लुम्बिनी प्रदेशमा संघीय शासन प्रणाली स्थापनापछि स्वास्थ्य क्षेत्रमा धेरै सुधार आएको छ । पूर्वाधार विकास र सेवा प्रवाहमा आएको सुधारले नागरिकले राज्यप्रति अपनत्वबोध गर्ने वातावरण बनेको छ ।
अस्पतालदेखि स्वास्थ्य चौकीसम्म पर्याप्त उपकरणको अभाव, पूर्वाधारको समस्या र दक्ष जनशक्ति सकेसम्म बस्नै नखोज्ने प्रवृत्तिको अन्त्य भएको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले अघि बढाएको नीति र कार्यक्रमको परिणाम नै अहिलेको परिवर्तन सम्भव भएको हो । गरिब र विपन्नको लागि सहज उपचार पाउन कठिन भइरहेको बेला सरकारी अस्पतालको व्यापक सुधारले अहिले सबै नागरिकले उपचार पाउन सक्ने वातावरण तयार भएको छ । प्रादेशिक र जिल्ला अस्पतालमा पूर्वाधार राम्रो बन्दै गएको छ । पहिले झैं जनशक्ति बस्नै नखोज्ने र पायक पर्ने ठाउँमा काज मिलाएर बस्ने प्रवृत्तिको अन्त्य भएको छ । आवश्यकताअनुसार उपकरणको व्यवस्था छ । सुविधा सम्पन्न प्रयोगशालाका लागि काठमाडौं पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
बुटवलमा सुविधा सम्पन्न प्रयोगशाला स्थापना भएपछि बिरामीले छिटोछरितो सेवा पाएका छन् । यो प्रयोगशालाको स्थापना भएपछि जाँचका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला अस्पतालमा गाडी, शव राख्ने मर्चरी फ्रिज, भिडियो एक्स–रे र प्रयोगशाला व्यवस्था छ । अहिले रोल्पा, गुल्मीलगायत पहाडी जिल्लाका जिल्ला अस्पतालले सामान्य शल्यक्रियाका लागि रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले जिल्ला अस्पताल रिफर सेन्टर होइन, उपचार केन्द्रको रुपमा पहिचान बनाएका छन् । सीमावर्ती बर्दिया, परासीको पृथ्वीचन्द्र र भैरहवाको भीम अस्पतालमा सीमावर्ती भारतीय गाउँबाट बिरामीको लर्को लाग्नुले हाम्रा अस्पताल सुधारको एउटा सूचक हो । संविधानले स्वास्थ्यलाई मौलिक हक मानेको छ । नागरिकको स्वास्थ्य पहुँचमा भएको विस्तारले आगामी दिनमा यसको बहुआयामिक प्रभाव पर्ने छ । स्वास्थ्य क्षेत्रमा भएको यो सुधार मुलुकमा संघीय शासन प्रणाली स्थापना पछि मात्रै सम्भव भएको हो ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्ने योजनालाई कार्यान्वयन अघि बढाएको छ । राप्ती अस्पतालको पूर्वाधार विकासमा ११ करोड रुपैयाँ लगानी भएको छ । यो अस्पतालमा ६ सय शैया स्तरोन्नति गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा १ हजार २ सय शैयामा स्तरोन्नति गर्ने गरी ६ अर्ब १८ करोड ७५ लाखमा ठेक्का सम्झौता भई भवन निर्माणको काम तीब्र ढंगले अघि बढेको छ । काठमाडौं बाहिर अस्पतालको यति ठूलो संरचना बन्न लागेको पहिलो हो । अब गुणस्तरीय कामका लागि निगरानी बढाउन आवश्यक छ ।
अहिले भइरहेका काम पर्याप्त छैनन्, अझै कामको गति बढाउन आवश्यक छ । विनियोजन भएको बजेटलाई सही ढंगले खर्च गर्न सक्दा नतिजा निकाल्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गर्न सक्दा विकासले गति लिन्छ ।




