सुनवल । नेपालकै पहिलो निर्यातमूलक फ्रेन्च फ्राइज उत्पादन गरिरहेको उद्योगले पश्चिम नवलपरासीको सुनवलमा पहिलोपटक प्रशोधनयोग्य आलुको व्यवसायिक खेती गराएको छ । फस्ट च्वाइस फुड रुपन्देहीले सुनवलको मिलन एकीकृत कृषि फार्मलाई प्लान्टर मेशिनको प्राविधिक सहयोग गरेर १० बिघा क्षेत्रफलमा आलु खेती गराएको हो ।
फार्मले महाकवि देवकोटा माविको जग्गा लिजमा लिएर पहिलोपटक प्रशोधनयोग्य आलु खेती गरेको हो ।
सुनवलमा व्यवसायिक आलु खेतीको उद्घाटन गर्दै सुनवलकी नगर प्रमुख विमला अर्यालले विदेश समेत निर्यात हुने फ्रेन्च फ्राइज उद्योगले किसानलाई आधुनिक प्राविधिक सहयोग गरेर व्यवसायिक आलु खेती प्रवद्र्धन गर्नु ज्यादै सकारात्मक रहेको चर्चा गर्दै सुनवल नगरपालिकामा सयौं बिघा खेतमा व्यवसायिक आलु खेती गर्न सकिने सम्भावना रहेको बताइन् ।
उनले आगामी वर्ष उद्योगसंग सहकार्य गरेर आलु खेती विस्तारमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाइन् । निर्यातमूलक स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नु तीनै तहका सरकारको दायित्व भएको नगर प्रमुख अर्यालले बताइन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले व्यवसायिक आलु खेती प्रवद्र्धन गर्न सहज हुने गरी नीति र कार्यक्रम बनाइने बताए ।
फार्मका अध्यक्ष दीपक ढकालले उद्योगको प्लान्टर मेशिन, उन्नत जातको बिउ, मल लगायत प्राविधिक सहयोगले व्यवसायिकरुपमा आलु खेती गर्न सहज भएको बताए । उद्योगको किसानमैत्री व्यवहार र जति धेरै उत्पादन गरेपनि बजारमूल्य भन्दा केही बढी मूल्यमा खरिद गरिदिने सुनिश्चित गरेकाले आगामी दिनमा थप जग्गामा आलु खेती गर्न उत्साह मिलेको ढकालले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघद्वारा सञ्चालित कोल्ड स्टोरलाई मिलन एकीकृत कृषि फार्मले उत्पादन गर्ने आलु भण्डारण गर्न दिन तयार रहेको कोल्ड स्टोर सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिवद्धता जनाएका थिए ।
फस्ट च्वाइस फुडका सञ्चालक कृष्ण पौडेलले किसानको पौरख : नेपालको गौरव नारा सहित उद्योगले नेपालका किसानलाई आत्मनिर्भर बनाउँदै उनीहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्य राखेर काम गरेको बताए । सरकारले प्रोत्साहन गरेमा मात्रै किसानहरु व्यवसायिक खेतीमा टिकिरिहने र उद्योगले उत्पादन बढाएर फ्रेन्च फ्राइज अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशमा निर्यात गरी नेपालको ब्यापार घाटा कम गराउन सक्ने भएकाले सरकारले नीतिगत सहजता बनाइदिनुपर्ने बताए ।
फ्रेन्च फ्राइज उद्योगलाई कच्चा पदार्थका रुपमा वार्षिक ४० हजार मेट्रिक टन उन्नत जातको गुणस्तरीय आलु चाहिने भएकाले कन्ट्याक्ट फार्मिङ अवधारणा अनुसार उद्योगले पश्चिम नवलपरासी,कैलाली लगायत करिब ३० जिल्लाका ३५ हजार किसानमार्फत चालु आर्थिक वर्षमा ३० हजार मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य लिएर आलु रोप्ने प्लान्टर मेशिन भित्राएर किसानलाई प्राविधिक सहयोग गरिरहेको छ ।
भारतबाट ल्याएको प्लान्टर मेशिनले ८ घण्टामा ५० बिघामा आलु रोप्न सक्ने उद्योगका सञ्चालक पौडेलले बताए । भारतबाट ६ जना प्राविधिक समेत ल्याएर किसानलाई मेशिनबाट आलु रोप्ने तरिका समेत उद्योगले सिकाएको छ । प्लान्टर मेशिनले खेत खन्दा गहिरो खाडल बनाउने भएकाले धेरै आलु फलाउन सकिन्छ ।
प्लान्टर मेशिनबाट आलु खेती गर्नका लागि एकै प्लटमा कम्तीमा १० बिघा खेत हुनुपर्ने प्राधान छ ।
किसानको उत्पादन लागत कम होस्, कृषि मजदुरको अभावले ठूलो क्षेत्रफलमा व्यवसायिक खेती गर्न समस्या नहोस् भनेर प्लान्टर मेशिन भित्राएको पौडेलले स्पष्ट पारे ।
उद्योगले उत्पादन गर्ने फ्रेन्च फ्राइज अमेरिका,बेलायत, भारत लगायत देशमा निर्यात हुन शुरु भइसकेको हुंदा गुणस्तरीय आलुको आपुर्ति सहज बनाउन किसानलाई आधुनिक प्रविधि, बिउ र मलमा सहयोग गरेर व्यवसायिक खेतीलाई प्रोत्साहन गरेको उद्योगका सञ्भालक पौडेलले बताए ।
उद्योगले आलु रोप्ने मेशिन संगै आलु खन्ने मेशिन पनि भित्राउने तयारी गरेको छ ।
नेपालका करिब ३० जिल्लाका ३५ हजार किसानलाई उन्नत जातको आलु खेती गराइरहेको उद्योगले चालु वर्षमा ३० हजार मेट्रिक टन आलु खरिद गर्ने लक्ष्य राखेको छ । वार्षिक ४० हजार मेट्रिक टन आलु प्रशोधन गरी फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योगको क्षमता रहेको छ । कैलाली, पश्चिम नवलपरासी लगायत तराईका सर्लाही लगायत जिल्लाहरुमा पनि प्लान्टर मेशिनबाट आलु खेती विस्तार गर्ने तयारी रहेको उद्योगले जनाएको छ ।
कन्ट्याक्ट फार्मिङलाई देशभर विस्तार गरी उद्योगलाई आवश्यक कच्चा पदार्थको आपूर्ति संगै भविष्यमा आलुको निर्यात समेत गर्न सकिने पौडेल बताउंछन् । ‘नेपालको हावापानीमा फलेको आलुका परिकार र आलु स्वादिष्ट हुने भएकाले विदेशमा समेत उच्च माग छ’–उनले भने–‘राज्यको प्रोत्साहन हुने हो भने आलुमा देशलाई आत्मनिर्भर गराउन सकिन्छ ।’
नेपालमा खपत हुने फ्रेन्च फ्राइज हालसम्म विदेशबाट आयात हुने गरेको थियो । अब ७५ प्रतिशत आयात विस्थापित भइसकेको र एक वर्षभित्रै पूरै आयात विस्थापन गर्ने लक्ष्य रहेको सञ्चालक पौडेल बताउंछन् ।
उद्योगले युरोपियन प्रविधिमा आधारित आलु प्रशोधन उद्योगबाट फ्रेन्च फ्राइजसँगै केही महिनाभित्रै आलु टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउन लगायत परिकार उत्पादन सुरु हुने पौडेलले बताए ।




