पाल्पा
लोपन्मुख अवस्थामा पुगेको नेवारी कला संस्कृति जोगाउन यमरी पुन्हीको अवसरमा तानसेनको टक्सारमा यमरी महोत्सव तथा फुड फेष्टिवल गरिएको छ । पछिल्लो समय स्थानीय परिकार, भेषभुषा कला संस्कृति परम्परा संस्कार हराउँदै गएको अवस्थामा पचिहान जोगाउन तानसेन नगरपालिका ३ नं. वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले यमरी महोत्सव गरेको हो ।
नेवारी भाषामा य भनेको मनपर्ने मरी भनेको रोटी, नेवारीमा सबैभन्दा मनपर्ने रोटीको रुपमा योमरीलाई लिने गरिन्छ । खासगरी नेवारी समुदायमा नयाँ धान भित्राएपछि घरमा भकारी वा धन्सार बनाएर राख्ने गरिन्छ । नेवारी समुदायमा मंसिर पूर्णिमाको दिन नयाँ धानको रोटी ( य मरी) बनाएर परिवार, आफन्त, इष्टमित्रलाई बाँड्ने भगवानप्रति समर्पित गरी आफू पनि खाने अरुलाई पनि खुवाउने परम्परा रहेको क्लबकी अध्यक्ष पञ्च शाक्यले बताइन् ।
नेवारी समुदायका बुढापाकाले चलन चल्ती संस्कार, विधि परम्पराहरुलाई जोगाउन खोजे पनि युवा पुस्तामा परम्परागत कला संस्कृति रहन सहन भेषभुषा हस्तान्तरण गर्न, एक पुस्ताबाट अर्काे पुस्तामा सिक्न र सिकाउन पनि तानसेनको टक्सारमा योमरी महोत्सव गरिएको कार्यक्रमका प्रचार संयोजक रिलनमान महर्जनले बताए ।
नेवारी कला संस्कृति बचाउन, बुढापाकाबाट कला संस्कृति परम्परा युवा पुस्तामा हस्तान्तरण गर्न, परम्परागतकला संस्कृतिबाट पर्यटनको प्रवर्धन गर्दै आय आर्जन गर्न सकिन्छ, चुलो चौकोमा सीमित महिलाहरुलाई आम्दानीमा लगाउन सकिन्छ भनेर मैत्री क्लब तानसेले यमरी महोत्सव गरेको क्लबकी पूर्व अध्यक्ष तुम्ला ब्रचायार्यले बताइन् ।
यमरी जस्ता परम्परागत कला संस्कृति जोगाउन तानसेन नगरपालिका तथा वडा कार्यालयहरुले बजेट नै विनियोजन गरी सहयोग र सहकार्य गर्दै आएका छन् । परम्परागत कला संस्कृति, खान, पान रहन सहनले शहर बजारलाई चलायमान बनाउने, आर्थिक कारोबार बढाउने, नगरपालिकाले समुदायको मागको आधारमा नीति कार्यक्रम र बजेटमार्फत् नै सम्बोधन गर्दै आएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
महोत्सवमा दर्शकहरुले स्टलमै यमरी बनाएको हेर्दै सिक्दै, पकाउँदै खाएर रमाएका छन् । महोत्सवमा एक पुस्ताबाट अर्काे पुस्ताले यमरी बनाउन सिकेका छन् । यमरी महोत्सवले दुई÷चार जनामा सीमित रहेको यमरी बनाउने सीप अहिले तानसेनका नेवार घरपरिवारमा फैलिंदै गएको छ । घर तथा महोत्सवमा मात्र सीमित रहेको यमरी परिकारलाई आगामी दिनमा होटल तथा रेष्टुराँहरुमा पनि उपलब्ध गराउने तयारीमा तानसेनका नेवारी समुदायहरु लागेका छन् ।




