बुटवल । मणिमुकुन्द कलेज बुटवल–११ ले पाल्पाको तिनाउ गाउंपालिका–३, मरेकका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मरेकको सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत छात्र–छात्रा तथा शिक्षक शिक्षिकाहरुलाई न्यानो कपडा ट्रयाक्सुट वितरण गरेको हो । मणिमुकुन्द कलेजमा सक्रिय संस्था मास र एमएससीसीको पहलमा कलेजका शिक्षक तथा विद्यार्थीहरु र कलेजबाट संकलन भएको रकमबाट न्यानो कपडा खरिद गरी वितरण गरिएको हो । सो अवसरमा सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण पाण्डे, वडा नं. ३ का जन प्रतिनिधी टंक बस्यालले बुटवलको कलेजले पाल्पाको ग्रामीण वस्तीको सरकारी विद्यालयमा आएर न्यानो कपडा वितरण गर्नु निकै सराहनीय काम भएको बताए । कलेजको यो सहयोगले जाडो मौसममा विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने बताए ।
कार्यक्रममा मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले संस्थाले हरेक वर्ष आवश्यकताका आधारमा एउटा सरकारी विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गर्दै आएको बताए । उनले यसवाहेक संस्थाले खेलकुद र अन्य सामाजिक क्षेत्रमा समेत सक्दो योगदान गर्दै आएको बताए । कार्यक्रममा सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव चिदीमगर, मणिमुकुन्द कलेजमा क्रियाशील मासका अध्यक्ष भुवन न्यौपाने, शिक्षक विष्णु आचार्यले आआफ्ना भनाई राखेका थिए ।




