माया गौतम
अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १०,२०२५) मंसिर ९ गते देखि मंसिर २४ गतेसम्मलाई चलिरहेको छ । यो वर्षको राष्ट्रिय नारा प्रविधिको सही प्रयोग गरौँ, लैँगिक हिंसा अन्त्य गरांै भन्ने रहेको छ । सामाजिक विकास मन्त्रालयले विभिन्न कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडि बढाएको छ । सबै मन्त्रालयहरुका वेबसाइटमा १६ दिने अभियानसम्बन्धी प्रचारप्रसार सामग्री राखिने निर्णय बमोजिम सो काम भएको छ । जस्तै सबै मन्त्रालयहरुमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ को प्रमुख व्यवस्थासम्बन्धी फ्लेक्स तथा ब्रोसर वितरण र लैंगिक हिंसाविरुद्धको अन्तरक्रिया तथा छलफल कार्यक्रम सञचालन गर्नेलगायतका कार्यक्रम रहेका छन् । महिला अधिकारकर्मीलगायत महिला हक अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु यतिखेर लैंगिक हिंसाविरुद्धको अभियान चलाइरहेका छन् । समाजमा लिङ्गका आधारमा गरिने हिंसाविरुद्धको अभियानले केही प्रभाव पार्नेमा हिंसा पीडित महिलाहरु आशावादी देखिने गरेका छन् ।
नेपाली समाजमा पुरुष र महिलाबिच विभेदको खाडल निकै गहिरो छ । यसरी लिङ्गका आधारमा भैरहेको विभेदले समतामूलक समाज निर्माणमा बाधा उत्पन्न गरेको छ । थोरै सन्तान जन्माउने चलन बढ्दै जाँदा छोराछोरी छुट्याउने र लिङ्गको पहिचान गरी छोरा भए राख्ने र छोरी भए भु्रणमै हत्या गर्ने प्रवृत्तिले पछिल्लो समयमा महिला हिंसा अरु बढ्दै गएको छ । महिला अधिकारकर्मी तथा देशको कानुनले नै छोराछोरी समान हुन् भन्दै गर्दा व्यवहारिक रुपमा यो हुन सकेको छैन । अहिले पनि बंश र अंशमा छोरा नै सर्वेसर्वा रहेको हुँदा छोराछोरीबिचको भेदभाव हट्न सकेको छैन । परम्पराको रुपमा रहेको हाम्रो धर्म संस्कृतिले छोरीलाई हेला होंचो गरेको छ, जसको परिणाम छोरा खोज्ने समाजमा छोरी सधैँ हेला होंचो र हिंसामा परिरहेको अवस्था छ । छोरालाई महङ्गो स्कुल पढाउने, तर छोरीलाई त्यो अवसर नदिने अनि डाक्टर इञ्जिनियर जस्तो शिक्षामा छोरीलाई लगानी गर्न नखोज्ने, विवाहमा उत्ति खर्च गर्नुपर्छ भन्ने जस्ता धारणाले क्षमतावान वा इच्छुक छोरी पनि यस्ता शिक्षाबाट वञ्चित छन् । राम्रो घर पाइयो ल उम्किनुपर्छ भन्दै छिट्टै विवाह गरिदिने जसले गर्दा आत्मनिर्भर नहुँदै छोरीहरु पारिवारिक जीवनमा फस्ने गरेका छन् ।
१६ दिने महिला हिंसाविरुद्धको अभियानअन्तर्गत महिला हिंसाका कुरा गरिरहँदा अरु धेरै महिला हिंसाका घटना बढने गरेको छ । महिला शहर बजारका भन्दा बिकट गाउँका अरु धेरै हिंसामा पर्ने गरेका छन् । गरिबी अशिक्षा सानो उमेरमा विवाह हुने, प्रजनन् अंग सक्षम नहुँदै सन्तान जन्माउने गर्दा स्वास्थ्य अवस्था बिगे्रर पनि महिला कमजोर बन्ने गरेका छन् । गाउँको जीवनयापन, सुत्केरी अवस्थामा भारी बोक्नुपर्ने, पौष्टिक आहार खान नपाउने, जसको नतिजा उमेर ढल्किंदै जाँदा आङ खस्ने जस्ता रोगबाट पीडित बनिरहेका छन् । घरको श्रीमानले थोरै कमाइ गरे पनि मदिरा सेवनमा झुम्ने, तर घरमा बालबच्चा श्रीमती अलपत्र भएर बाँच्न बाध्य छन् । सानो उमेरको विवाह वर्षैंपिच्छे जन्मीने सन्तान अनि कुपोषणले रोगसँगै वृद्धि विकास बिनाका सन्तान साँझ बिहानको हातमुख कसरी जोड्ने भन्ने चक्करमा महिलाहरु बाँच्नुपरेको छ । प्रायः विकट गाउँका महिलामा आङ खस्ने समस्या छ । समयमा उपचार गर्न सक्दैनन्, अनि कहिलेकाहीँ स्वास्थ्य शिविरमा पुग्दा ढिला भैसकेको हुन्छ, जसको कारण अकालमा मृत्युवरण गर्नु परेको छ ।
विश्व २१औं शताब्दीमा चलीरहेको छ र पनि मानिसहरुको चिन्तन १६औं शताब्दीको अवस्थामा चलीरहेको छ । प्रविधिको विकाससँगै मुलुकले हरेक क्षेत्रमा काँचुली फेरेको छ, तर मानिसहरुको चिन्तनमा फेरबदल हुन सकिराखेको छैन । यो सबै हाम्रो गतिविधि तथा चालचलनमा चिरफार गर्न नसक्नु प्रमुख रहेको छ । बाउबाजेले बिरालो बाँधेर सराद्ये गर्थे भन्ने चलनलाई थांती राख्दै नभएको बिरालो खोज्न हिंडेजस्तो यथास्थितिमा चलेको समाजमा परिवर्तन हुन नसक्नुले पनि महिलालाई हिंसामा पारेको छ । अहिले पनि छोरालाई मात्र सन्तान सम्झीने मुलुकमा छोरीलाई सम्मान हुन सकेको छैन । छोरी भनेका अर्काको घरमा पठाउने हो, विवाह गरेर गोत्र फेरिने सन्तान आफ्नो होइन भन्ने चिन्तन हुञ्जेल समाजमा समानता आउन सक्दैन र महिला हिंसाको अन्त्य पनि हुन सक्दैन । १६ दिने लैंङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष मनाउँदै गर्दा सबैभन्दा धरै हिंसा घरभित्रै हुने गरेको छ । विपन्न वर्गमा भन्दा सम्पन्न परिवारमा अरु धेरै घरेलु हिंसा भएको तथ्यांकले देखाउँछ ।
यो १६ दिने लैङ्गिक हिंसा महिलामाथि मात्र नभएर तेस्रो लिङ्गीमा पनि बिकराल बनेको छ । मदेश प्रदेका केही जिल्लामा तेस्रो लिङ्गी ग्रुप बनाएर पैसा माग्न हिंड्छन् अनि आर्शिवाद दिने भन्दै पसलका मानिसका टाउकोमा हात राख्छन्, कुनै व्यापारीको बहनी हुन भ्याएको हुँदैन पछि आउनु भन्यो भने बबाल गर्ने जेपाइ बोल्ने झगडा गर्ने गर्छन् भन्ने गुनासो पसल वालाको छ । तेस्रो लिङ्गीका आफ्नै गुनासा छन् हामीलाई समाजमा कुदृष्टिले हेरिन्छ राज्यले हाम्रो लागि कुनै विशेष अवसर दिएको छैन, जहाँ गयो त्यहीं हामीले हिंसा खेप्नु पर्छ । घर परिवार समाज कहीं पनि हामीलाई हेयको व्यवहार गरिन्छ । यो सबै देखेर कैयौं हामी जस्ता तेस्रो लिङ्गी सार्वजनिक हुन सक्नुभएको छैन । जन्मजात यो अवस्थामा हुर्किनु वा बढ्नु उनीहरुको इच्छा होइन यस्तो सन्तान जो सुकैको घरमा हुन सक्छ, यो सबै सोंचेर हिंसा गर्नु हुँदैन । २०२५ को अन्तर्राष्ट्रिय नारा प्रविधिको सही प्रयोग गरौं, लैंङ्गिक हिंसा अन्त्य गरौं । रहेको छ । यो अभियान चलाएको पनि दुई दशक नाघेको छ, अवस्था जस्ताको तस्तै छ ।
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको अभियान भने पनि विशेष गरी महिलामाथि धेरै प्रकारका हिंसा हुने गरेका छन् । जस्तै मानसिक, सामाजिक, शारीरिक, राजनीतिक हरेक क्षेत्रमा महिलाले हिंसा खेप्नुपरेको छ । यात्राको क्रमदेखि कामकाजी ठाउँ तथा बस्तुभाउ चरन आदि किन नहोस् यौन दुव्र्यवहारदेखि धेरै किसिमका हिंसाको शिकार महिला हुने गरेका छन् । दुई वर्षे बालिकादेखि ८० वर्षे आमासम्म बलात्कारको शिकारमा पर्ने गरेका छन् । महिलाहरु आर्थिक पहुँचदेखि टाढा हुन्छन् भन्ने सोंचाइले राजनीति दलले चुनावमा टिकट नदिनु पनि एक खाले हिंसा हो । महिलालाई नेता नमान्ने प्रवृत्ति ज्यूँको त्यूँ छ । कुनै पनि समिति गठन किन नहोस् पदाधिकारीमा महिला राख्ने चलन नै छैन । आर्थिक रुपमा महिला सबल छैनन्, साधन स्रोत छैन, दौडधुप गर्न सक्दैनन् जस्ता विभिन्न बहानामा तर्काउने काम हुन्छ । समाजमा मानवलाई गर्ने व्यवहार महिलामा नगरिंदा महिला सधँै हिंसामा परिरहेका छन् । सन्तान जन्माउने आमाको पहिचान छैन बाबुको नामबाट नागरिकता बन्छ, नागरिकता विधेक पास भयो र पनि आमाको नामबाट पनि नागरिकता पाउने भने पनि विभिन्न अड्चन खडा गरेर रोक्ने काम भइरहेको छ । अझै पनि समाजमा महिलाले विभिन्न किसिमका हिंसा सहनु परिरहेको छ ।
१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहँदा धेरै महिला हिंसामा परेका घटना बाहिर आइरहेका छन् । कति त श्रीमानको दुव्र्यवहारले आत्महत्या गरेका छन् । परम्पराकै रुपमा सबै कुरा सहेर चुपचाप बस्न बाध्य छन् । अहिले पनि दाइजो नल्याएको र कम ल्याएको जस्ता विषय उठाएर महिलाको हत्या हुने गरेको छ । परिवारको टर्चरले कैयौं महिलालाई आत्महत्याको अवस्थामा पु¥याउने जस्ता गतिविधि भइरहेका छन् । पछिल्लो समय उर्लिएको सुनको भाउले आकाश छोएको छ । यो अवस्थामा सामान्य मानिसलाई विहे घाँडो बनेको छ । देखासिकीले विवाह महँगो हुन पुगेको छ । अविभावकलाई छोराछोरीको विहे कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।
तराईमा अहिले पनि दाइजो प्रथा हट्न सकेको छैन । जिउँदै जल्ने र जलाउने क्रम जारी नै छ कुरीति हटाउने परम्परा तोड्ने विषय उठाए समाजमा भव्य रुप लिने, सम्बन्धविच्छेद हुने र त्यति मात्र नभएर सामाजिक बहिष्कारसम्म हुने गरेको छ । यसले अरु हिंसा बढाएको छ । महिलालाई शिक्षामा पूर्ण बनाउनु पर्छ । समाजमा प्राप्त हुने सुविधा र अवसरहरुमा विभेद गरिनु हुँदैन । अबका महिला आत्मनिर्भर भएर बाँच्नु भनेको एक प्रकारले हिंसा न्यूनीकरण हुनु हो । यसैले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानले महिला हिंसामा न्यूनीकरण गरोस् । महिला अथवा तेस्रो लिङ्गी कोहीलाई पनि हिंसाविरुद्धको अभियानले सार्थकता मिलोस् यही कामना !




