्टाचारीविरुद्ध तत्काल कारबाही पूर्व प्रम केपी ओली, गृहमन्त्री रमेश लेखक लगायत तत्कालीन आरोपित प्रहरी तथा सरकारी प्रशासनका अधिकारीहरुमाथिको कारबाही साथै संविधान संशोधन गरी प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीको निर्वाचनको माग आदि पूरा नभएसम्म निर्वाचन सम्पन्न नहुने भनी सरकारलाई ज्ञापन पत्र दिइरहेका छन् । यसरी वर्तमान यो सरकार घर न घाट अर्थात् न जेनजीको न पुराना दलको । अलपत्रमा छ । तैपनि आगामी फागुन २१ गते हुने भनिएको आम निर्वाचनको बारेमा व्यापक प्रचारप्रसार गरिरहेको छ । हुनतः धेरै भुक्ने कुकुरले टोक्दैन ।


    देशका प्रायः सबै दल संघ संस्थाहरु जेनजी आन्दोलनका अगाडि पूर्णरुपले आत्मसर्पण गरिसकेका छन् । जेनजीको गुनगान । सुशीला कार्की नेतृत्व सरकारको दलाली । जेनजी पुस्तालाई प्राथमिकता दिने नाममा पार्टी संरचनामा हेरफेर आदि भइरहेको छ ।  यसमा डा. बाबुराम भट्टराई अनि प्रचण्ड अग्रपंक्तिमा छन् । पछि अहिले नेपाली कांग्रेस पनि त्यसैमा लतारिदै छ । नत्र भने कुन आधारमा यो सरकार बनेको र कुन अधिकारले संसद विघटन र संसदीय सदनको निर्वाचन ? वर्तमान चालु भनिएको संविधान अनुरुप यो केही पनि हुन सक्दैन । आखिर १० वर्षे जनयुद्धको जगमा २०६२।०६३ सालको जनआन्दोलनको बलमा बनाइएको भनिने यो संविधानको पनि धज्जी यिनै पुराना दल र दल नेताहरुले नै उठाइरहेका छन् । 


    खाली नेकपा एमाले मात्रै यो सरकारको विकल्पमा संसद पुनस्र्थापनाको माग गर्दै आइरहेको छ । हुन त यो पनि एमालेको साम्राज्यवादी र विस्तारवादीहरुसँगको एक प्रकारको बार्गेनिङका लागि पनि हो । ओलीको मुख्य बार्गेनिङ आफूमाथि तत्काल कुनै कसुरमा गिरफ्तार गरी मुद्दा नचलाइयोस् भन्ने नै हो । एक प्रकारले त्यो पूरा पनि भइसकेको छ । हिजो प्रधानमन्त्रीले राजीनामा दिएर मात्रै कहाँ पुग्छ गिरफ्तार गरी मुद्दा चलाई जेल हाल्नुपर्छ भन्ने सुशीला कार्की पछि प्रधानमन्त्री भएपछि त्यो केपी ओलीलाई छुट दिइसकेकि छन् । यतिसम्मकि अहिलेसम्म भाद्र २३ र २४ गते  भएको हत्या–हिंसा र तोडफोडको विषयमा ओलीलाई आयोगले सामान्य सोधपुछ बयान केही पनि लिन सकिरहेको छैन । आखिर ओली र सुशीला कार्कीबिचको यो द्वन्द्व मैले कुटे जस्तै गर्छु त रोएझै गर भन्ने बहानाबाजी मात्रै भएको छ । प्रतिनिधिसभाको पुनस्र्थापना माग गरे पनि अन्ततः अहिले एमाले फागुन २१ को त्यो कथित निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेको छ ।


    अब  माओवादी पार्टीमा भन्दा पनि अरु व्यक्तिगत रुपमा प्रचण्डकै विरुद्धमा उत्रिएका माओवादी नेता जनार्दन शर्मा र राम कार्की बारेमा केही कुरा गरौं । यसभन्दा पहिलेको एउटा लेखमा मैले एमालेका पूर्व नेता भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेकपामा प्रवेशलाई ताप्केको माछो भुङ्गामा भनी लेखेको थिए । ठीक त्यही फेरि माओवादीका नेता जनार्दन शर्मा र राम कार्कीले पनि गरेका छन् । जसरी भीम रावल ओलीको आक्रोशमा नेकपा प्रवेश गरे त्यसरी नै जनार्दन र राम कार्की प्रचण्डको आक्रोशले बाबुराम भट्टराईको शरणमा पुगे । जबकि हिजो १० वर्षे जनयुद्धकालदेखि नै बाबुरामको सबभन्दा चर्काे विरोध गर्नेमा जनार्दन शर्मा नै थिए । 


    तर अहिले फेरि किन र के का लागि बाबुरामसँग गाँसिन पुगे ? कारण धेरै हुन सक्छन् ती मध्ये एउटा कारण सत्ता र कुर्सी प्राप्त । भनिन्छ, अब सुशीला कार्कीको असफलतापछि यो सत्ता समाल्ने जिम्मा बाबुरामले पाउँदैछन् । जेनजीहरुप्रतिको बाबुरामको बढ्दो मोह पनि यसैमा आधारित छ । यसरी अब एकपछि अर्काेलाई उपयोग साम्राज्यवादी र विस्तारवादीहरुले गर्दैछन् । एनजीओवादीबाट जे गर्नु पर्दथ्यो त्यो नभए पछि आफू निकट दलीय नेताहरुबाट नै आफू अनुरुप केही हुन्छ कि भनी यस्ता अनेक उपाय साम्राज्यवादी र विस्तारवादीहरुले सोच्दैछन् । आखिर पार्टी जुट  र फुट यिनीहरुकै डिजाइन हुने गरेको छ ।


    अन्त्यमा म फेरि भन्छु– ताप्केको माछो भुङ्गामा भने जस्तै जो कोही दलका नेता तथा कार्यकर्ताहरुले पुराना सबै संसदवादी दलहरु परित्याग गरेर पुनः अर्का त्यस्तै दलहरुमा प्रवेश गर्दा वा बनाउँदा ठूलो धोका हुनेछ । जस्तो माथि भनियो भिम रावल एमाले छोडी नेकपा त्यस्तै जनार्दन शर्मा, राम कार्की माओवादी छोडी बाबुराम भट्टराईमा । आखिर ओली–प्रचण्ड–माधव र बाबुराम सबैमा फरक के छ र ? सबै सामन्ती दलाल र नोकरशाही बुर्जुवा । खाली रक्सी उही, तर बोत्तल मात्र फरक । त्यसैले यी सबै दल र दल नेताहरुको विकल्पमा सच्चा क्रान्तिकारी पार्टी र नेता बन्न र बनाउन अग्रसर होऊ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij