भैरहवा
मुलककै पहिलो निर्यातमुखी परियोजनाको रूपमा रहेको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेजको भाडा घटे पनि एकद्वार प्रणलीको अपेक्षामा उद्योगीहरू रहेका छन् ।
सेजभित्र रहेका प्लटको भाडादर मन्त्रिपरिषद्को निर्णयले प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ गरेपछि यहाँस्थित उद्योगहरू उत्साहित भए पनि सेज सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ अनुसारको अन्य सुविधाहरू भन्सार, बैंक, बिमा, फरवार्डिङ, हुलाक, सूचना तथा प्रविधि, दुरसञ्चार, व्यवसाय प्रवर्धनलगायतका आवश्यक सुविधा परिसरमै एकद्वार प्रणालीबाट भए सहजता हुने बताएका छन् । लामो समयदेखि भाडादर, कडा कानुनी प्रावधान र आधारभूत सेवा अभावका कारण गुनासा बढ्दै गएको सेजमा अहिले सरकारी निर्णयपछि नयाँ ऊर्जा थपिएको छ ।
राज्य उद्योगमैत्री नहुँदा र कानुनी जटिलताले सेजभित्रभन्दा बाहिर उद्योग चलाउन सहज हुने बहस सर्वत्र चल्ने गरेको थियो । सरकारले अहिले ती समस्यालाई विस्तारै सहज गराउँदै भएको सेवालाई पनि थप सहज बनाउँदै जाने अवधारणा लिएको छ । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा ५२ बिगाहा क्षेत्रफमा ६८ वटा प्लट रहेकोमा अहिले ५२ प्लटमा उद्योग सञ्चालनमा छन् भने बाँकी १६ प्लट पनि उद्योग निर्माणका क्रममा रहेको भैरहवा सेज कार्यालयका प्रमुख सहायक निर्देशक इञ्जिनियर सबुत डुम्रेले जानकारी दिए ।
सुरुवातमा प्रतिवर्गमिटर १५० रुपैयाँ तोकिएको भाडादर अहिले ५ रुपैयाँ कायम भएको छ, यस्तै २४ घण्टा आन्तरिक सुरक्षाको व्यवस्था भएको छ, अहिले ११ केभिएको विद्युत् प्रसारणलाई सवस्टेशन निर्माण गरी ३३ केभीएमा लगिएको र छिट्टै सञ्चालनको तरखरमा रहेको इञ्जिनियर डुम्रेले बताए । यस्तै पेट्रोल पम्प, धर्मकाटा र वाटर फाउन्टेनको निर्माण भए पनि प्रयोग हुने गरी काम अघि बढाइएको छ ।
सुरुमा ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था अहिले ३० प्रतिशत कायम गरिएको छ । यस्तै २०८१ बैशाख १६ मा जारी अध्यादेशमार्फत् संशोधन गर्दै उत्पादन सुरु भएको ३ वर्षसम्म निर्यात नगरे पनि हुने, चार वर्षसम्म १५ प्रतिशत मात्र निर्यात अनिवार्य गरिएको छ । पहिले १ वर्षमै आन्तरिक बजारमा बेच्न दिने सीमालाई तीन वर्ष पु¥याइएको छ भने ५ वर्षपछि ३० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान छ । यसले सुरुका वर्षहरूमा उद्योगलाई बजार विस्तार र उत्पादन स्थिरतामा आवश्यक समय प्रदान गरेको छ । उद्योग स्थानान्तरणसम्बन्धी नियम पनि परिवर्तन गरिएको छ । पहिले सेज बाहिर सञ्चालित उद्योगलाई भित्र सार्न नपाइने व्यवस्था रहँदै आएको थियो । हाल यो प्रावधान हटाइएपछि बाहिरबाट सेजमै उद्योग सारेर सञ्चालन गर्न बाटो पनि खोलेको छ ।
कार्यालयका अनुसार सेजमा अव्यवस्थित उद्योगका लागि ५ वर्षसम्म शत प्रतिशत आयकर छुट, उद्योग सञ्चालन भएसम्म ५० प्रतिशत मात्रै आयकर, कच्चापदार्थमा भन्सार छुट, निर्यात सरहको सुविधालगायतको व्यवस्था छ ।
उद्योगमा हाल ७ वटा उद्योगले उत्पादन गर्दै आएका छन् । शक्ति मिनरल्स, तिरूपति मेटल, हिमालय ग्रनाइट, ईको नेपाल इनर्जी, सिपी मेटल, स्वस्तिक उद्योगलगायतका कम्पनीहरू सञ्चालनमा छन् । यता सुपर इलेक्ट्रिक, इमिटेशन मेटल, डाटा वल्र्ड, डीआइएल ग्लोबल, ओबिटी नेपाल, गार्मेन्ट गियरलगायतका उद्योगहरू निर्माणधीन अवस्थामा छन् । निर्माणकै क्रममा रहेका उद्योगले पनि जनशक्ति व्यवस्थापनका लागि स्थानीयलाई प्रशिक्षण दिनका लागि भारत लगेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रले बढी भयो भन्दै आवाज निरन्तर उठाउँदै आएकोमा सरकारले भाडा घटाउने निर्णय गर्नु स्वागतयोग्य रहेको बताउँदै सेजभित्रका अन्य आधारभूत सुविधा एकद्वार प्रणलीबाट यथासक्य चाँडो दिनु पर्ने बताए । सेजको साधारणा राम्रो भए पनि सेजमा दिनुपर्ने विद्युत पूर्वाधारलगायतका सुविधा अझै छैन प्रशासनिक कामका अलावा अन्य सेवा सुविधाहरू पनि पूर्णरूपले दिएको छैन, त्यसलाई सरकारले व्यवस्थापन गरे सेजको उद्देश्य पूरा हुने उनले बताए । उद्योगीहरू उत्साहजनक भएर उद्योग सञ्चालन गर्ने वातावरण सरकारले बनाए यसले समग्र अर्थतन्त्रमा टेवा पुग्ने अध्यक्ष आचार्यले बताए ।
छैनन् दरबन्दीअनुसारको जनशक्ति
सेजमा प्रशासनिक र अन्य कामका लागि २१ जनाको दरबन्दी रहे पनि हाल ११ जना मात्रै रहेका छन् । आठौ तहको प्रशासकीय प्रमुख हुने व्यवस्था रहेता पनि हालसम्म जनशक्ति दिएको छैन । हाल सातौ तहको मेकानिकल इञ्जिनयरको नेतृत्वमा कार्यालय सञ्चालन छ । यस्तै कार्यालयमा २ जना कम्प्युटर अपरेटर, १ जना इलेक्ट्रिशियन, २ जना सुपरभाइजर, ४ जना कार्यालय सहायक र १ जना सब इञ्जिनियर मात्रै रहेका छन् ।
दरबन्दीअनुसारको मध्ये व्यवस्थापन प्रमुख, केमिकल इञ्जिनियर, इञ्जिनियर, सुरक्षा अधिकारी, प्रशासकीय अधिकृत, लेखा अधिकृत, सूचना प्रविधि वरिष्ठ सहायक, वरिष्ठ सहायक, प्लम्बर, सवारी चालकलगायतको जनशक्ति अझै व्यवस्थापन हुन सकेको छैन ।
उत्पादन बढ्दै, ६ महिनामा ४६ करोडको बिक्री
विशेष आर्थिक क्षेत्र (सेज)बाट चालु आर्थिक वर्षको असोजसम्ममा ४६ करोडको सामान उत्पादन भएको छ । उत्पादित बस्तुमध्ये १७ हरोड ५३ लाखको भारत निर्यात भएको छ भने २८ करोड ४७ लाखको आन्तरिक बजारमा पठाइएको छ ।
देशमा भएका रूग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका समानहरू उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्नको लागि विशेष आर्थिक क्षेत्र ल्याएको हो । सेजमा सञ्चालित उद्योगले विगत ७ वर्षदेखि निर्यात पनि गरिरहेका छन् । भैरहवा सेजमा स्थापित उद्योगले २०७६ सालदेखि आफ्नो उत्पादन भारत निकासी गर्न सुरु गरेको हो ।
आर्थिक वर्ष २०७६-७७ मा २० करोड ४४ लाख रुपैयाँको कुल बिक्री गरेको सेजले २०७७-७८ मा १ अर्ब ३ करोड ५० लाख रुपैयाँको उत्पादन बिक्री ग¥यो । ०७८-७९ मा ७२ करोड ९० लाख, ०७९-८० मा ८४ करोड १५ लाख र ०८०-८१ मा ९१ करोड ६० लाख रुपैयाँको बिक्री भएको छ । आर्थिक वर्ष ०८१÷८२ मा बिक्री झन् उक्लिँदै १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ४६ करोड रुपैयाँको कारोबार भएको छ ।




