बुटवल । आप्रवासी तथा उनीहरूको दम्पतिका लागि सञ्चालित एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत आउटरिज वर्कर र कम्युनिटी वर्करका लागि तीन दिने समुदायको नेतृत्वमा एचआइभी परीक्षण तालिम बुटवलमा सुरु भएको छ।
नागार्जुन डेभलपमेन्ट कम्युनिटी(एनडीसि) को आयोजना तथा ग्लोबल फण्ड तथा यूएनडिपि नेपालको सहकार्यमा आयोजित तालिम एक समारोहका बिच सोमबार उद्घाटन गरिएको हो ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका प्रमुख राजेश कुमार गुप्ताले समुदाय स्तरमा र समुदायको नेतृत्वमा एचआइभी परीक्षण कार्यक्रमले एचआइभी रोकथाममा प्रमुख भूमिका खेल्ने भएकोले यो कार्यक्रम अत्यन्त उत्कृष्ट भएको बताए।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले आगामी दिनमा जनस्वास्थ्य प्रयोगशालाले के कस्तो सहयोग गर्न सक्छ त्यसमा आफुहरु तयार रहेको प्रतिबद्धता ब्यक्त गरे।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले नेपाल सरकारले २०३० सम्ममा एचआईभिलाई शून्यमा झार्ने अभियानलाई सबैले साथ दिनुपर्ने बताउँदै जिल्ला स्वास्थ्यबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
उद्घाटन समारोहमा एनडिसीका कार्यकारी निर्देशक जगदीश चन्द्र भट्टले एनडीसीले लुम्बिनी प्रदेशका तराईका छ जिल्लामा प्रवासी कामदार र उनीहरूका दम्पतिका लागि एचआइभी रोकथामको कार्यक्रम लामो समयदेखि गर्दै आएको र आगामी दिनमा लुम्बिनी प्रदेशमा थप कार्यक्रम गरिने उल्लेख गरे।
जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेशका मेडिकल ल्याब टेक्नोलोजीष्ट सिबेन्द्र सिंह चौधरी र बरिष्ठ मेडिकल निरिक्षिक जिवलाल भुसालले तालिमलाइ सहजिकरण गरिरहेका छन् ।
मंसिर २५ गतेसम्म सञ्चालन हुने उक्त तालिममा लुम्बिनी प्रदेशका जिल्लाहरुमा संबन्धीत क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।




