२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साम्राज्यवाद नेपाल छोड

साम्राज्यवाद नेपाल छोड

साम्राज्यवाद नेपाल छोड

साम्राज्यवाद नेपाल छोड

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • जेनजी आन्दोलन सम्पन्न भएको पनि तीन महिना पुग्न लागेको छ । तर यसले उठाएका प्रमुख माग अहिलेसम्म पनि पूरा हुनु त कता हो कता सामान्य चर्चा नै हुन छाडिसकेको छ । स्वयं जेनजी आन्दोलनको जगमा बनाइएको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले समेत जेनजीका यी सबै मागहरुलाई पूर्णरुपले बेवास्ता गर्दै अघि बढिरहेको छ । खाली अब हुने भनिएको फागुन २१ को आम निर्वाचनतिर मात्र केन्द्रित भएको देखाउने प्रयत्न गरिरहेको छ । तर आम निर्वाचन पनि हुन्छ कि हुन्न कुनै निश्चित छैन । आखिर जेनजीलाई माछो माछो भ्यागुतो, न यता न उता बेवारिसे र आम जनतालाई खाली हात्ती आयो फुस्सा अनि पुराना दल नेताहरु खास गरी कांग्रेस–एमाले र प्रचण्ड–माधव नेकपालाई हाइसञ्चो भएको छ ।


    हुन त जेनजीहरुले उठाएका यी सबै माग भने कुनै नयाँ मागहरु होइन । बारम्बार अरु नेपालका राजनीतिक दल संघसंस्था र संगठनहरुले उठाउँदै आएका मागहरु हुन् । यतिसम्मकि हिजोका पञ्चे–मण्डले दलहरुले पनि भन्ने गरेको माग जस्तो राप्रपाका सभापति लिङदेनले दिनहुँ हरेक कार्यक्रममा बोल्दा भन्ने नारा ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु जस्तै हो ।’ त्यस्तै एमाले अध्यक्ष केपी ओलीको अर्काे नारा म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न । आदि जस्ता भ्रष्टाचार, सुशासन र बेरोजगारका विषयमा धेरै यस्ता नारा भनिएका थिए । हिजोका पञ्चे मण्डले, कांग्रेस–एमाले र माओवादी आदि सबैका नारा यिनै थिए । तर दैनिक व्यवहारमा यी सबै यिनीहरुका फोस्रा बाहिर देखाउने नारा मात्रै थिए । हात्तीका देखाउने दाँत मात्रै थिए । तर खाने दाँत अर्कै भित्रभित्रै अनेकौं । बुझिनसक्नु करोडौं अरबौं र खरबौं बराबरको भ्रष्टाचार । सरकार बनाएको र सरकारमा पुगेका जो कोही पनि चोखो छँदै छैनन् । कुनै न कुनै भ्रष्टाचारजन्य घटना र काण्डमा मुछिएकै छन् । यतिसम्मकि पछिल्ला यी पुराना दलहरुको यस्तै काण्डहरुलाई विरोध गर्दै उदाएका नयाँ वैकल्पिक शक्ति जस्तो रास्वपाका रवि लामिछाने, ना.उ.पा. पार्टीका रेशम–रञ्जिता अनि जनमतका डा. सिके राहतहरु पनि यस्तै काण्डमा मुछिने गरेका छन् । रवि लामिछाने त करोडौं सहकारी रकम ठगी काण्डमा जेलमै छन् । त्यतै रंजिता श्रेष्ठको पनि अख्तियारमा मुद्दा छ । यसरी यी सबै एकपछि अर्काे रुपमा यस्तै भ्रष्टाचारजन्य काण्डमा मुछिइसकेका छन् ।


    यसपछि अहिले नेपाली नागरिकहरुको नजर काठमाडौंका मेयर बालेन, धरानका मेयर हर्क साम्पाङ र धनगढीका मेयर आदिप्रति जाने गरेको छ । सुरुसुरुमा यस्तै पहिले सबै चर्चामा आउँछन् जस्तो हिजो कांग्रेस पछि एमाले अनि पछि माओवादी, रवि लामिछाने रास्वपा आदि । तर विस्तारै यी सबै क्रमशः एकपछि अर्काे रुपमा राज्य सत्ताबाट मठारिंदै र तिखारिंदै अन्ततः भ्रष्टाचारीमा रंगिदै जान्छन् । शुद्ध र चोखा जो कोही पनि रहने देखिदैन । किनकि यो देशको राज्य सत्ता नै यस्तै छ । सामन्ती, दलाल र नोकरशाही बुर्जुवा । जसमा भ्रष्टचार, ठगी, लुट, शोषण, अन्याय, अत्याचार, हत्या, हिंसा आदि यसको वर्गीय चरित्र नै हो । संगत गुनाको फल अर्थात् यस्तो राज्य सत्ताको फोहरी आहालमा पसेपछि शुद्ध र चोखो कोही पनि हुनेवाला छैन । १० वर्षे माओवादी जनयुद्ध लडिआएका नेता प्रचण्ड–बाबुराम–बादल–महरा–वर्षमान पुन, जनार्दनलगायत प्रायः धेरै जसो माओवादी नेताहरुको स्थिति अहिले कहाँबाट कहाँ पुग्यो ? आम नेपाली जनताहरुले एकदमै नजिकबाट देखिसकेका छन् । त्यही भएर त जेनजीहरुले यिनीहरुका घरमा आगजनी र तोडफोड आदि गरे । त्यसैले अब ‘कस्ता–कस्ता कहाँ गए मुसाका छोरा दरबार’ भने जस्तै बालेन, हर्क साम्पाङ, कुलमान घिसिङ आदिहरुले अब देश र जनतामा केही गर्छन् भनी सोच्नु तत्कालका लागि पिसाबको ओभानो भने जस्तै हो । 


    हिजो जेनजीहरुलाई आन्दोलनमा उतार्न, तोडफोड र आगजनीमा रमाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएर मात्र पुग्छ ? कडा कारबाही गरी जेल हाल्नुपर्दछ भनी कुर्लिने हालकी प्रधानमन्त्री सुशीला कार्की अहिले प्रधानमन्त्री भएको पनि ४ महिना पुग्नै लागेको छ । खै त केपी ओलीलाई जेल हालेको ? जेल त के अहिलेसम्म एउटा सामान्य सोधपुछ र बयान लिन समेत नसक्ने यो सरकार र यसले बनाएको आयोग त्यत्तिकै बेकम्मा भइसकेको छ । वास्तवमा केपी ओलीले पटकपटक यो सरकारलाई हाईहुईको सरकार भन्ने गरेको ठीकै रहेछ । त्यही भएर यदि सुशीला कार्कीको राजनीतिक नैतिकता भए प्रधानमन्त्रीको पदबाट अहिले नै बर्खास्तीमा पर्नुभन्दा तत्काल राजीनामा गरिहाल्नु उनका लागि राम्रो हुनेछ । स्वयं धेरै जसो जेनजीहरुको पनि यो माग गरिरहेका छन् । हुन पनि बोकेका कुकुरले कहिले पो मृग मारेको छ र ?


    यसरी यति छिट्टै प्रम सुशीला कार्की राजनीतिक रुपमा बेकम्मा अर्थात नागिङ्गनुका पछाडि केही कारणहरु छन् । पहिलो कारण त माथि भने जस्तै राज्य सत्ताकै स्वरुपको छ । हुनत कार्की समेत यही राज्य सत्ताकै पालन पोषण  र जुठोपुरो खाई पाई आएकी एउटा पूर्व नोकरशाही कर्मचारी हुन् । यसको बारेमा त्यति भन्नु नपर्ला । फेरि यही सत्ताको जुठोपुरो खान आएर फेरि यही सत्ताको बर्खिलाप गर्न खोज्नु कति उचित छ ? राजनीतिक दल, सेना, प्रहरी, कर्मचारी सबै यही राज्य सत्ताकै अंगहरु हुन् । एउटा अंगले अरु शासकीय अंगमाथि धावा बोल्न खोज्दा अरु बाँकी अंग चुप लागि बस्ने कुरै थिएन । नेपाल प्रहरी र कर्मचारीले सहयोग नगरेको गुनासो गौरी कार्की आयोगको छ । यतिसम्मकि अहिले पछिल्लो अवस्थामा स्वयं सेनाले पनि भाद्र २३ र २४ मा घटाइएको घटनाको यथार्थ रिपोर्ट आयोगलाई नबुझाएको भन्ने समाचार बाहिरिएको छ । अनि त हुनु परेन प्रम सुशीला कार्की र छानबिन आयोगका संयोजक गौरीबहादुर कार्की नालायक, बेकम्पा र जोक्कर ?


    त्यस्तै अर्काे मूल कारण अन्तर्राष्ट्रिय शक्तिहरुबिचको अन्तरसंघर्षको छ  । यो सबैलाई प्रष्ट भइसकेको छ कि जेनजी आन्दोलनका पछाडि एउटो ठूलो साम्राज्यवादी डिजाइनले काम गरेको छ । यस्ता आन्दोलन नेपालमा मात्र होइन विश्वका अरु थुप्रै मुलुकमा पनि भएको छ । यी सबै मुलुकहरुमा यस्ता आन्दोलनका लागि ठूलो साम्राज्यवादी लगानी छ । नेपालमा जेनजी आन्दोलनको मूल कारण सामाजिक सञ्जालमाथिको प्रतिबन्ध अनि सुशासन र भ्रष्टाचार हो भन्ने गरिएको छ । तर यो बाहिरी देखावटी कारण मात्रै हो । खास भित्री कारण त अर्कै छ त्यो हो अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुबिचको प्रतिस्पर्धा र हस्तक्षेप अर्थात् अमेरिका, भारत र चीनबिचको प्रतिस्पर्धा । अझ छोटकरीमा भन्दा अमेरिकी परियोजना एमसीसी र एसपीपी त्यसपछि चिनियाँ विश्व परियोजना विआरआइबिचको प्रतिस्पर्धा । साथै भारतको यी दुवैमा भन्दा अलि फरक नेपालको चुच्चे नक्सा र तत्कालीन प्रम ओलीको चीन भ्रमण र चिनियाँ शैन्य परेडमा सहभागिता ।


    अमेरिका चीन विरोधी मोर्चा निर्माण गरी नेपाली भूमिलाई त्यसको अखडा बनाउन चाहान्छ भने चीन त्यसको विरुद्धमा छ । तर भारत अहिले न यता न उता तर यी दुवै राष्ट्रबाट मौकाको फाइदा लिन चाहान्छ । भारत एकातिर नेपालको चुच्चे नक्साको बारेमा चीनलाई मौनता अर्थात् बेवास्ता गराउन चाहान्छ भने अर्काेतिर अप्रत्यक्ष सहयोग गरी अमेरिकालाई नेपाल भित्राई चीनलाई पनि तह लगाउन खोजेको छ । यही त्रिपक्षी अमेरिका–चीन र भारतबिचको साम्राज्यवादी होडबाजी र प्रतिस्पर्धाकै उपज थियो, यो जेनजी आन्दोलन । नेपालमा भारतको एउटा मटेङ्गाले दुईवटा चरा खसाल्ने दाउँ थियो । त्यो एक प्रकारले सफल पनि भयो । ओलीको विकल्पमा सुशीला सत्तामा । तर यो भारतीय दाउँ अमेरिकालाई मन परेन । त्यही भएर अब सुशीलाको विकल्पको खोजी भइसकेको छ । ढिलो चाँडो अब भारत–अमेरिकी मध्यमार्गी नेपाली दल अनि व्यक्तिकै नेतृत्वमा अर्काे साम्राज्यवादी दलाल सरकार नेपालमा बन्ने सम्भावना बढेर गएको छ ।


    यसरी नेपाल अहिले त्रिपक्षीय साम्राज्यवादी स्वार्थको होडबाजीमा अग्रसर छ । यहाँ कुनै बेला जे पनि हुन सक्छ । त्यसैले देशभक्त तथा जनवादी आम जनसमुदायहरु सचेत हुनु प¥यो । सचेत मात्रै होइन देशको राष्ट्रियता र स्वाभिमानका लागि अग्रसर नै हुन प¥यो । देशभक्त–राष्ट्रवादी अनि विदेशी दलालबीच कित्ताकाट गराउनु प¥यो । नेपाल रहे, नेपाली हुने हो । देश रहे पार्टी हुने हो । देशै नरहे के को पार्टी–कांग्रेस, एमाले, माओवादी आदि हुने हो ? त्यसैले देशभन्दा माथि हामी कोही पनि छैनौ । साम्राज्यवाद रहेसम्म देश स्वतन्त्र हुनै सक्दैन । अन्तर साम्राज्यवादी द्वन्द्वकै कारण आज युक्रेनको हालत  के भयो ? साम्राज्यवादी दलाल जेलेस्कीकै कारण आज युक्रेन अमेरकी तथा रुसी साम्राज्यवादकै नव औपनिवेशिक मुलुक बन्ने तरखरमा छ । ठीक यसैगरी अब नेपाल पनि त्यही दोबाटोमा पुगिसकेको छ । अब ढिला नगरी साम्राज्यवाद विरोधी आम नेपाली देशभक्त, जनवादी संयुक्त मोर्चा बनाई पेरुमा जस्तै ‘याङकी गो होम’ अर्थात् साम्राज्यवाद नेपाल छोडको नारा लिई संघर्षमा जुटौं । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij