बुटवल । रूपन्देही ब्यापार संघले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार–२०८२ बाट दैनिक लुम्बिनीका सहसम्पादक एवं अनलाइनखबरका बुटवल संवाददाता टिआर शर्मालाई पुरस्कृत गरेको छ । संघले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष शर्मासंगै कान्तिपुर टेलिभिजनकी उपसम्पादक अमृता अनमोललाई संयुक्तरुपमा प्रदान गरेको हो । जिल्लाको समग्र आर्थिक विषय संगै संस्थाले व्यवसायिक हक हितका पक्षमा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेका गतिविधिका विषयमा खोजमूलक समाचार प्रकाशन तथा प्रशारण गरेको मूल्याङकन गरी उनीहरुलाई पुरस्कृत गर्ने निर्णय भएको संघका महासचिव फर्सुराम पन्तले बताए ।
शर्मा र अनमोल दुबै जना २१ वर्षदेखि बुटवलमा रहेर पत्रकारितामा निरन्तरत क्रियाशील छन् । पुरस्कारको राशी जनही बाह्र हजार पांच सय रुपैयां रहेको छ । पत्रकारद्वय शर्मा र अनमोललाई लुम्बिनी प्रदेश सभा सदस्य एवं पुर्व स्वास्थ्यमन्त्री विष्णु पन्थी, संघका अध्यक्ष दीपक अधिकारी,नवनिर्वाचित अध्यक्ष प्रकाश ढकाल लगायतले सम्मानपत्र प्रदान गरेको थिए । सो अवसरमा बोल्दै पुर्व मन्त्री पन्थीले रुपन्देही प्रदेशकै आर्थिक र औद्योगिक केन्द्र भएको चर्चा गर्दै स्वदेशी उद्योगी र व्यवसायीलाई संरक्षण गर्ने नीजि क्षेत्रमैत्री नीति र कानूनको अझै अभाव रहेको औंल्याए ।
पन्थीले नीजि क्षेत्र नै देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले नीजि क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । संघका अध्यक्ष दीपक अधिकारीले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालमा एक करोड बढी लगानीमा ब्लड बैंक स्थापना गरेको र त्यसको दीगो सञ्चालनमा तीनै तहका सरकारको साथ आवश्यक रहेको बताए । सोही कार्यक्रममा संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन समेत गरिएको थियो ।




