लुम्बिनीमा विभिन्न देशका अर्बपतिको सहभागितामा विश्व शान्ति कार्यक्रम आयोजना हुनु सकारात्मक छ । समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम–३ आगामी डिसेम्बर १० देखि १३ सम्म हुन लागेको हो । यो कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुनेछ ।
कार्यक्रममा १० हजारभन्दा बढी सहभागी हुने र संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विद्वान, कलाकार, युवाहरू र समुदाय प्रतिनिधि सहभागी हुने आयोजकको भनाइ छ । लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको यो कार्यक्रम हुनु लुम्बिनी र मुलुकको पर्यटन प्रवर्धनका लागि राम्रो अवसर हो । अहिले आर्थिक मन्दीले चौतर्फी निराशा बढेको र मुलुकको पछिल्लो राजनैतिक अवस्थाले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक छवि बनिरहेको बेला सकारात्मक छवि बनाउने अवसर हो ।
लुम्बिनीमा पर्यटन प्रवर्धन गर्न जति आवश्यक छ, मुलुकको छवि सुधार्नका लागि धेरै मिहिनेत गर्नुपर्नेछ । त्यो मिहिनेतका लागि लुम्बिनीमा आयोजना भएको कार्यक्रम एउटा राम्रो अवसर हो । सरकार स्वंयले पहलकदमी लिनुपर्ने कार्यक्रममा अरु कसैले लुम्बिनीमा यो कार्यक्रम आयोजना गर्नु हाम्रा लागि सुखद हो । अब सरकारले यो कार्यक्रमका लागि आवश्यक सहजीकरण गर्नुपर्छ । शान्ति सुरक्षाको वातावरण मिलाउनेदेखि अरु विभिन्न समस्या समाधानका लागि सरकारी निकायबाट कुनै कसर बाँकी राख्नुहुन्न ।
कार्यक्रममा शान्ति, जलवायु, विकास, सामाजिक न्याय तथा व्यक्तिगत कल्याणसम्बन्धी उच्चस्तरीय संवाद, सांस्कृतिक प्रस्तुति, संगीत र कलाका कार्यक्रम हुने आयोजकको भनाइ छ । यी कार्यक्रमले नेपाल र विश्वलाई जोड्ने छन् । यो कार्यक्रम तत्कालका लागि नेपालको सकारात्मक छवि बनाउन जति सघाउ पुग्छ, दीर्घकालमा अरु यस्तै कार्यक्रम गर्न लुम्बिनी रोजाईमा पर्न सक्छ । लुम्बिनी विश्वलाई जोड्ने गतिशिल पुल बन्न सक्छ । यो सम्मेलन नेपालमा ठूलो लगानी, बहुक्षेत्रीय साझेदारी र परिवर्तनकारी परियोजनाका अवसर खुल्ने अपेक्षा छ ।




