पूर्व—पश्चिम राजमार्गअन्तर्गत तिनाउ नदीमा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यहाँ पुल बनाउनेबारे दशकदेखि चर्चा भए पनि अहिले बल्ल अघि बढेको छ । अहिलेको पुल साँघुरो भएको र नदीको सतह गहिरिएसँगै जोखिममा परेपछि पुल निर्माण छिटो गर्नुपर्ने आवाज उठेको थियो । लामो समयदेखि पुल निर्माणको चर्चा भए पनि अहिले टेण्डर प्रक्रिया अघि बढेको छ । पुल सामान्य खालको नभई आकर्षक सिग्नेचर बन्ने भएकाले बुटवलको पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ ।
विश्व बैंकको साढे दुई अर्ब ऋण सहयोगमा यो पुल बन्न लागेको हो । विकास आयोजनामा मनपरी ऋण लिन थालिएको बारे बेलाबखत आलोचना पनि हुँदै आएको छ । यद्यपी यो आयोजनामा ऋण लिनु स्वाभाविक पनि छ, किन भने यो आयोजना महत्वपूर्ण र प्रतिफलमुखी छ ।
पहिले पूर्व पश्चिम राजमार्गको पुल गोलपार्कमा थियो । यो पुल वि.सं. २०३७ सालको बाढीले बगाएपछि अहिले भएको पुल निर्माण भएको हो । अनियन्त्रित ढुङ्गा गिट्टी निकासीले यो पुलको फाउण्डेशन बाहिर निस्केको छ । वर्षेनी नदीको सतह गहिरिंदै गएकोले फाउण्डेशन बाहिर निस्कने क्रम बढिरहेकोले पुल जोखिममा रहेको निष्कर्ष पुल अध्ययन सरकारी टोलीले निकालेको थियो । केही वर्षयता बुटवल–नारायणगढ सडक खण्डका आधा दर्जन पुल भाँचिएका छन् । एकातिर सडक निर्माणाधीन रहेको र पुल भाँचिएका कारण बर्खायाममा यो सडकको यात्रा जोखिमयुक्त हुँदै आएको छ ।
यद्यपी सडक निर्माणसँगै नयाँ पुल निर्माण भएकाले अब पहिलेको जस्तो जोखिम हुनेछैन । बुटवल–गोरूसिंगे सडक आयोजनाको निर्माण सुरु भएसँगै राजमार्गमा पर्ने अरु पुल धमाधम निर्माण भइरहेका छन् । यो पुल निर्माण हुने टुंगो लागे पनि थप प्रक्रिया अघि नबढ्दा अन्यौल बढेको थियो । पुल निर्माणको लागि टेण्डर प्रक्रिया अघि बढेपछि सबै खालको अन्यौल हटेको छ । अब निर्माण कम्पनी छनौट भएपछि पुल निर्माणको काम अघि बढ्ने छ । पूर्व अर्थमन्त्री एंव रूपन्देही–२ का पूर्व सांसद विष्णु पौडेलको पहलकदमी र अग्रसरताबाट पुल निर्माणको प्रक्रिया अघि बढ्न सम्भव भएको हो ।
तिनाउ नदीमा पुल बन्दा पूर्व–पश्चिम राजमार्गको यात्रा सहज हुने छ नै, बुटवल शहरको सौन्दर्यलाई पनि बढाउने छ । यो पुल तोकिएको समयभित्र पूरा गर्न र गुणस्तरीय कामका लागि नागरिक निगरानी आवश्यक छ । विकास आयोजना बन्ने खबरले जति उत्साहित बनाउँछ, अघि बढेका आयोजना समयसीमाभित्र पूरा नहुँदा समस्या छ । अर्कोतर्फ आयोजनाको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ । वैदेशिक ऋणबाट बन्ने आयोजनाको समयसीमाभित्र निर्माण र गुणस्तर दुवैमा ध्यान दिन सक्दा मात्रै नेपालको छवि राम्रो हुन्छ । र, विकासको प्रतिफल पनि राम्रा प्राप्त हुन्छ ।




