काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा तेस्रो जित निकालेको छ । काठमाण्डूले शुक्रबार चितवन राइनोजविरुद्ध ५३ रनको सहज जित निकालेको हो ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १७.२ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।
चितवनलाई सस्तैमा रोक्न राशिद खानले तीन विकेट लिए । १.२ ओभर मात्रै बलिङ गरेका उनले तीन रन मात्र खर्चिए । कप्तान करण केसी, मिलिन्द कुमार र साहब आलमले समान दुई विकेट लिए । चार ओभरमा करणले २३ रन खर्चिए । मिलिन्दले चार ओभरको स्पेलमा १८ रन मात्र खर्चिए ।
सन्तोष यादवको नाममा एक विकेट रह्यो । काठमाण्डूविरुद्ध चितवनका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । चितवनका देव खनाल र रवि बोपाराले समान २१ रन बनाए । बोपाराले यसअघि तीन खेलमा लगातार अर्धशतक प्रहार गरे पनि काठमाण्डूविरुद्ध भने त्यो लय कायम राख्न सकेनन् ।

सोहेल तान्विरले १८ रन थपे । चितवनका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।
काठमाण्डूका सिम्पसनले ६० रनको आक्रामक इनिङ खेले । उनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । सिम्पसनले २४–३ को कठिन स्थितिबाट मिलिन्द कुमारसँग चौथो विकेटका निम्ति ९८ रनको साझेदारी गर्दै काठमाण्डूको इनिङ सम्हालेका थिए ।
तर, १५.६ मा मिलिन्द कुमार र लगत्तै अर्को ओभरमा सिम्पसन पनि पभेलियन फर्किएपछि काठमाण्डू बलियो योगफलसम्म पुग्न सकेन । १२२–४ को स्थितिबाट ११ रन जोड्दा काठमाण्डूले मध्य र तल्लोक्रमका पाँच विकेट गुमायो ।
मिलिन्दले ३८ रन थपे । ओपनर बेन चाल्सवर्थले १३ रन जोडे । काठमाण्डूका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । काठमाण्डूका सन्तोष यादव र गेरहार्ड इरास्मस डक भए । कप्तान करण केसीले पनि एक रन मात्र थप्न सके । ओपनर आकाश त्रिपाठी र राशिद खान पनि क्रमशः चार र ६ रनमा पभेलियन फर्किए ।
काठमाण्डूलाई मध्यम योगफलमा रोक्न चितवनका सोहेल तान्विरले चार विकेट लिए । चार ओभरमा तान्विरले २५ रन खर्चिए । रञ्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट लिए । रवि बोपाराको नाममा एक विकेट रह्यो ।
प्रतियोगितामा काठमाण्डूको यो दोस्रो जित हो । काठमाण्डूले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो र तेस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग क्रमशः २९ र पाँच विकेटले पराजित गरेको थियो । चौथो खेलमा काठमाण्डूले लुम्बिनीविरुद्ध २२ रनको जित निकालेको थियो ।
यता, दोस्रो हार बेहोरेको चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध चार विकेटको जित निकालेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको चितवनले तेस्रो खेलमा विराटनगर किंग्सविरुद्ध ४८ रनको जित निकालेको थियो ।




