पृष्ठभूमिः
एच.के. श्रेष्ठ
सर्वप्रथम सन् १७८९ मा फ्रान्समा भएको क्रान्तिले राजा लुइ १६ औंको शासनकालसहित राजतन्त्र खतम गरेर गणतन्त्र स्थापित ग¥यो । तत्काल नव संविधान बनाउने क्रममा सभा बोलाइयो । त्यस क्रममा राजाको पक्षधर, परम्परावादी, यथास्थितिवादी र धनी वर्गका प्रतिनिधिहरु सभाध्यक्षको दांयां बसे । ठिक विपरीत परिवर्तनकारी, प्रगतिशिल, गणतन्त्रवादी र किसान मजदुर गरिब वर्गहरु अध्यक्षको बायाँ÷ देब्रे बसे । त्यस सभाको अध्यक्षको बायाँ बस्नेलाई वामपन्थि र दायाँ बस्नेलाई दक्षीणपन्थि भनिने प्रचलन सुरु भयो ।
यसको अझ व्यापक रुपमा यूरोपका बेलायती राजनीतिक इतिहासबाट वामपन्थी शब्दावली प्रयोग हुँदै आयो । खास गरी इतिहासको कुनै बेला बेलायती संसदमा सत्ता पक्षधरहरु दायाँ र सत्ता विपक्षीहरु बायाँ बस्ने गर्दथे । त्यसबेलादेखि सत्ता वा सरकार विरोधी कुनै पनि राजनीतिक घटकहरु बायाँ (देव्रे) साइडमा बस्ने गरेकै कारण वामपन्थी भएको हो । यसको सुरुका अवधिहरुमा वामपन्थीका मतलब कम्युनिष्ट नै भन्ने थिएन । तर समयको काल खण्डहरुमा विशेष गरी सरकारमा जाने र सत्ता चलाउने भनेको बुर्जुवा अर्थात् पुँजीवादीहरु नै भए र कम्युनिष्टहरु जहिले पनि सत्ता बाहिर नै रहने परिस्थिति थियो ।
अर्थमा शब्दान्तर अर्थात् वर्णनात्मक अर्थः
राजनीतिक अभ्यासको कालान्तरमा वामपन्थी शब्दको अर्थमा शब्दान्तर भएर अर्थ स्थापना भयो कि वामपन्थी भनेको कम्युनिष्ट हुन् । यसरी पछिका दिनहरुमा कम्युनिष्ट नै वामपन्थी र वामपन्थी नै कम्युनिष्टको अवधारणमा विकास भयो । जो फरक हुन् । विश्वभरी नै यो मान्यता स्थापना भइसकेको परिप्रेक्षमा पन्थको अर्थ हुन्छ ‘बाटो’ । अब बायाँ वा देव्रे बाटो लिएकाहरु राजनैतिक आदर्शमा कम्युनिष्ट मानिएको छ । अब वामपन्थी र कम्युनिष्ट पर्यायवाची बनिसकेको छ ।
कम्युनिष्ट के हो :
कम्युनिष्ट त्यो हो – जसले कम्युन् वा समानताको राजनीतिलाई आत्मसाथ गर्छ । यो नौलो जनवाद र समाजवादसँग जोडिन्छ । यो पन्थीहरुको अन्तिम टुङ्गो वा गन्तव्य भनेको समाजवाद नै हो । वामपन्थी राजनीतिक सामन्यतया गरिब वर्गसँग अर्थात् सर्वहारा वर्गसँग गाँसिएको हुन्छ । सामान्यतया अन्य राजनीतिक पन्थीहरुभन्दा वामपन्थी वढी जनमुखी, जनहितकारी, जनभावी र जनमुक्तिकामी मानिन्छ । वामपन्थीको बाटो संघर्षशील, कठिन, चुनौतीपूर्ण तर महान् सम्भावनाको ठानिन्छ । अदम्य सहास, धैर्यता, त्याग, निस्वार्थता र बलिदान यो पन्थका अपरिहार्य सर्त हो । त्यति मात्रै होइन कम्युनिष्ट वा वामपन्थी भनेको समाजमा छुट्टै पहिचानको वर्गीय माया, राष्ट्रवाद र स्वतन्त्रताको भावले ओतप्रोत भएको राजनीतिक प्राणी हो । वामपन्थी व्यक्ति वाद होइन । व्यक्तिगत चिन्ता, धनदौलत, पुँजी, सुख सुविधा, घर घरेडी, भौतिक सुविधा, ऐस आराम, घुसखोरी, भ्रष्टाचार, शोषण दमन, लोभ, पाप और न्यून पुँजीवादी इत्यादिको चिन्ताबाट मुक्त भएको हुनुपर्छ । वामपन्थीले द्वन्द्ववादको नियमअनुसार निर्माण र ध्वंस वा जन्म र मृत्युको अनिवार्यलाई राम्ररी बुझेर व्यहार गरेको हुनुपर्ने मानिन्छ । ‘मै खाउँ मै लाउँ सुख सयल मै गरुँ’ को नियतलाई त्यागेर अरुको सुखलाई आफ्नो सुख र अरुको दुःखलाई आफ्नै दुःख मान्नु पर्ने हुन्छ । कुनै काम गर्दा पुँजीवादी सपनालाई पन्छाएर समाज, देश र जनताको चिन्तनले गर्नुपर्ने हो ।
वामपन्थीले शोषणरहित समाजको परिकल्पनामा जायज, न्यायिक र सत्यको पक्षमा दृढ संकल्पका साथ कसम खाएर अघि बढ्नु पर्ने हो । सबै मानवजातिलाई एउटै जात र सबैको समान हकअधिकार सम्झेर सबैको सम्मान गर्ने हो । वामपन्थीको अग्नि परीक्षा त्यहाँ हुन्छ । जहाँ जो आफू मरेर अरुलाई बचाउन सकोस् । वामपन्थी एक कमरेडली नाता हो जो प्रगाढ र असाध्यै नजिक हुन्छ । अन्तिमसम्म पनि साथ दिन तयार हुनु नै कमरेडको अर्थ हुन्छ । वामपन्थीले त आफ्नो बेवास्ता गरेर पनि दुनियाँ र देशको वास्ता गर्नुपर्छ । शोषितको खातिर शोषकविरुद्ध लड्नु पीडकको खातिर पीडकविरुद्ध जाइलाग्नु, दमनकारीको विरुद्ध दमितको निम्ति लड्नु, अन्यायी र अत्याचारीविरुद्ध संगठित हुनु र न्याय दिलाउनु, हुनेखानेको विरुद्ध गरिबहरुलाई गोलबन्द गरेर अगाडि बढ्नु शासितको मुक्तिको खारित शासकविरुद्ध धावा बोल्न तयार हुनु अझ वामपन्थीको अरु अनिवार्यता रहन्छ । नेपालमा केही हदसम्म यो पाइएता पनि लोकतन्त्रभित्र वामपन्थीको चरित्र अझ सफा हुन सकेको छैन । वामपन्थी अझ बुर्जुवा अवधारणाबाट ठ्याक्कै टाढा रहेर पद, पैसा, शक्ति र शासन त्याग गरी महानता प्रदर्शन गर्न सक्ने सार्थकताको हुनु पर्दछ । यसो हुन नसके वा यी सम्पूर्ण विशेषताहरु धान्न नसके ती वामपन्थी हुन सक्दैनन् बरु दामपन्थी हुन् । अहिले यहि प्रवृत्ति फस्टाइरहेको छ ।
दामपन्थी पन्थ :
हाम्रो देशको वामपन्थी यी पक्षहरुमा सुध्रन सकेका छैनन्, उखान जस्तो मात्र भएको छ । नेपालमा वामपन्थी नाम गरेको दर्जनौ दलहरु छन् । ती सबैले आ–आफूलाई खाँटी कम्युनिष्ट र अझ क्रान्तिकारी दाबी गर्छन् । मुखले र शब्द जालले वामपन्थी हुन् र क्रान्तिकारी बन्न कोही कम छैनन्, तर व्यवहारत ती दल अर्थात् दलका कार्यकर्ताहरु सबै दामपन्थी भइसकेका छन् । दामपन्थीले लिने बाटो भनेको सुखवादी बाटो हो । यसलाई अंग्रेजीमा ‘हिड्निजम्’ भनिन्छ ।
‘सुखवाद’ पुँजीवादकै ढर्रा हो । पुँजीवादीले धन सम्पत्ति जसरी भए पनि आर्जन गर्न लगाउँछ । यो भौतिक सुख सुविधासँग गासिएर आउँछ । यो व्यक्तिवाद हो जसको वरिपरि व्यक्तिगत, चिन्तन, परिवार, नातागोता घुम्छ र मेरो र तेरोको भावना उर्लन्छ । दामपन्थीहरु जसरी पनि दाम आउने पन्थ वा बाटोमै तल्लिन भई लागिरहेका हुन्छन् । दामपन्थीलाई बुर्जुवा इज्जत, सम्मान, पद, पैसा, शक्ति र शासन अत्यन्त अपरिहार्य भएर आउँछ । अनि यसको लागि जे पनि गर्न प¥यो, जसो पनि गर्नु प¥यो । दाम वा पैसा त त्यसै आउँदैन । सोझो, सिधा बाटोबाट र आफ्नो इमान्दार मेहनतबाट मात्रै त अकूत धन आर्जन गर्ने सम्भव नै हुँदैन । यसको लागि चाकरी, चाप्लुसी, भ्रष्टाचार, शोषण, दमन, अन्याय, अत्याचार, जे जे आइलाग्छ त्यो सवै गर्नुपर्ने हुन्छ । वामपन्थीको नाममा लाल झण्डा र कम्युनिष्ट पार्टीको साईनबोर्ड झुण्ड्याएर दाम कमाउने कार्य र गतिविधिमा लागिपरेका छन् । चाहे एमाले रुपी, माले रुपी, किसान मजदुर दल रुपी, माक्र्सवादी रुपी, राजमो रुपी, चाहे माओवादी रुपी, नेपाली कम्युनिष्ट पार्टी रुपी इत्यादि जे सुकै वामपन्थी होस् सबै पदको लागि, पैसाको लागि शक्तिको लागि शासनको लागि जे पनि गरिरहेका छन् । अनेक काण्डै काण्डमा मुक्षिएका र जेल नै परेकाहरु दर्जनौ यसको पुष्टी हो । दामपन्थीमा परिणत भएकै कारण आफ्नो पारिवारिक सुख सुविधाको चिन्ता, घर घडेरी, जग्गा जमिनको चिन्ता, आफ्नो छोराछोरीलाई मात्रै शिक्षादिक्षा, स्वास्थ्यको चिन्ता गरिरहेका छन् ।
अहिलेको चरण भनेको पुँजीवादकै विकासबाट जनवादतर्फ लाग्ने चरण हो भन्दै भट्टाभट धन कमाउन व्यस्त छन् । साइनबोर्ड वामपन्थी रुपी दामपन्थीहरु । व्यापार गरेका छन्, ठेक्कापट्टा गरेका छन्, उद्योग खोलेका छन्, स्कूल कलेज चलाएका छन् जहाँ अधिकतम् र अतिरिक्त शोषण गरेकाछन् । पैसाको लागि पुँजीवादी र बुर्जुवा त बुर्जुवा भइहाले तर उनीभन्दा कम छैनन्, वामपन्थीहरु । दाम कमाउने तौर तरिका धेरै छ, वामपन्थीहरुसँग कैयौं वामपन्थी जग्गा दलाल गरिरहेका छन् । कैयौं वामपन्थी घुस खाइरहेका छन् । कैयौं वामपन्थीले १ को सामान ५ देखि १० सम्ममा बेचेर दोकान चलाएर जनता ठगिरहेका छन् । कैयौं वामपन्थीहरु ठेकेदारसँग मिलेर लाखौं कुम्ल्याएका छन् । कसैले बोर्डिङ् स्कुल, प्राइभेट कलेज खोलेर अत्याधिक श्रम शोषण गरिरहेका छन् । कसैले हुनेको खानेको पक्षमा वकालत गरेर गरिब दबाउँछन् । कसैले २ नम्बरी र डुब्लिकेट धन्दा गरेर लाखौं करोडौं कमाएका छन् कोही आफूभन्दा ठूलाको चाकरी गर्ने र सानालाई दमन गर्ने गर्दछन् । निम्न पुँजीवादी चिन्तन र बुर्जुवा चरित्रले शासन जमाएको छ वामपन्थीहरुमा अहिलेको वामपन्थीहरु गाडी, घोडा, महल र ऐस आरामको निम्ति राजनीति गरेका पाउँछौं । कहाँको सर्वहारावादी चिन्तन, कहाँको सुखवादी ! वामपन्थी केशरजंग रायमाझी बिग्रेर राजावादी दामपन्थी भए । राधकृष्ण मैनालीजस्ता वामपन्थी बिग्रेर चरम दामपन्थी भए ।
यही मार्गमा हिंड्ने तमाम सुविधाभोगी वामपन्थीहरु निर्लज्ज समाजवाद बिर्सेर व्यक्तिवादको दलदलमा फस्दै धनसम्पत्तिमा मरिहत्ते गर्ने तर कम्युनिष्ट हूँ भन्न नछोड्ने कमरेडहरु वामपन्थी कि दामपन्थी ? अधिभूतवादी चिन्तनको ढंगले पुँजीवादको दलदलमा फसेका कम्युनिष्टहरु वामपन्थी कि दामपन्थी ? राजनीतिलाई नै सिंगो औद्योगिकरण गरी व्यापारको रुपमा ढालेर कमाउने धन्दा गर्ने नामधारी कमरेडहरु वामपन्थी कि दामपन्थी हुन ? रातारात दल त्याग्ने र बदल्ने गरेर चरम स्वार्थको थाल थाप्दै हिंड्नेहरु, डुल्नेहरु वामपन्थी कि दामपन्थी कि खामपन्थी कि हाम्मपन्थी ? लोकतन्त्रको भ्रम यहि हो !




