२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लैङ्गिक हिंसा न्यूनीकरणमा शिक्षिका

लैङ्गिक हिंसा न्यूनीकरणमा शिक्षिका

लैङ्गिक हिंसा न्यूनीकरणमा शिक्षिका

लैङ्गिक हिंसा न्यूनीकरणमा शिक्षिका

लैङ्गिक हिंसा न्यूनीकरणमा शिक्षिका
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • पाल्पा ।
    बगनासकाली गाउँपालिकाले महिला शिक्षक, सञ्चारकर्मी, तथा  कर्मचारीहरुबिच  प्रविधिको सही प्रयोगबाट लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी  सचेतना अन्तरक्रिया गरेको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत “प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने अभियानका साथ  पालिकाले विद्यालयका महिला शिक्षकमार्फत् बालबालिका हुँदै परिवार तथा समुदायमा  सचेतना फैलाउन  कार्यक्रम  गरेको हो । 
     
    समुदायमा बढ्दो लैङ्गिक हिंसा, घरेलु हिंसा, मानसिक पीडा, साइबर हिंसा तथा प्रविधिको दुरुपयोगका घटनाहरूलाई न्यूनीकरण गर्न अन्तरक्रियामार्फत् पालिकाले विद्यालयका महिला शिक्षकहरूलाई परिचालित गरेको छ ।  महिला शिक्षकमार्फत्, परिवार,  शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायमा  प्रभावकारी रूपमा सन्देश प्रवाह गर्न सकिने गाउँपालिकाले विश्वास लिएको छ । 
     
    महिला शिक्षकहरुसँगको अन्तरक्रियामा  बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले  समाजमा अझै पनि महिला र बालिकाहरू विभिन्न स्वरूपको हिंसाको शिकार भइरहेको उल्लेख गर्दै लैङ्गिक समानता कायम गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बताइन् । लैङ्गिक हिंसा अन्त्य गर्न कानुनले मात्र पर्याप्त हुँदैन, सामाजिक सोंच परिवर्तन गर्नु जरुरी छ, अहिलेको समयमा महिला शिक्षकहरू नै  समाज परिवर्तनका वाहक भएकाले लैङ्गिक हिंसा न्यूनीकरणको लागि प्रविधिमा आधारित रहेर अन्तरक्रिया गरिएको पालिका अध्यक्ष चिदीले बताइन् । 
     
    अहिले पुराना, परम्परागत शैलीमा हुने लैङ्गिक हिंसा न्यूनीकरण भएको छ, तर प्रविधिमा आधारित रहेर हिंसाका घटनाहरु बढ्दै गएका छन्, जसलाई न्यूनीकरणको लागि परिवार र समुदायसँग जोडिएको सबैभन्दा नजिक महिला शिक्षक भएकोले सोही विषयमा केन्द्रित गरेर नै पालिकाले कार्यक्रमको डिजाइन गरिएको पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताए । विभिन्न समयको राजनीतिक परिवर्तन, संविधानमै महिलाको अधिकारका विषयमा सुनिश्चितता भएकोले परम्परागत लैङ्गिक हिंसाका घटना कम भएको उपाध्यक्ष पाठकले बताए । 
     
    अन्तरक्रियामा सहभागी महिला शिक्षकहरूले विद्यालय तथा समुदायमा देखिएका विभिन्न हिंसाका घटनाहरूको बारेमा जानकारी गराउँदै, परिवारमा अझै पनि पुरुषबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा हिंसाका घटना हुने गरेको बताए । घर परिवारमै जन्मिने बित्तिकै छोरा छोरीबिच हुने  विभेद, फरक काम र व्यवहार, छोरीलाई कमजोर, छोरालाई बलवान बनाउने व्यवहारबाट लैङ्गिक हिंसा सुरु हुनेमा शिक्षकहरुले जोड दिए ।  अझै पनि समाजमा छोरा छोरीमा पढाइमा विभेद, घरायसी कामको भारी, बालविवाह, यौन दुव्र्यवहार, गालीगलौज तथा मानसिक दबाबका घटना विद्यमान रहेको  अन्तरक्रियामा महिला शिक्षकहरुले गुनासो गरे ।
     
    अन्तरक्रियामा  सहभागी शिक्षकहरूले लैङ्गिक  हिंसा न्यूनीकरणको लागि आफ्ना–आफ्ना विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरूलाई अधिकार र कर्तव्यबारे जानकारी दिने तथा जोखिममा रहेका किशोरीहरूलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने साथै विद्यालयमा बालमैत्री र लैङ्गिकमैत्री वातावरण निर्माण गर्न आफूहरुको पहल  रहने महिला शिक्षकहरुले बताए । शिशु कक्षामा काम गर्ने महिला शिक्षकहरुको सेवा सुविधा निकै कम भएको, उनीहरु आर्थिक रुपमा हिंसामा परेकोले पालिकाबाट आवश्यक पहल गर्न महिला शिक्षकहरुले माग गरेका छन् । 
     
    अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले लैङ्गिक हिंसाको विधमान अवस्था, दण्ड जरिवाना, कानुनी सहयोग,  साइबर अपराध, सामाजिक सञ्जालको असावधानीपूर्ण प्रयोग, अनलाइन दुव्र्यवहार र डिजिटल ब्ल्याकमेल जस्ता विषयमा जानकारी दिए ।  सशस्त्र प्रहरी बल ३५ नं. गुल्म पाल्पाकी प्रमुख प्रहरी नायव उपरीक्षक झुपाकुमारी पन्थीले प्रविधिको दुरुपयोगबाट महिलाहरू विशेष रूपमा प्रभावित हुने गरेको मोबाइल फोन, फेसबुक, टिकटक, मेसेन्जरजस्ता माध्यम प्रयोग गर्दा सचेत रहनु पर्नेमा प्रशिक्षण दिएकी थिइन । 
     
    कार्यक्रममा पालिका प्रशासन प्रमुख सुजन घिमिरेले, लैङ्गिक हिंसाका कारण, रोकथाम, संवैधानिक तथा कानुनी अवस्था, व्यवहारिक रुपमा भएका हिंसाका घटनाहरुबारे महिला शिक्षकहरुसँग अन्तरक्रिया गरेका थिए ।  १६ दिने अभियानले सबै पक्षमा जागरण फैलाउने भएकोले ३६५ दिन नै कार्यान्वयन गरेर   व्यवहारिक जीवनमा लागू गर्नुपर्ने प्रशासन प्रमुख घिमिरेले बताए ।  पालिकाले लैङ्गिक हिंसा न्यूनीकरण नीतिगत रुपमै गरेका कामहरु, कार्यक्रम तथा बजेटका बारेमा महिला, बालबालिका शाखा प्रमुख धनकुमारी  रानाले जानकारी दिइन ।  विद्यालय, घर र समाज सबै ठाउँबाट हिंसाविरुद्धको आवाज निरन्तर उठाएर मात्र लैगिंक हिंसा न्यूनीकरण हुने महिला शाखा प्रमुख रानाले बताइन् ।  
     
    बगनासकाली गाउँपालिकाले आगामी दिनहरूमा विद्यार्थी, अभिभावक, युवा समूह तथा जनप्रतिनिधिहरूबिच पनि यस्तै किसिमका सचेतनामूलक कार्यक्रम विस्तार गर्दै लैजाने, लैङ्गिक हिंसामुक्त समाज निर्माणको लागि सबै तह र तप्काको सहकार्य आवश्यक रहेको गाउँपालिकाले  जनाएको छ । अन्तरक्रिया कार्यक्रममा महिला शिक्षकहरुलाई पालिकाले सम्मान गरेको छ । 
    बगनासकाली गाउँपालिकाले लैङ्गिक  हिंसा न्यूनीकरणको लागि विगतका वर्षहरुमा,  समुदायमा सचेतना नाटक, घरदैलो सचेतना, महिला स्वयम्सेविमार्फत् टोल–टोल घर–घरमा सचेतना जस्ता अभियान सञ्चालन गरिसकेको छ भने यस वर्ष विद्यालयका महिला शिक्षकहरुमार्फत् लैङ्गिक हिंसाविरुद्धको आवाजलाई विद्यालय हुँदै समाजसम्म फैलाउने महत्वपूर्ण प्रयासको थालनी गरेको छ । पालिकास्तरीय महिला समन्वय समितिकी अध्यक्ष विमला बस्यालको स्वागत, कार्यपालिका सदस्य गीता रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij